गायक योगेश्वरको जग्गा किर्ते प्रकरणमा कुमारी बैङ्कका कर्मचारी अनुसन्धानमा तानिए, कसुर किर्तेबाट बैङ्किङ कसुरमा बदलियो
काठमाडौँ : गायक योगेश्वर अमात्यको १२ बिगाहा जग्गाको लालपुर्जा किर्ते गरेर कुमारी बैङ्कबाट १९ करोड ऋण निकालेको घटनामा बैङ्कका कार्यकारी निर्देशक लगायतका कर्मचारीहरू समेत तानिने भएका छन्। सरकारी कागजात किर्तेमा मात्र अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान विभागले कसुर बदलेर बैङ्किङ कसुरमा अनुसन्धान सुरु गरेपछि बैङ्कका कर्मचारीहरू समेत अनुसन्धानमा तानिएका हुन्।
प्रहरीले यो प्रकरणमा अहिलेसम्म चार जनालाई मात्र पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। तर कसुर बदलिएपछि ऋण प्रकरणमा जोडिएका बैङ्कको शाखा प्रमुखदेखि केन्द्रका कार्यकारी प्रमुखसम्म अनुसन्धानको दायरामा तानिएका छन्। ब्युरोले यस अगाडि नै कुमारी बैङ्कका निमित्त कार्यकारी निर्देशक अजुनमणी तिम्सिनासँग बयान लिएको थियो। उनीसँग बयान लिँदा प्रहरीले लालपुर्जा लगायतको सरकारी कागजपत्र किर्तेमा उनको संलग्नता छ या छैन भन्ने मात्र हेरेको थियो।
तर कसुर बदलिएर बैङ्किङ कसुरमा पुन अनुसन्धान सुरु भएकाले ब्युरोले उनीसँग पुन बयान लिने छ। किर्ते कागजपत्र बनाउने र त्यसैको आधारमा बैैंकबाट १९ करोड ऋण निकाल्न बिचौलिया बनेका सेन्चुरी बैङ्कका पूर्व सञ्चालक कुसन प्रधान र तिमल्सिना क्लास मेट भएको समेत खुलेको छ।
ब्युरोको प्रवक्ता श्यामकुमार महतोका अनुसार अहिलेसम्मको अनुसन्धानमा कागज किर्ते बनाउनेमा बैङ्कका कर्मचारीको संलग्नता देखिएको छैन। तर कसुर नै बदलिएपछि यो ऋण प्रकरणमा जोडिएका बैङ्कका सबै अनुसन्धानको दायरामा आएको उनले बताए।
प्रहरीले पहिला नै कुमारी बैङ्क पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्याङ्कनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई पक्राउ गरिसकेको छ।
कुमारी बैङ्कको १९ करोड कर्जा प्रकरणमा सेन्चुरीका पूर्व सञ्चालक बिचौलिया, राष्ट्र बैङ्क अनुसन्धानमा
बेनियल ट्रेडिङ कम्पनी कोटेश्वरका सञ्चालक गौतम र महर्जनले अमात्यको जग्गा किनेको र नक्कली लालपुर्जा बनाएर बैङ्कका जग्गा धितो राखेर १९ करोड ऋण निकालेका थिए।
उनीहरूले कुमारी बैंकको न्युरोड शाखाबाट प्रक्रिया सुरु गरेर बैङ्कको पर्सा शाखाबाट पैसा निकालेका थिए। पर्साले केन्द्रसँग अनुमती लिएर ऋण दिएकाले केन्द्रबाट स्वीकृत दिनेसहित दुवै शाखाका कर्मचारी समेत यो अनुसन्धानमा तानिएका छन्।
किर्ते कागजपत्रको आधारमा ऋण निकालिएको जानकारी आएपछि बैंकले ऋणीहरुसँग मिलेर सबै ऋण असुलीसकेका थिए। तर अमात्यले आफ्नो जग्गाको कागजपत्र किर्ते गरेर ऋण निकालेको सूचना पाएपछि बैंकका कर्मचारीको पोल खुल्यो। उनले प्रहरीमा जाहेरी दिए। प्रहरीले किर्तेमै अनुसन्धान शुरु गरे पनि पछि नेपाल राष्ट्र बैङ्कले समेत अनुसन्धान शुरु गरेपछि अभियोग बदलिएर बैंकिङ कसुर बन्यो।
मंसिर १, २०७८ बुधबार १९:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।