खुले विद्यालय: बालबालिकालाई सङ्क्रमणको जोखिम, 'चुस्त व्यवस्थापन'मा चिकित्सकको जोड

खुले विद्यालय: बालबालिकालाई सङ्क्रमणको जोखिम, 'चुस्त व्यवस्थापन'मा चिकित्सकको जोड

यता चिकित्सकहरू भने कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले विद्यालय खुलाउँदा चुस्त व्यवस्थापन हुनुपर्ने बताउँछन्। 

बालबालिकालाई स्वास्थ्य मापदण्ड पूर्ण पालना गराउन कठिन हुने भएकाले मापदण्ड पालना गर्ने अभ्यास गराउनुपर्ने  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीको सुझाव छ। 

एक जना बालबालिका सङ्क्रमित भए अन्य बालबालिका पनि सङ्क्रमित हुने जोखिम भएकाले विद्यालयहरूले व्यवस्थापनमा निक्कै ध्यान दिनुपर्ने उनी बताउँछन्। 

नेपालमा १२ वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउने निर्णय भएको छैन। केही मुलकमा भने फाइजरको खोप ५ वर्षभन्दा माथिका बालबालिकाले आपत्कालीन रूपमा लगाउन सक्ने निर्णय भएको छ। 

खोपको अनुसन्धान र उपलब्धता अनुसार खोप लगाइने भए पनि हाल स्वास्थ्य मापदण्ड अपनाउनु नै उत्तम विकल्प भएको सहप्रवक्ता अधिकारिको सुझाव छ। 

यसरी गर्ने व्यवस्थापन
विद्यालयले साबुन पानीले हात धुने, भीडभाड हुन नदिने लगायतका व्यवस्थापकीय पक्षमा ध्यान दिनुपर्ने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट सञ्योजक डा. शेरबहादुर पुनको सुझाव छ।  

'बालबालिकाले स्यानिटाइजर प्रयोग गर्नै नहुने भन्ने छैन। यद्यपि, साबुन पानीले हात धुने विषयमा नै जोड दिनुपर्छ', डा. पुनले भने। 

मास्क लगाउने, बालबालिकालाई पटकपटक नाक मुखमा हात लान नदिनेलगायतका अभ्यास गराउनुपर्ने डा. पुनको सुझाव छ। डेस्कमा बस्दा बालबालिकालाई कम्तीमा एक मिटरको दूरीमा राख्नुपर्ने उनको सुझाव छ।

अभिभावकको पनि भूमिका
बालबालिकालाई कोरोना भाइरस सङ्क्रमणबाट बचाउन अभिभावक पनि त्यत्तिकै सचेत हुनुपर्ने चिकित्सकको मत छ। 

बालबालिकामा लक्षण देखिए उनीहरूलाई विद्यालय पठाउन नहुने डा. पुनको सुझाव छ। उनले भने, 'ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता कोरोनाका लक्षण देखिए विद्यालय पठाउनु हुँदैन। जसले अरूलाई सङ्क्रमण सर्न पाउँदैन।'

यता सहप्रवक्ता अधिकारी अस्पतालमा सङ्क्रमित भर्ना कम देखिए पनि समुदायमा सङ्क्रमण फैलने सम्भावना प्रशस्त भएको बताउँछन्। अधिकारी भन्छन्, 'नयाँ भेरियन्ट आउन सक्छ। बालबालिका जोगाउन सचेत हुनुपर्छ।'

उनले अन्य उमेर समूहको तुलनामा बालबालिकामा सङ्क्रमण र मृत्युको जोखिम कम देखिए पनि जोखिम भने कायम नै रहेको बताए। 

नेपालमा हालसम्म १० वर्षमुनिका ४९ जना बालबालिकाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भइसकेको छ। 

त्यसैगरी विद्यालयमा हुने खेलकुदलगायतका भीडभाड हुने अतिरिक्त क्रियाकलापहरू तत्काल गर्न नहुने चिकित्सकको सुझाव छ।

सङ्क्रमित शिक्षक, कर्मचारीबाट पनि बालबालिकामा सङ्क्रमण सर्ने जोखिम हुन्छ। खोप लगाएका कोरोना भाइरस सङ्क्रमित व्यक्तिबाट पनि सङ्क्रमण सर्न सक्ने भएकाले खोप लगाएका व्यक्तिले समेत सतर्कता अपनाउनुपर्ने चिकित्सकको सुझाव छ। 

अर्कोतर्फ बालबालिका सङ्क्रमित भएर परिवारमा सङ्क्रमण सर्न सक्नेतर्फ चिकित्सकले सजग गराएका छन्। 

बालबालिकाका अभिभावक तथा विद्यालयका शिक्षक, कर्मचारीले सबैले खोप लगाउनुपर्ने चिकित्सकको सुझाव छ। 

स्थानीय तहको जिम्मा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने विद्यालय सञ्चालनको विषयमा सङ्क्रमणको अवस्था हेरेर स्थानीय तहले निर्णय गर्न सक्ने रेडिमेड प्रतिक्रिया दिए। 

उनले डीसीसीएमसीको समन्वयमा स्थानीय तहले सङ्क्रमणको अवस्था हेरेर निर्देशन तथा गाइडलाइनअनुसार विद्यालय सञ्चालन गर्ने वा नगर्ने भन्ने निर्णय गर्न सक्ने बताए।  

मन्त्रालयका प्रवक्ता शर्माले भने, 'स्मार्ट लकडाउनको कार्यढाँचा जुन छ, सङ्क्रमणको स्थिती स्मार्ट लकडाउन हेर्नेले हेर्छ।'

उनले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ को पालना गरेर विद्यालय सञ्चालन हुनुपर्ने बताए। 

प्रवक्ता शर्माले भने, 'विद्यालय खोल्दा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचालाई 'फलो' गरेर खोल्नुपर्यो।'

कार्यढाँचामा के छ?
कार्यढाँचामा विद्यालयले बालबालिकाको सुरक्षाका लागि न्यूनतम पूर्वाधार सरसफाईका लागि साबुन, पानी, स्यानिटाइजर व्यवस्थापन गर्नुपर्ने तथा विद्यालयमा पुग्नेहरूका लागि तापक्रम जाँच्ने व्यवथा गर्नुपर्ने हुन्छ। 

त्यसैगरी विद्यालयका कर्मचारी, विद्यार्थी तथा अभिभावकले अनिवार्य रूपमा मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, खाजा व्यवस्थापन गर्नुपर्ने हुन्छ।

यस्तै विद्यालय गएका बालबालिका, शिक्षक तथा विद्यालय कर्मचारीमा स्वास्थ्यसम्बन्धी कुनै समस्या भए वा कोभिड–१९ को लक्षणसँग मिल्दाजुल्दा लक्षण देखा परेको खण्डमा विद्यालयले तत्काल स्थानीय तह, अभिभावक वा घरपरिवारलाई जानकारी गराउने प्रबन्ध मिलाउनुपर्ने हुन्छ। 

त्यसैगरी सङ्क्रमित शिक्षक, विद्यालय कर्मचारी तथा बालबालिकाहरूलाई पूर्ण रूपमा निको नहुञ्जेल विद्यालयमा नआउने वातावरण मिलाउने र सिकाई निरन्तरताका लागि वैकल्पिक उपाय पहिले नै तय गर्नुपर्ने कार्यढाँचामा उल्लेख छ।

यस्तै सङ्क्रमणको जोखिम, विद्यार्थी संख्या तथा उपलब्ध भौतिक पूर्वाधार समेत हेरी व्यवस्थापनका सहजताका लागि स्थानीय तहले विभिन्न विकल्पमध्ये उपयुक्त विकल्पको प्रयोग गर्नेगरी तयारी तथा समन्वय गर्नुपर्ने हुन्छ।

सङ्क्रमणको अवस्थाअनुसार सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने समन्वय स्थानीय तहले गर्नुपर्ने हुन्छ। 

सङ्क्रमणको अवस्था अनुसार अलग–अलग समय (सिफ्ट) मा अलग–अलग कक्षा वा तह सञ्चालन गर्ने, विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि छोट्याउन सकिने छ। 

त्यसैगरी कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अन्य कक्षा गरी पालैपालो कक्षा सञ्चालन गर्न सकिन्छ। कार्यढाँचामा भनिएको छ, 'हप्तामा केही दिन, दिनमा केही घण्टा सञ्चालन गर्ने।'

यस्तै आवश्यकता अनुसार अति विपन्न समुदायका बालबालिकाहरूका लागि स्थानीय तहको समन्वय तथा सहयोगमा विद्यालयले मास्कको व्यवस्था गर्नुपर्ने हुन्छ।

विद्यालयमा शिक्षक, कर्मचारी तथा विद्यार्थीमा स्वास्थ्य सम्बन्धी समस्या वा सङ्क्रमणको लक्षण देखिएको अवस्थामा तत्काल राख्नका लागि आइसोलेशन कक्षको प्रयोग गर्नुपर्ने नियम छ।

सङ्क्रमणको जोखिम रहँदासम्म एउटा कक्षा वा सेक्सनका विद्यार्थीलाई सधैँ एउटै कक्षामा राख्ने कार्यलाई निरन्तरता दिनुपर्ने कार्यढाँचामा उल्लेख छ।

नेपालमा बुधबार कोरोना भाइरस सङ्क्रमणका कारण ६ जनाको मृत्यु भएको छ भने चार सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन्। 

काठमाडौं उपत्यकाको काठमाडौं र ललितपुर अझै पनि सङ्क्रमणको 'रेड जोन'मा छन्। पाँच सयभन्दा बढी सङ्क्रमित भएको क्षेत्रलाई रेड जोन मानिन्छ। 
 

२५ कात्तिक, २०७८, ०९:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।