झलकमानको प्रभावले जन्मियो ‘कालो केशमा रेलिमाई’

झलकमानको प्रभावले जन्मियो ‘कालो केशमा रेलिमाई’

‘कालो केशमा रेलिमाई बाँधेको रिबन, तिमीलाई हेर्दै रेलिमाई बिताउँला जीवन।’ पछिल्लो समय सामाजिक सञ्जाल अत्यधिक सुनिएको गीत हो यो।

यो गीतका सर्जक हुन्, नेपाल आइडल दोस्रो संस्करणमा प्रि-अडिसनबाटै बाहिरिएका दिनेश ढकाल। उनको आफ्नै शब्द, संगीत र स्वर रहेको यो गीत दर्शक/स्रोताले मन पराइदिएपछि दिनेशको चर्चा पनि चुलिएको छ।

०००
बेल्जियमको भिसा हातमा लिएर बसेका ढकाललाई कोरोना महामारीले नेपालमै रोक्यो। 

लकडाउन भयो। मान्छेहरु थुनिन पर्ने भयो। लय सिर्जना गर्न, शब्द उन्न र  गुनगुनाउन मन पराउने दिनेशले समयको फाइदा उठाउँदै कोरोनाकालमा करिब एक दर्जन गीतमा शब्द-संगीत भरे। 

आफूले तयार पारेको गीत बजारमा कसरी ल्याउने? यो प्रश्नको उत्तर खोज्दै जाँदा उनी आर्टमाण्डुसँग जोडिन पुगे। आर्डमाण्डुले उत्साह बढाइदियो। 

आफ्नो सिर्जना साथी-भाइलाई सुनाउने क्रममा धेरैले ‘कालो केशमा रेलिमाई’ लाई पहिलो गीत बनाउन उनलाई सुझाव दिए। दिनेश थिए, लोक साहित्यप्रेमी। साथी-भाइको सल्लाह ठीक लाग्यो र तयार भयो कालो केशमा रेलिमाई। 

यही गीतका सर्जक दिनेश ढकालसँग उकेराकर्मी ईश्वरकुमार मैनालीले ‘मलाई मनपर्छ’ कोलमका लागि गरेको कुराकानी उनकै शब्दमाः

नेपाली संगीत क्षेत्रले मलाई चिनेको केही महिना मात्र भयो। तर यो क्षेत्रसँगको लगाव भने डेढ दशक पुरानो हो। सुरुमा पश्चिमा संगीतबाट प्रभावित भए पनि नेपाली लोक भाका र अन्य देशका लोक गीत पनि सुन्थें । ती गीत-संगीतले मलाई अर्कै आनन्द दिन्थे। आज पनि ती गीतहरु उत्तिकै सुनिरहन्छु।

कालो केशको सफलताले मलाई टाढाको सिर्जनामा बढी मिहिनेत गर्नुभन्दा आफ्नोपनलाई उचाल्न सके लोकले समेट्न नसकिने माया दिने रहेछ भन्ने ज्ञान दियो।

‘कालो केशमा रेलीमाई’ गीतले जुन सफलता पायो, त्यसका पछाडि केही कारण छन्। एक त गीतको शब्दहरु हाम्रै जनजीवनमा चलिआएका भए र ती शब्दमा जीवन जगतको दर्शन पनि सामेल भयो। दोस्रो, लोक लयमा भयो। सुन्दा प्रेमिल गीत जस्तो भए पनि त्यहाँ प्रेम मात्र छैन। यो कालो केशको रोमाञ्चक पक्ष हो।

००० 
म गुल्मीको गाउँमा हुर्किएको हुँ। बाल्यकाल लोकगीत सुन्दै, गुन्गुनाउँदै बित्यो। लोक जीवनमा चल्तीका शब्दहरूले मलाई सधैं आकर्षित गरिरहन्थे। खासगरी गन्धर्व समुदाय त्यसमा पनि झलकमान गन्धर्वकाे प्रभाव ममा सानैदेखि रहन गयो। 

गन्धर्वले बजाउने सारंगी र तुरुन्तैका घटनालाई जनबोलीका भाषामा गाउने कलाले मलाई सधैं नतमस्तक पार्छ।  

गन्धर्वप्रतिको मेरो दृष्टिकोण धेरै उचाइमा छ। अझ, झलकमान गन्धर्वको गीतको प्रेरणाले त म अहिलेको दिनेश ढकाल भएको हुँ।

झलकमानले संकलन गर्ने, रच्ने, गाउने शब्द, लय, संगीतको म ठूलो शुभचिन्तक हुँ। त्यसको प्रभाव मेरो कालोकेशमा रेलीमाईमा समेत देखिन्छ।

यहाँ प्रभाव भन्नाले कपी गर्ने भन्ने धेरैको बुझाइ छ तर मैले भन्न खोजेको प्रभाव शैलीगत रूपको हो। टेक्निकल रूपमा हो। स्कुलिङको हो। अपनत्वको हो।

हामीले देखेर, सुनेर, महसुस गरेर, कल्पना गरेर न कुनै सिर्जना गर्ने हो। ती काम गर्न पनि कुनै टेको चाहिन्छ सुरुमा। त्यो टेको चाहिँ झलकमान गन्धर्व हो मेरा लागि।

झलकमान गन्धर्वका हरेक गीतमा विशिष्ठखाले नेपालीपन झल्कन्छ, चाहे त्यो शब्दमा होस् या संगीतमा। 

मैले कतै पढेको थिएँ। पहिला-पहिला शास्त्रीय संगीतको जस्तै पढाइ हुन्थ्यो रे नेपाली संगीतको पनि। आजको दिनमा नेपाली संगीत भनेर नै पढाइ भएको त मलाई ज्ञान छैन। 

म सोच्ने गर्छु, नेपाली संगीत भनेको कस्तो होला? के-के विशेषता होलान्? के गर्यो भने हाम्रो आफ्नो संगीत बन्छ होला? हामीले नेपाली संगीत भनेर नै पढ्ने अवसर त पाएनौं तर नेपाली संगीत भनेको झलकमानका संगीत जस्तै होलान् सायद।

तीनले हरेक गीतमा ल्याउने विशिष्ठ खिट्का, लयको मिश्रण, श्रुती मधुरता, मनै बहलाउने धुन, गाउँठाउँमा विभिन्न जातजातिले प्रयोग गर्ने बाजाको उचित समिश्रण, जातिका, भाषिका, संस्कृति मेलोडी र समाज बुझाउने, देखाउने केही अंश, यस्तै-यस्तै...।

हामीले नेपाली संगीत भनेर पढ्न नपाए पनि झलकमानका सिर्जनाहरू नेपाली लोकगीतको विश्वविद्यालय हुन् र त्यहाँबाट हामीले सिक्ने अथाह नवीनतम शैली छ भन्ने मेरो विश्वास हो। र, त्यसकै प्रभावमा आएर नै मैले कालो केशमा रेलिमाई लेख्न, संगीत भर्न र गाउन सकें। 

सुरुमा पश्चिमा गीतहरूको प्रभाव रहे तापनि केही घटनाले ती प्रभाव स्वतः कम गराउँदै लगे। मलाई म भित्रको म र मेरोपनसँग चिनाए। हुन त पश्चिमा संगीतलाई आज पनि म उत्तिकै चासोका साथ हेर्छु।

०००
नेपाल आइलड दोस्रो सिजनमा म प्रतिस्पर्धी बनेर गएको थिएँ। नारायण गोपालको ‘मलाई माफ गर’ भन्ने गीत गाएँ। आइलडमा प्रि-अडिसन पार गरेपछि मात्र टिभीमा देखिन पाइन्थ्यो। 

प्रि-अडिसनको पनि दुई राउन्ड हुने रहेछ। म पहिलो राउन्डबाटै फालिएँ। 

आइडलबाट फालिए पनि आफ्नै तरिकाले मन लागेको काम गर्नसक्छु भन्ने आत्मविश्वास मनमा राखिरहेँ। त्यस घटनापछि मैल गीत लेखनलाई पनि सुधार्दै गएँ। 

चलेका गीतहरू कसरी लेखिएका छन्, के भन्न खोज्दै छन् भनेर नियाल्ने कोसिस गर्थें। गीत लेख्दै जाँदा लोक जीवनका शब्दहरू बढी मात्रामा आउन थाले। मैले बनाइरहेका गीतहरूमा हाम्रै गाउँठाउँका, हामीले देखेका, भागेका, सुनेका शब्दहरू बढी आउँथे।

गाउँमा हुर्केको कारण पनि मलाई लोक जीवनसँगको आत्मीयता छँदै थियो। त्यसैले ठेट शब्दहरू खोज्न गाह्रो परेन। त्यसैको नतिजा भनौं, करिब १० वटा गीत लेखें, संगीत भरें। 

कोरोनाले जनजीवन अस्तव्यस्त बनाइरहँदा म भने गीत सिर्जनामा लागिरहें। 

कोरोना नआएको भए म बेल्जियम उडिसक्ने थिएँ। भिसा पनि आइसकेको थियो। संगीत क्षेत्रमा नै जम्छु भन्ने रहर भए पनि त्यो सम्भव भइहाल्ने अवस्था नदेखेर विदेशिने तरखरमा थिएँ।

तर, विदेशिने मनसाय भए पनि लोक भाकासँग जोडिएका कामहरूले भने आनन्द महसुस गराइरहेको हुन्थ्यो। म लोक संगीतमै केही गर्छु भन्ने आत्मविश्वास कताकता मनको कुनामा बसेको आभाष हुन्थ्यो।

आइडलमा रिजेक्ट हुनुको कारण म दक्ष नभएर होइन, दक्षता प्रस्तुत नगरेर हो भन्ने लाग्न थाल्यो। र, झलकमानका गीतहरू केलाई–केलाई सुन्न थालें। कहाँ, के, कसरी प्रयोग भएको बुझ्न थालें। त्यसले मलाई धेरै ठूलो आँट र विश्वास दियो।

कोरोनाकालले मेरो जीवनलाई बदलिदियो। झलकमानका सिर्जनाले बदल्न सहयोग गर्यो। 

मलाई लोकसँग जोडिएर लोककै लागि सिर्जना गर्ने प्रेरणा झलकमानका गीतले दिए। आज मान्छेले गीतकार, संगीतकार र गायकको रूपमा चिने।

त्यसैले, झलकमान गन्धर्व मेरा मनपर्ने गीतकार, संगीतकार, शब्द संकलक र गायक मात्र होइनन्, संगीत सिर्जनाका विश्वविद्यालय नै हुन्।

२७ कात्तिक, २०७८, १०:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।