योगेश्वरको लालपुर्जा किर्तेमा इन्जिनियर पक्राउ परेको विरोधमा धितो मूल्यांकनको काम बन्द 

योगेश्वरको लालपुर्जा किर्तेमा इन्जिनियर पक्राउ परेको विरोधमा धितो मूल्यांकनको काम बन्द 

काठमाडौं: नेपाल भ्यालुअर्स एसोसिएसनले किर्ते आरोपमा आफ्ना सदस्य पक्राउ परेको विरोधमा सम्पत्ति मुल्यांकनको काम बन्द गरेकाे छ। गायक योगेश्वर अमात्यको १२ बिघा जग्गाको लालपुर्जा किर्ते गरेर कुमारी बैंकबाट १९ करोड ऋण निकाल्ने प्रक्रियामा संलग्न देखिएका डायनामिक कन्सल्टेन्सीका राजेश कुमार चौरसिया पक्राउ परेका थिए। 

सेवाग्राहीले उपलब्ध गराएको कागजको आधारमा सम्पत्तिको मूल्यांकन गर्दा पक्राउ गरिएको भन्दै संघले सबै प्रकारको वित्तीय मूल्यांकनको काम २४ गतेबाट रोकेको हो। 

गायक अमात्यको जग्गाको नक्कली पुर्जा, नक्कली रोक्काको पत्रलगायतको किर्ते कागजपत्रको आधारमा कुमारी बैंकबाट १९ करोड ऋण निकालिएको प्रकरणमा ८ जना अभियुक्त बनाइएको छ भने ४ जना पक्राउ परेका छन्। 

प्रहरीको केन्द्रीय अनुसन्धान विभागले यसको अनुसन्धान गरेको हो। ऋण प्रक्रियामा संलग्न बैंकका कनिष्ठ कर्मचारी, इन्जिनियर र नक्कली जग्गाधनी पक्राउ परे पनि ऋण प्रवाहमा संलग्न बैंकका उच्च पदाधिकारीले उन्मुक्ति पाएका छन्। 

प्रहरीले किर्तेमा मात्र अनुसन्धान गरे पनि नेपाल राष्ट्र बैंकले भने टोली खटाएर कुमारी बैंकको अनुसन्धान गरिरहेको छ।

कात्तिक २६, २०७८ शुक्रबार १०:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।