
अधिवक्ता टीकाराम भट्टराईको अनुभव : भाइटीका लगाउन जाँदा स्पष्टीकरण दिनुपर्यो

पञ्चायत व्यवस्थाको निरंकुश शासन। प्रतिबन्धित भएका राजनीतिक दलहरुको लागि विद्यार्थी संगठनहरु मेरुदण्ड जस्तै थिए। नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ र तत्कालीन नेकपा मालेको पछि एमालेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सक्रिय थिए विद्यार्थी राजनीतिमा। झापा गृहजिल्ला भएका अधिवक्ता टीकाराम भट्टराई अनेरास्ववियुमा सक्रिय थिए।
मुलुकभर बहुदल पुनर्स्थापनाको लागि आन्दोलनको मुस्लो सल्किँदै थियो २०४६ सालमा। त्यतिबेला तत्कालीन मालेले आफू निकट विद्यार्थीलाई दशैं र तिहारमा घर नजान निर्देशन दिएको थियो। टीकाराम भट्टराई लगायतका विद्यार्थी नेता गएनन् दशैंमा घर।
दशमीको दिन ताहाचलबाट खाना खाएर रत्नपार्क आए डुल्नलाई। कोही चरोमुसो देखेनेन् उनीहरुले। भट्टराईलाई सो दिन एकदमै नमज्जा लाग्यो। मनमनै गुने, तिहारमा त घर जानैपर्छ। दशैंमा उनीहरु कोठामा नै साथीहरु सबै मिलेर गीत गाएर परिवारको न्यास्रो मेट्ने प्रयास गरे।
आन्दोलनताका भट्टराई लगायतका साथीहरु क्रान्तिका गीत पनि गाउँथे। ‘त्यतिबेला धेरै गीत गाइयो। ५० जति गीत त अझै सम्झिन्छु होला,’ भट्टराईले भने, ‘क्रान्ति र सामाजिक गीत धेरै गाइयो।’ तिनताका गाएको गीतको पंक्ति भट्टराईले सम्झिए।
‘भदौरे झरी झमझम गर्दै तीज पनि गयो नि
तिहारमा यो मेरो निधारमा रित्तै नै भयो नि’
यो गीत गाए पनि निधारै खाली भने भट्टराईको भएको छैन। चाडबाडको बेला घरमै बस्न रुचाउने उनलाई दशैंमा घर जान नपाउँदा खल्लो भएको थियो त्यो बेला। साथीहरुसँग सल्लाह गरे अनि भागे तिहार मनाउन झापा। तिहार मनाएर फेरि कर्मथलो काठमाडौँ फर्किए उनीहरु। तर पार्टीले उनी लगायतका विद्यार्थी नेतालाई स्पष्टीकरण सोध्यो, ‘अनुमति बेगर किन घर गइयो?’ स्पष्टीकरण सोध्ने नेता थिए यामलाल कँडेल ।
७ कक्षासम्म चप्पल नलगाई विद्यालय
आमा इन्दिरा भट्टराई र बुबा मोतिखर भट्टराईका कान्छा छोरा हुन् टीकाराम भट्टराई। झापाको कमल गाउँपालिका वडा नम्बर १ मा २०२६ सालमा जन्मेका भट्टराईको बाल्यकाल झापामा नै बित्यो। ३ जना बहिनीका दाजु रहेका उनी दुई जना दाइ र एक दिदीको कान्छो भाइ हुन्।
उनकी दिदीले अहिले पनि कान्छा भनेरै बोलाउँछिन् भट्टराईलाई। ‘यमपञ्चक लागेकै दिन यो वर्ष पनि दिदीले बिहानै फोन गरेर निम्तो गरें है कान्छा भन्नुभयो,’ भट्टराईले भने, ‘बहिनी र दिदी यतै हुनुहुन्छ यो पालि तिहार काठमाडौंमा मनाउने भइयो।’
झापा जिल्ला उनको पुर्ख्यौली थलो भने होइन। पूर्वी पहाडका बासिन्दाहरु धेरै झापा झरे। यही मेसोमा उनका बुबा पनि तेह्रथुमबाट २०२१ सालमा झापा झरे। बन फाँडेर बस्ती बसाउने चलन थियो ऊ बेला। उनका बुबाले पनि त्यसै गरे।
निम्नमध्यम वर्गको परिवार। बुबाआमाको पसिनाले सात सन्तान हुर्काउन सहज थिएन। जसोतसो पढ्न पाए भट्टराईले। कक्षा ६ सम्म नजिकको विद्यालय थियो, बाँसबारी आधारभूत विद्यालय। हिँडेर जाँदा ४५ मिनेट लाग्थ्यो। हिँडेरै पुग्थे भट्टराई पनि विद्यालय। न हुन्थ्यो गोडामा चप्पल न हुन्थ्यो दिउँसोको खाजा।
हिँड्दा काँडा बिझे पनि, दिउँसो भोकले चुर भए पनि निरन्तर विद्यालय गइरहे भट्टराई। कक्षा सात पढ्दासम्म गोडामा चप्पल परेनन् उनको। कक्षा सातदेखि भने उनको विद्यालय फेरियो। दैनिकी भने उस्तै, विद्यालयबाट फर्किएपछि अथवा बिदाको दिन दिनभरि भैंसी चराउने, भैंसीको डडाल्नोमा बसेर होमवर्क गर्ने। कक्षा बढ्यो, दूरी पनि बढ्यो। गौरादह मावि पुग्न लाग्थ्यो डेढ घण्टा। कक्षा १० सम्म पढे उनले यो विद्यालयमा।
ढाँटेर कानुनको पढाइ
२०४२ सालमा एसएलसी दिए भट्टराईले। द्वितीय श्रेणीमा पास गरे। राम्रै विद्यार्थी गनिन्थे उनी। घरमा उनलाई विज्ञान विषय पढ्न यति दबाब आयो कि, उनलाई विज्ञान विषय बाहेक अन्य विषयमा फर्म नभरोस् भनेर अड्कलेर पैसा दिइयो।
‘बुबाले विज्ञान पढ्न भन्नुभएको थियो। फर्म भर्न जानुपर्ने धरान। बुबाले त फर्म अरु विषयमा फर्म नभरोस् भनेर ५० रुपैयाँ फर्म भर्न लाग्ने शुल्क र आउने जाने भाडा मात्रै दिनुभयो,’ भट्टराईले भने, ‘तर मैले विज्ञानमा नभरी कानुनमा भरेँ र घर गएर विज्ञानमा फर्म भरेँ भनेर ढाँटेँ। केही समयपछि घरमा विज्ञान संकायमा आफ्नो नाम ननिस्केको कारण विज्ञान विषय नपढ्ने बताएँ र कानुन पढेँ।’
सानैदेखि उनमा राजनीतिक चेत बस्यो। झापामा त्यतिबेला कम्युनिस्टहरुको दबदबा थियो। स्वभाविक रुपमा उनलाई पनि कम्युनिस्ट राजनीतिको प्रभाव पर्यो। सानै उमेरमा रसियन लेखक म्याक्सिम गोर्कीको आमा पढे। उनलाई यो पुस्तकले यति प्रभाव पार्यो कि आनीबानी सबै परिर्वतन भयो। ‘राजनीतिक चेत आउनुअघि म बहिनीहरुलाई कुट्थेँ,’ भट्टराईले भने, ‘जब ममा राजनीतिक चेत पस्यो, मेरो व्यवहारमा आमुल परिर्वतन भयो।’
कुरीति, कुसंस्कारको पनि प्रखर विरोधी भए भट्टराई। मोदनाथ पाश्रितको भूतप्रेतको कथा पढे। उनलाई लाग्यो, भूतप्रेत र बोक्सी भनेको फगत भ्रम हो। हुँदैन यो। ६ कक्षा पढ्दा नै स्ववियु सचिव भएका उनले अनेरास्ववियुको संगठन विस्तार गर्दा भूतप्रेत हुँदैन भन्थे। एकपटक त उनले भूतप्रेत हुन्छ कि हुँदैन प्रमाणित नै गर्नु परेछ।
एक दिन उनी बस्ने गाउँमा नै सतार जातिको एक जना मान्छे मरेछन्। उनीहरुको चलन अनुसार शवलाई गाड्नुपर्ने। साथीहरुले भट्टराईलाई त्यही चिहानमा राति गएर लौरो गाडेर देखाउन भनेछन्। आधा बाटोसम्म साथीहरु गए। आधा घण्टाको बाटो उनी एक्लै हिँड्नुपर्ने पो भयो। नडराई पुगे र लौरी गाडे। भोलिपल्ट बिहानै उनका साथीहरु गएर हेरेँ। अनि पत्याए उनका कुरा।
सुशीला कार्कीको नबिर्सने त्यो सहयोग
धरानको महेन्द्र बहुमुखी क्याम्पसमा कानुन पढे भट्टराईले। घरमा कानुन पढ्न नदिनुको एउटै कारण थियो, कानून पढेपछि राजनीति गर्छ, जेल जान्छ। उनले कानुन विषय पढ्नुको एउटै कारण थियो, सरकारी जागिर नखाने। भट्टराईका अनुसार गौरादह माविमा पढ्ने विद्यार्थी मात्रै नेपालमा २ सय जनाभन्दा बढी अधिवक्ता छन् । भट्टराईका अनुसार ५० जना त काठमाडौंमा नै छन्।
कानुन विषय रोज्नुको अर्को कारण थियो, त्यतिबेलाको पञ्चायती व्यवस्था। सरकारी जागिर खान प्रहरी रिपोर्ट चाहिन्थ्यो। प्रहरी रिपोर्टमा पञ्चायती व्यवस्था विरोधी कि समर्थक भनेर छुट्याइएको हुन्थ्यो। त्यो समयमा झापामा पञ्चायत विरोधी लहर यसरी आएको थियो, प्रायः घरको एक न एक जना पञ्चायत विरोधी हुन्थे नै।
धरान बस्दा भट्टराईका कोठामा बस्ने साथी थिए, अहिलेका एमाले नेता हिक्मत कार्की र पत्रकार शिव गाउँले। उनीहरु क्याम्पस पढ्ने र अखिलको राजनीतिमा सक्रिय थिए। त्यो बेला धरानमा डेरा गरी बस्दा २५ रुपैयाँ कोठा भाडा, दाउरा ५ रुपैयाँ थियो। माटोको चुल्होमा खाना पकाएर खान्थे उनीहरु। त्यो बेला टिपेको डायरी उनीसँग अझै सुरक्षित छ। धरान दुई वर्ष बस्दा उनले ५ हजार ६ सय ६० रुपैयाँ खर्च गरेछन्।
विद्यालय जीवनमा नै तीन पटक गिरफ्तारीमा परेका भट्टराई इन्टर पढ्दा पनि तीन पटक गिरफ्तार भए। त्यतिबेला विद्यार्थी संगठनले कार्यक्रम गर्दा चन्दा उठाउँथे। चन्दा उठाउने क्रममा उनीहरु पक्राउ परे। प्रहरी प्रशासनले उनीहरुलाई चन्दा ऐन अन्र्तगत मुद्दा चलाइदियो। हिरासतको बसाइ भयो। भट्टराईहरुको पक्षबाट बहस गर्ने भइन् तत्कालीन अधिवक्ता एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले।
कार्कीका विद्यार्थी हुन् भट्टराई। पढाउँदै, वकालत गर्दै र कांग्रेस निकट भएर राजनीति पनि गरेकी थिइन् कार्कीले। भट्टराईहरुको पक्षमा फैसला त भयो तर ५ हजार धरौटी तिरे रिहा हुनसक्ने बताइदियो अदालतले। २०४५ सालमा यो पैसा निकै ठूलो रकम थियो। यो पैसा तिर्न नसके जेलमै सड्नुपर्ने थियो। तर सहयोग गरिन् कार्कीले। आफैंले ओढेको पछ्यौरा थापेर जुटाइन् पाँच हजार र तिरिदिइन् अदलातमा। अनि रिहा भए भट्टराईहरु।
२०४९ सालदेखि निरन्तर बहस
भट्टराई काठमाडौं आए २०४६ सालमा। त्यही साल नै त हो आन्दोलनको तयारी गर्नको निम्ति दशैंमा घर जान नपाएको। अनि भागेर तिहारमा भाइटीका लगाउन गएको। काठमाडौ आउँदा १ हजार ८ सय रुपैयाँ, हरियो रङको टिनको ट्याका, सिरक, डस्ना एक जोर र एक बोरा चामल लिएर आए उनी। पढाइसँगै विद्यार्थी राजनीतिमा होमिए।
२०४९ सालदेखि निरन्तर बहस गरिरहेका छन् उनी । पहिलो मुद्दा टोखातिरको अंशसम्बन्धी थियो। त्यो मुद्दा जिते। त्यही मुद्दा जितेको कारण अहिलेसम्म पनि उनलाई यो क्षेत्रको मुद्दा आइरहन्छ।
नेपाल बार एसोसिएसनको केन्द्रीय सदस्य र २०६९ सालमा बारको उपाध्यक्षसम्म भएका भट्टराईले हालसम्म १० हजार हारहारी मुद्दा हेरेका छन्। २०६९ सालदेखि भट्टराईले जबरजस्ती करणीको प्रतिवादी तर्फबाट बहस नगर्ने निर्णय गरे। ‘हुन त वकिलको काम बहस गर्ने हो। जुनसुकै अभियुक्तले पनि आफ्नो तर्फबाट वकिल राख्न पाउँछ। मलाई भने जकको प्रतिवादीको पक्षबाट बहस गर्न मन लागेन। २०६९ सालदेखि गरेको छैन,’ उनले भने।
संयोग नै भन्नुपर्छ वादी अथवा प्रतिवादीको वकिल भएर सरकार प्रमुखदेखि सेना प्रमुखको मुद्दामा बहस गरेका छन् भट्टराईले।
अच्युतकृष्ण खरेललाई धु्रवबहादुर प्रधानको ठाउँमा आइजिपी बनायो सरकारले। उनले मुद्दा लडे प्रधानको तर्फबाट। उनलाई अकस्मात् एक जनाले फोन गरे, ‘तँलाई हामी सिध्याइदिन्छौँ।’ उनले प्रहरीलाई खबर गरे। प्रहरीले उनलाई सुरक्षाको व्यवस्था गर्यो दुई महिनासम्म।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाए। यो हटाउने प्रक्रियाको सदर गर्ने व्यक्ति थिए, सरकार प्रमुखको हैसियतले राष्ट्रपति रामवरण यादव। उनले रुक्मांगद कटवालको पक्षबाट मुद्दा हेरे।
त्यस्तै अर्काे मुद्दा थियो, माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला संवैधानिक परिषद्को बैठकमा प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाललाई २१ घण्टाको सूचना नदिएको बारे। यो संविधान त नमिल्ने कुरा थियो। परिषद्ले संवैधानिक निकायमा नियुक्ति पनि गरेको थियो। प्रचण्डले यो नियुक्ति खारेज गरिपाउँ भनेर रिट हाले। त्यतिबेला उनले माधवकुमार नेपालको तर्फबाट बहस गरे।
त्यतिमात्र होइन, २०७७ पुस ५ गते केपी शर्मा ओलीले संसद विघटन गरे। एनले सरकारको विपक्षबाट बहस गरे। दुवै पटक संसद् विघटन गरेका ओलीको विपक्षमा बहस मात्र गरेनन्, भट्टराईले सञ्चारमाध्यममा पनि निरन्तर बोलिरहे।
केपी ओलीसँगको निकट सम्बन्ध
भट्टराई अखिलका नेता, केपी शर्मा ओली तत्कालीन मालेका। उनीहरुका अग्रज नेता थिए ओली। बहुदल प्राप्तिपछि २०४८ सालमा भएको चुनावमा केपी शर्मा ओली आफ्नै गृहजिल्लाबाट उठ्ने भए। भट्टराई ओलीकै क्षेत्रको मतदाता मात्रै थिएनन्, निर्वाचन प्रचारप्रसार समितिको युवा संयोजक पनि थिए।
ओलीलाई जिताउन उनी आफूमात्रै खटेनन् युवा साथीहरु पनि परिचालन गरे। भट्टराई र ओलीको यति निकट सम्बन्ध थियो कि चुनावका बेला धान जोख्ने तुलोमा उनीहरु जोखिए। भट्टराई ४८ केजी र ओली ४४ केजी थिए।
त्यो सम्बन्ध पछिसम्म कायम रह्यो। २०७२ मा संविधान जारी भएपछि यो संविधानको पक्षमा बोल्न ओलीले आग्रह गरे। भट्टराईले पनि सहयोग गरे। तर यही संविधान कुल्चने काम ओलीले गरे। यसका विरुद्ध बहस मात्रै होइन, प्रचारप्रसार गर्न पनि सक्रिय रहे भट्टराई।
ओली इख लिने नेतामा पर्छन्। तपाईंले ओली विरुद्ध बहस गरेपछि पनि उस्तै सम्बन्ध छ? भन्ने उकेराको प्रश्नमा भट्टराई भन्छन्, ‘जब संवैधानिक मूल्यमान्यतामाथि प्रहार हुन्छ, संविधान र कालोकोटको रक्षाको लागि मैले सोचेँ, केपी ओलीसँगको मेरो निकटताभन्दा संविधानवाद महत्वपूर्ण हो। अनि मैले संसद् विघटनका विरुद्ध मुद्दा लड्ने निर्णय गरेँ। फेरि व्यक्तिगत र व्यावसायिक जिन्दगी फरक कुरा पनि हो।’
उकेरा : संसद विघटन भएपछि आफूले मानेको मान्छेले के गर्या होला भन्ने लागेन?
भट्टराई : फिटिक्कै लागेन।
उकेरा : अहिले पनि व्यक्तिगत सम्बन्ध उस्तै राम्रो छ?
भट्टराई : नराम्रो छैन (हाँस्दै)।
उकेरा : उहाँ इख बोकेर बस्नुहुन्छ भनिन्छ नि?
भट्टराई : थाहा भएन।
उकेरा : त्यसपछि भेट भएको छ छैन?
भट्टराई : छ। व्यक्तिगत रुपमा लिनुभएको छैन।
उकेरा : हराइसकेपछि अगाडि पर्दा फरकपन महसुस भएन?
भट्टराई : भएन।
थोरै सवालजवाफपछि भट्टराईले भने, ‘उहाँ र ममा समान एउटा बानी छ, देखेको कुरा ड्याङ्गै बोल्ने।
आफूलाई मन नलागेको बहस जसको सुकै होस् नहेर्ने र व्यक्तिगत सम्बन्ध गौण हुने उनको भनाइ छ।
ब्रिफकेसभरि पैसा
केही समयअघि झापाकी गीता भण्डारीको तत्काल मिर्गौला फेर्नुपर्ने भयो। उनका काका ससुराले किड्नी दिने भए। तर बाधक भइदियो कानुन। यो कुरा भट्टराईसम्म पुग्यो। मुद्दा–मामिला भयो। एक महिनापछि मिर्गौला दिन पाउने आदेश पनि भयो। तर भण्डारीलाई छिटो उपचार गर्नुपर्ने भएकोले भारतमा लगेर मिर्गौला प्रत्यारोपण गरियो। तर पनि भट्टराईलाई नजिरको रुपमा बस्ने भएको हुँदा सन्तोष छ।
त्यसो त भट्टराईले आफूलाई चित्त नपरेको अथवा भनौँ अति नै क्रुर मुद्दामा बहस गर्न रुचाउँदैनन्। इँटाभट्टामा जिउँदै मान्छे पोलेको आरोप लागेका नेपाली कांग्रेसका नेता एवं सांसद मोहम्मद आफताव आलमको मुद्दा उनले हेरेनन्।
त्यस्तै जतिसुकै थ्रेट आउने लागे पनि सत्य छ भने मुद्दा हेर्छन् उनी। केही वर्षअघि विवेक लुईंटेल भन्ने बच्चाको अपहरण भएको थियो। सकिना श्रेष्ठलाई मुद्दा लगाइयो। पटेनी लामा मुख्य दोषी मानेको थियो प्रहरीले। प्रहरी लामालाई पक्राउ गर्न जाँदा श्रेष्ठले पैसा बुझिरहेकी थिइन्।
बच्चाको अपहरणपछि हत्या भएको थियो। त्यसैमा सहयोग गरेको कारण पैसा बुझेको आरोप लगायो। तर उनले लामाको घरमा रङ लगाइदिएको कारण पैसा बुझेकी थिइन्। भट्टराईले उनै श्रेष्ठको तर्फबाट बहस गरे। त्यतिबेला ५ सय जति अधिकारवादी समेत आएर उनको घर घेरेका थिए।
भट्टराईका अनुसार पैसा सबैथोक होइन। त्यसैले त ब्रिफकेसभरि पैसा बोकेर आउनेको मुद्दा लडेनन् उनले। ‘यही कार्यालया एक जना व्यक्ति आउनुभयो। मैले लिनेभन्दा दोब्बर–तेब्बर शुल्क दिने बहस गरिदिएबापत भनेर,’ उनले भने, ‘मलाई त्यो मुद्दा ठिक लागेन अनि फिर्ता गरिदिएँ।’
काम र दाममा सन्तुष्ट
२०५१ सालमा इन्दिरा दाहालसँग उनको विवाह भयो। त्यतिबेला नै दाहालले सरकारी जागिरमा नाम निकालिसकेकी थिइन्। अहिले कानुन मन्त्रालयकी सहसचिव छिन् उनी। उनीहरुको दुई छोरा साकार र पुकार छन्। जेठा छोरा जापानमा भाइबर कम्पनीको केन्द्रीय कार्यालयमा कार्यरत छन् भने कान्छा छोरा जर्मनीमा ग्लोबल कम्युनिकेसन पढ्दै छन्।
कोठाबाट सुरु भएको उनको काठमाडौ बसाइ २०६१ सालदेखि नयाँ बानेश्वरमा बनाएको घरमा छ। ‘श्रीमतीको सञ्चयकोषको ९ लाख र मैले कमाएको डेढ लाख जति पैसाले घर बनाएका थियौँ,’ भट्टराईले ती दिन सम्झिँदै भने।
भट्टराई भान्साको काममा उत्तिकै रमाउँछन्। उनलाई सबै प्रकारका खाना पकाउन आउँछ रे। ‘घरको काम हामी दुवैले आधाआधा गर्छौं। लुगा धुने, घर सफा गर्ने खाना पकाउने काममा हामी दुवैको सक्रियता उत्तिकै रहन्छ,’ उनले भने, ‘यो काम मैले नगर्ने भन्ने छैन।’
भट्टराई आर्थिक रुपले सन्तुष्ट छन्। भन्छन्, ‘बरु बिल गेट्स आफ्नो सम्पत्तिले सन्तृष्ट होलान्, नहोलान्, म सन्तुष्ट छु। मेरो महत्वकांक्षा धेरै छैन। अहिलेसम्म १० हजार जति मुद्दा हेरेँ। २५ प्रतिशत त निःशुल्क गरेको छु। घुस खा भन्छन्, म खान्न। शुल्क पनि ठिकै लिएको छु। काम र दाम दुवैबाट सन्तुष्ट छु।’
१७ जना प्रधानन्याधीशसँग बहस गरे, चोलेन्द्र जस्तो विवादित कोही देखेनन्
पहिलो संविधान सभा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले विघटन गरेपछि दोस्रो संविधान सभाको लागि निर्वाचन गराउनुपर्ने भयो। २०७० सालको चुनाव गराउन तत्कालीन प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाइयो। त्यतिबेला यो विषयमा विवाद नभएको होइन। शक्तिपृथकीकरणको सिद्धान्त कुल्चेको भट्टराईको ठहर भयो।
अहिले पनि उनलाई यही लाग्छ, न्यायमा स्वच्छ छवि बनाएका रेग्मीले शक्तिपृथकीकरण भने कुल्चिए। न्यायालयमाथि प्रत्यक्ष हस्तक्षेप यही बेलादेखि सुरु भयो। राजनीतिक दललाई लाग्न थाल्यो, न्यायाधीशलाई केही दिएपछि हामी अनुसार चल्छन्। त्यसपछिका न्यायाधीश पनि कम विवादित भएका होइनन्।
तर, भट्टराईले चोलेन्द्रशमशेर जवरा जतिको विवादित प्रधानन्यायाधीश कोही देखेनन्। भन्छन्, ‘चोलेन्द्र विरुद्धको लडाइँ भ्रष्टचार विरुद्धको हो। उहाँ एकदमै नांगो ढंगबाट आउनुभयो। १७ प्रधानन्यायाधीशसँग बहस गरें ३० वर्षको करिअरमा। यति धेरै नैतिक र आर्थिक प्रश्न उठेका प्रधानन्यायाधीश थिएनन्।’
समाज जति क्रुर हुँदै जान्छ त्यति कानुन व्यवसायीलाई ‘फाइदा’
२०६३ सालपछि भट्टराईलाई व्यक्तिवादी चिन्तन हावी हुँदै गएको जस्तो लाग्छ। जति धेरै मौलिक अधिकार भयो उति धेरै व्यक्तिवादी सोच बढ्दै जान्छ र आफूबारे मात्रै सोच्छ व्यक्तिले। अनि समाज क्रुर हुँदै जान्छ। उनको ठहर यही छ।
भट्टराईले आफ्नोमा आउने क्लाइन्टको समस्याहरु टिपेर सुरक्षित साथ राख्ने गरेका छन्। फाइल पल्टाउँदै उनले भने, ‘यो हाम्रो समाज चिन्ने ऐना हो।’ त्यस ढडडामा विभिन्न प्रकृतिका मुद्दा लडिदिनुस् भनेर आउने क्लाइन्टको डिटेलिङ छ।’
उनको ३० वर्षे करिअरले भन्छ, २०६३ अघिका मुद्दा अधिकारमुखी हुन्थे, अहिले प्रतिरक्षामुखी छन्।’
पहिले नाता कायम गरिपाउँ, न्वारन गरिपाउँ, गालीबेइज्जती जस्ता मुद्दा धेरै आउँथे। अहिले राजस्व छली, भन्सार छलीका मुद्दा आइरहेका छन्। साइबर क्राइम जस्ता मुद्दा आएका छन्। अहिले अपराध दिनहुँ बढिरहेको उनको बुझाइ छ।
‘अपराध बढ्नु राम्रो होइन तर जति धेरै अपराध बढ्यो कानुन व्यवसायीको भविष्य उति उज्यालो हुने रहेछ। अब आउने पुस्ताले प्रतिष्ठा त कमाउँछ, कमाउँदैन भन्न सक्दिनँ तर पैसा चाहिं कमाउँछ।’
२० कात्तिक, २०७८, १४:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।