जुवाको खाल नबनोस् कांग्रेसको १४औं महाधिवेशन

जुवाको खाल नबनोस् कांग्रेसको १४औं महाधिवेशन

०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको गत साता १०७औं जन्म जयन्ती मनाइयो। त्यस अवसरमा उनको तस्बिर समाजिक सञ्जालमा पोस्ट गर्दै कांग्रेसजन र शुभचिन्तकले उनलाई स्मरण गरे।

उनको स्मरण गरिरहँदा उनमा निहित गुण, त्याग र निष्ठा कतिले स्मरण गरे?

यति बेला कांग्रेसमा १४औं महाधिवेशनको रौनक सुरू भएको छ। उनै त्याग पुरुष गणेशमानका पुत्र स्वयं कांग्रेसमा सभापति पदका आकांक्षी छन्।

उनको आकांक्षा अन्यथा पनि हैन। तर आफ्ना पितामा रहेको निष्ठा बचाउन उनले पदभन्दा माथि उठ्न आवश्यक छ। त्यस्तो निर्णय गर्न सके उनको गरिमा कहाँ पुग्छ होला? उनका सर्मथकले त्यस्तो कल्पना सायदै गरेका होलान्!

सभापति शेरबहादुर देउवाका विरुद्ध युवा नेता कल्याण गुरुङसहित अन्य ६ जनाले १४औं महाधिवेशनका लागि आफूलाई सभापति पदमा दाबेदारका रूपमा प्रस्तुत गरिरहेका छन्।

उक्त भीडबाट विपी पुत्र शशांक र गणेशमान पुत्र प्रकाशमानले एक पटक मनन् गर्न सके, आफ्नो विरासतलाई ध्यान दिन सके उनीहरूको कद पक्कै उँचो हुनेछ। दुवैले आफूलाई आकांक्षीको भीडबाट अलग राख्न सके त्यसको सन्देश कस्तो जान्थ्यो होला?

पारिवारिक योगदानका कारण दुवै पार्टीमा संरक्षक बन्न सक्ने हैसियत राख्छन्। तर उनीहरूलाई त्यस्तो सल्लाह प्रदान गर्ने चिन्तनशील कार्यकर्ता र सल्लाहकारको यति बेला कांग्रेसमा अभाव छ।

सभापति पदका योग्य आकांक्षीमध्ये एक हुन्, वरिष्ठ नेता रामचन्द्र पौडेल। हालसम्म उनको तुलना भारतका समाजवादी नेता जगजीवन रामसँग गर्न लायक छ।

राम योग्य रहँदा रहँदै पनि न प्रधानमन्त्री बन्न सके न पार्टीको अध्यक्ष नै। त्यसैले पौडेलको तुलना उनीसँग गरिएको हो।

फेरि प्रसङ्ग गणेशमान कै। गणेशमानको तुलना पनि भारतकै स्वतन्त्र सेनानी अब्दुल गफारसँग गरिन्छ- जो गान्धीका सच्चा अनुयायी थिए।

बहुदल आगमनपश्चात् नेपालका लागि भारतीय राजदूत विमल प्रसादले गणेशमानको तुलना गफारसँग गरेका थिए।

000
चरित्र र चिन्तनको कुरा भन्न जति सजिलो छ, गरि पुर्याउन त्यत्तिकै गाह्रो छ। गणेशमान आफैंमा गान्धीवादी चरित्रका नेता हुन्। आफ्नो जीवनमा गान्धीका गुण अनुसरण गर्दै उनले किस्तीमा राखेर आएको प्रधानमन्त्री पद समेत त्याग गरेको विगत छ।

त्यसैले उनको भौतिक जीवनको अवसानपछि पनि उनलाई स्मरण गर्नेहरू छन्।

गणेशमानले पनि गान्धीले जस्तै जनतालाई सधैं केन्द्रमा राखे। आफू तपशीलमा रहे। त्यागलाई सर्वोपरी ठाने।

गान्धीले बुद्धका आर्दश गुण अनुशरण गरी पञ्चशीलको सिद्धान्त अपनाए। त्यही गुणलाई नैतिक जीवनमा उतारेर गान्धीले स्वतन्त्रताका लागि उपनिवेशकालीन भारतमा अहिंसात्मक आन्दोलन चलाए।

अन्ततः त्यही नैतिक बलको जगमा गान्धीले भारतलाई स्वतन्त्र गराए।

चाहेको भए स्वतन्त्र भारतमा उनी पहिलो प्रधानमन्त्री बन्न सक्थे। तर उनले चाह नै राखेनन्। मरणोपरान्त उनलाई भारतमा राष्ट्रपिता घोषणा गरियो।

कांग्रेस जस्तो ऐतिहासिक पार्टीको नैतिक धरातल खस्किएको छ। नैतिक बल प्राप्त गर्न आगामी कांग्रेस नेतृत्त्वको आत्मशुद्धि र प्रायश्चित आवश्यक छ।

बाह्य जगत्मा अहिंसात्मक आन्दोलनका प्रणेताका रूपमा परिचित छन् उनी।

गान्धी कै गुण र कर्मबाट प्रेरित भएर नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइराला तत्कालीन भारतको स्वतन्त्रता आन्दोलनमा बाल्यकालमा नै सहभागी बने। जेल परे।

तर पनि उनकै आर्दश र विचारबाट प्रभावित रहेर उनले भारत प्रवासमै नेपाली राष्ट्रिय कांग्रेस र एकिकरणपश्चात् नेपाली कांग्रेसको स्थापना गरे।

उनकै नेतृत्त्वमा २००७ सालमा राणा शासन अन्त्य भयो। संस्थापक नेता गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, सुवर्ण शमसेर, महेन्द्र नारायण निधिलगायतका तत्कालीन नेता कार्यकर्तामा त्याग, निष्ठा, संघर्ष र राष्ट्रभक्ति लगायतका गुण पल्लवित रह्यो।

उल्लेखित पंक्ति सादा जीवन र उच्च विचारका प्रतिमूर्ति बने। यति बेला कांग्रेसमा त्यही विरासतको दावी गर्ने पुस्ता नेतृत्त्वका लागि तम्तयार छ।

आगामी नेतृत्त्वका लागि विरासतको पुस्ताबीच रस्साकस्सी र होडबाजी छ। नेतृत्त्वका लागि तम्तयार पुस्तामा अग्रजहरूको आर्दश, विचार र गुणले कति परिपूर्ण छन्?
०००
कांग्रेसले देशमा ३÷३ वटा आन्दोलनको नेतृत्त्व गर्यो,। निष्ठाले परिपूर्ण अग्रजहरूमा आत्मशुद्धि र आत्ममन्थनको गुण पनि थियो। किनकी प्रायश्चित र आत्मशुद्धिले नेतृत्त्वलाई नैतिकवान बनाउँछ।

तर यति बेला कांग्रेस नेतृत्त्व गुट, उपगुटमा विभक्त छ। पार्टीमा संवेदनशीलता, सहिष्णुता र हार्दिकताको संस्कार विलुप्त छ।

पार्टी असंगतिले निर्घात बन्न पुगेको छ। पार्टीमा अनुशासनहीनता मौलाएको छ। आस्था राखेर मात्र नभई पार्टीको विधान पद्धतीअनुसार वितरण गरिने क्रियाशील सदस्यता वितरण विवादले पार्टी कस्तो संरचनामा अडिएको छ भन्ने देखाउँछ।

कांग्रेस जस्तो ऐतिहासिक पार्टीको नैतिक धरातल खस्किएको छ। नैतिक बल प्राप्त गर्न आगामी कांग्रेस नेतृत्त्वको आत्मशुद्धि र प्रायश्चित आवश्यक छ।

पार्टीलाई गुट, उपगुट हुँदै गिरोहमा परिणत हुनबाट बचाउन संस्कार र पद्धति निर्माण गर्न आवश्यक छ। साथै आर्दश विचार, सभ्यता र संस्कारबाट नेतृत्त्व प्रशिक्षित हुन आवश्यक छ।

केही मात्रामा भए पनि अग्रजका आर्दश गुण पछ्याउँदै संस्कारको सञ्चार गर्न नेतृत्त्वले ध्यान दिन आवश्यक छ। नैतिक बल बिनाको संगठन लोकतन्त्रमा समूह वा जत्थामा परिणत हुने सम्भावना रहन्छ।

साथै नैतिक बल बिनाको नेतृत्त्व र संगठनले जनमत प्राप्त गरे पनि टिकाउ हुन सक्दैन। अनुशासनबिना निर्माण भएको संगठनले जनमत प्राप्त गरे पनि शासन व्यवस्था सञ्चालन गर्दा निष्प्रभावी मात्र नभएर स्वेच्छाचारी हुने सम्भावना रहन्छ।

पार्टीमा अहिले यही प्रवृत्ति मौलाएको छ। एजेण्डाबिनाको संगठन र संगठनबिनाको जनमत तासको घर जस्तै हो। त्यसैले संगठन र समाजका बीचमा तादम्यता कायम गर्न वैचारिक चिन्तन आवश्यक रहन्छ।

सम्पन्न गाउँ र नगरको नेतृत्त्व चयन भइरहँदा पार्टी कुण्डले, मण्डले स्वभावका कार्यकर्ताको हातमा कांग्रेस नेतृत्त्व निर्भर रहनु पर्ने देखिन्छ।

संगठनमा आवद्ध कार्यकर्तालाई विचारका आधारमा प्रशिक्षित गर्न आवश्यक देखिएको छ। अनि मात्र परिवर्तन र परिवर्तनबाट उपलब्धि संस्थागत हुन सक्नेछ।

बाहुबल, घात र प्रतिघातबाट प्राप्त जनमत हिंसातर्फ उन्मुख रहन्छ। हिंसाले प्रतिशोधको जन्म गराउँछ। यद्यपी वर्तमानको गठबन्धन सरकारले पनि नैतिक बल गुमाउँदै गएको छ।

नेतृत्त्वले गुटबिनाका स्वतन्त्र शुभचिन्तकको सल्लाह र सुझाव सुन्नै चाहँदैनन्। भातृत्वभाव र उत्प्रेणा स्वीकार्य छैन्। विगतका गल्ती कमीकमजोरी समीक्षा गर्नभन्दा कुण्डले, मुण्डलेहरूलाई परिचालन गरेर नेतृत्त्व हत्याउन आकांक्षी लालयित छन्।

हप्तामा दुई पटकसम्म आयल निगमले मूल्यवृद्धि गर्दा सत्तापक्षीय गठबन्धन मौन धारणमा छ। नागरिकमा पर्न गएको मारका सम्बन्धमा कुनै आवाज समेत गठबन्धनमा उठ्न सकेको छैन।

सत्तासीन गठबन्धनका यस्ता कार्यले दलहरूप्रति नागरिकको विश्वास गुम्दो छ।

०००
न्यालयमा ताण्डव मच्चिनु पक्कै शुभ संकेत हैन्। यसले लोकतन्त्रको जगलाई प्रहार गरिरहेको छ। न्यायलयबाट न्याय, सरकारबाट सुशासनको दूरी बढेको छ।

न्यायलयमा देखिएको असंगतपूर्ण व्यवहार र चरित्रले मुलुकमा कस्तो भविष्यको आकलन गर्ने? यस्तो संस्कारले मुलुक विश्वसनीयतामा कस्तो असर परिरहेको छ?  राजनीतिक दलमा यस बारेमा खुलेर चिन्तन र बहस हुन सकेको छैन।

कलान्तरमा त्यसको प्रभाव झनै नकारात्मक पर्छ भन्नेमा दलहरू चिन्तित छैनन्, रमिते बनिरहेका छन्। दलहरू गुट र समूहले अभिसप्त हुँदा राष्ट्रिय राजनीतिका सवाल ओझेलमा पर्दै गएका छन्।

नीति र न्यायका लागि लड्ने कांग्रेसले फेरि पनि सत्तामा रहँदा जनताको विश्वास गुमाउँदै गएको छ।

भारतका संविधान निर्माता अम्बेडकरले भनेका छन्, 'धर्ममा भक्तिभावले मुक्तिमार्गतर्फ अग्रसर गराउँछ तर राजनीतिमा भक्ति वा नायक पूजाले निश्चित रूपमा पतन निम्त्याउँछ। अन्धभक्त कार्यकर्ताको घेरामा नेतृत्त्व सधैं अधिनायकवादी बन्ने खतरा रहन्छ।'

१४औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसमा व्यक्तिलाई सर्वेसर्वा मान्ने संस्कार हाबी हुँदै गएको छ। राष्ट्रियता, लोकतन्त्र, समाजवाद र बहुलवादलाई मूलमन्त्र बनाएर कांग्रेसमा दीक्षा लिएका अधिकांश नेता र कार्यकर्ता यति बेला अम्बेडकरको भनाइ जस्तै नेताका भक्त बन्न लालयित छन्।

नेतृत्त्वले गुटबिनाका स्वतन्त्र शुभचिन्तकको सल्लाह र सुझाव सुन्नै चाहँदैनन्। भातृत्वभाव र उत्प्रेणा स्वीकार्य छैन्। विगतका गल्ती कमीकमजोरी समीक्षा गर्नभन्दा कुण्डले, मुण्डलेहरूलाई परिचालन गरेर नेतृत्त्व हत्याउन आकांक्षी लालयित छन्।

यसले कांग्रेसको भविष्य कति सुरक्षित होला? कांग्रेस कसरी निष्ठावान र लोकतान्त्रिक पार्टी बन्ला?

आफ्नो अभिलाषा प्रकट गर्नु लोकतान्त्रिक संस्कार भए पनि आकांक्षीहरूको दावी र तर्क सुन्दा कांग्रेस कतै जुवाको खालमा त होमिएको छैन?

२८ कात्तिक, २०७८, ०८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।