काठमाडौँको बजारमा सय दरका नेपाली नक्कली नोट, कपनमा फेला पर्‍यो नोटको 'कारखाना'

काठमाडौँको बजारमा  सय दरका नेपाली नक्कली नोट, कपनमा फेला पर्‍यो नोटको 'कारखाना'

काठमाडौँ :  नेपाली नक्कली नोटको कारोबारमा संलग्न रहेको भन्दै प्रहरीले काठमाडौँमा एकै परिवारका पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले आमा-छोरीसहित पाँच जनालाई मङ्गलवार बेलुका पक्राउ गरी बुधबार घटना सार्वजनिक गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेशकुमार थापाका अनुसार उनीहरूको साथबाट हजार, पाँच सय र एक सय दरका नक्कली नोटहरू सहित ६५ हजार बरामद भएको छ।

हजार र पाँच सय दरका नक्कली नेपाली नोट यसभन्दा अगाडि पनि फेला परे पनि एक सय दरको नोट फेला परेको पहिलो पटक हो। उनीहरूले कपनमा एक कोठा भाडामा लिएर रङिन प्रिन्टरमार्फत नक्कली नोट बनाएर बजारमा चलाउँदै आएका थिए।

प्रहरीका अनुसार काठमाण्डौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.७ दक्षिण ढोकामा गोमा श्रेष्ठ नक्कली नोट लिएर बजारमा किनमेल गर्न गएपछि स्थानीय व्यापारीले शङ्का लागेर प्रहरीलाई खबर गरेका थिए।

खबर पाउनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली गएर गोमा श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले उनको साथबाट एक सय दरको नेपाली नोटहरू फेला पारेको थियो।

अनुसन्धानमा उनलाई सो रकम छोरी पुष्पा थापा मगरले दिएको खुलेपछि गोकर्णेश्वर नगरपालिका वडा नं.६ नारायणटारमा रहेको मगरको कोठामा प्रहरीले छापा मार्दा ५ सय र एक हजारका नक्कली नेपाली रुपैंया फेला परेका थिए। प्रहरीले उनको कोठामा नोट बनाउनको लागी प्रिन्ट गरी पैसाको आकारमा काटेर राखेको कागजहरू समेत फेला पारेको थियो।

उनलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा नक्कली नोट कपनमा बन्ने गरेको खुल्यो। प्रहरीले बुधबार चिरञ्जीवी जोती र सुजन जोतीलाई नियन्त्रणमा लिएको थियो।

अनुसन्धान गर्दै जाँदा उनीहरूले नक्कली नोटहरू कपनमा रहेको पुष्पा थापा मगरको छोरा समरोज थापा मगर बस्ने कोठामा रङिन प्रिन्टरबाट बनाउने गरेको खुलेपछि प्रहरीले उनको कोठामा छापा मारेको थियो।

उनको कोठामा तयार गरेर राखेको एक सय दरको नक्कली नोटहरू र नोट बनाउने रङिन प्रिन्ट गरी राखिएको एक सय दरको रङिन प्रिन्ट कागज फेला परेको थियो। एसपी बस्नेतका अनुसार अनुसन्धानकोक्रममा सो समूहले एक सय दरको पन्ध्र वटा नोट पक्राउ पर्नु अगाडि नै बजारमा पठाइसकेको खुलेको छ।

ठुला नोटहरू बजारमा लैजाँदा शङ्का हुनसक्ने भन्दै उनीहरूले एक सय दरको नोट बजारमा पठाएर परीक्षण गरेका थिए। सयको नोट दिँदा शङ्का कम हुन थालेपछि उनीहरूले पाँच सय र एक हजारको नोट समेत बनाउन थालेका थिए।

१ मंसिर, २०७८, २२:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।