उकेरा फिचर

'हाडनातामा विवाह रोक्न भाइटीका लगाउन सुरु गरियो भन्नु गलत हो'


कार्तिक शुक्ल द्वितीया यमपञ्चकको पाँचौं तथा अन्तिम दिन हो। यो दिनलाई यमद्वितीया, भातृद्वितीया तथा भाइटीकाका रूपमा चिनिन्छ।

कार्तिक शुक्ल द्वितीयाका दिन यमुनास्नान तथा यमपूजन  गरिन्छ। यो दिन दिदी बहिनीको घरमा गई दाजु भाइले भोजन गर्नुलाई निकै फलदायी मानिन्छ।

नेपाली परम्परामा दिदी बहिनीले दाजु भाइलाई सप्तरङ्गी टीका लगाएर मिष्ठान्न खुवाउने चलन रहेको छ। टीका तथा माला सत्कारका रूपमा लगाइन्छ। दाजु भाइले पनि दिदी बहिनीलाई गच्छेअनुसारको दक्षिणा तथा उपहार दिने चलन पनि रहेको छ।

यमुनाले आफ्ना दाजु यमको पूजा गरेर दीर्घायु र अटल प्रेमको कामना गरेको प्रसङ्गपछि नै भाइपूजाको चलन सुरू भएको कथन छ।
भाइपूजाको प्रसङ्ग भविष्य पुराण, हेमाद्रिलगायतका धर्मशास्त्रीय ग्रन्थहरूमा उल्लेख गरिएको छ।

यो अवसरमा यम–यमुनाको पूजाका साथ प्रार्थना गरेको खण्डमा दिदी बहिनीलाई पनि अटल सौभाग्य प्राप्त हुने अर्थात् दिदी बहिनी विधवा हुन नपर्ने कुराको उल्लेख धर्मशास्त्र तथा पुराणादि ग्रन्थहरूमा उल्लेख छ।

वैदिक सनातन परम्परामा दिदी बहिनीलाई दयाका मूर्ति मानिएको छ। दिदी बहिनीबाट टीका ग्रहण गरी आशीर्वाद प्राप्त गरेर उनीहरूको हातबाट भोजन गर्नाले आयु, आरोग्यलगायत समृद्धि प्राप्त हुने शास्त्रीय विश्वास छ।

कार्तिक महिनाको शुक्लपक्षको द्वितीयाको दिन अपराह्नको समयमा जो व्यक्तिले यमराजको पूजा गर्छ र यमुनामा स्नान गर्छ त्यो व्यक्तिले यमलोक देख्नुपर्दैन (अल्पायुमा मृत्युवरण गर्नुपर्दैन) भन्ने विषयको वर्णन स्कन्दपुराणमा गरिएको छ।

कार्तिक शुक्ल द्वितीयाका दिन 'किङ्कर'सहितले यमराजको पूजा गर्नेलाई यमराजले वाञ्छित (आवश्यक) फल दिने गरेको धर्मशास्त्रीय विश्वास रहेको छ।

कार्तिक शुक्ल द्वितीयाका दिन यमुनाले आफ्ना दाजु यमराजलाई घरमा बोलाएर भोजन गराइ पूजा तथा सत्कार गरिन्।

त्यसैले यो दिन पर्वका रूपमा तीनै लोकमा विख्यात भएको हो भन्ने वर्णन पौराणिक ग्रन्थमा छ। यस दिन यमराजका साथै अष्टचिरञ्जीवीहरूको पनि पूजा गरिन्छ। यसरी यमराजका साथै अष्टचिरञ्जीवीका प्रतीमामा पूजा गरेको अवस्थामा आयु बढ्ने विश्वास छ।

अष्टचिरञ्जीवीहरू अश्वत्थामा, बलि, व्यास, हनूमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय मानिन्छन्। अष्टचिरञ्जीवीहरूमध्ये मार्कण्डेयलाई प्रार्थना गरिएको यो श्लोक भ्रातृद्वितीयाको दिन पढ्ने प्रचलन रहेको छ।
 'मार्कण्डेय महाभाग सप्तकल्पान्तजीवित।
 चिरजीवी तथा त्वं हि तथा मे भ्रातरं कुरु।।'

श्लोकको अर्थ हुन्छ- हे मार्कण्डेय हजुर सात–सात कल्पसम्म जीवित रहनुहुन्छ हजुरजस्तै मेरा दाजुभाइलाई पनि सात–सात कल्प जीवित रहने बनाउनुहोस्।

मार्कण्डेयको प्रार्थना गरिएको यो श्लोक पद्मपुराणबाट लिइएको हो।

द्वितीया तिथि यात्राका लागि, व्रतारम्भका लागि र शुभ तथा मङ्गल कार्यका लागि विशेष रूपले लिने गरिन्छ। यस दिन घरबाट टाढा निस्कने व्यक्तिका लागि उत्तम साइत हुने शास्त्रीय मान्यता तथा विश्वास छ।

त्यसैगरी व्रत तथा यमपूजा गर्नाले अनन्त फल प्राप्त हुने कुराको उल्लेख धर्मशास्त्रीय ग्रन्थहरूमा गरिएको छ।
यमुनालाई सूर्यनारायणकी पुत्रिका रूपमा पनि लिइन्छ।

सूर्यनारायणकी पुत्री मान्नुको कारण गंगा नदी जसरी हिमनदी हुन् त्यसैगरी यमुना नदी पनि हिमनदी हुन्। सूर्यनारायणको स्पर्शबाट गङ्गा तथा यमुना हिमालयदेखि प्रवाहित हुन्छन्।

यसको अर्थ उष्णताबिना हिउँ पग्लदैन र नदी पनि बन्न सक्दैन। सूर्यनारायणको उष्ण स्पर्शका कारण नै हिमालयदेखि नदीहरू बग्छन् यसैले नै यमुनालाई सूर्यनारायणकी पुत्री मानिएको हो।

हिमालयबाट निष्कने जल सूर्यका किरणको तापबाट जलका रूपमा परिणत हुँदै दक्षिणतिर बगिरहेका छन्। यसरी बग्दै गरेको जल यमुना नदीका रूपमा आउँछ।

वर्षाको भेलबाट सफा भएको शरदकालीन जल अत्यन्त स्वच्छ र सर्वरोग निवारक मानिएको छ। जसलाई यमुनासम्बन्धी भौतिक अर्थको (देखिने अर्थात् जस्तो देखिन्छ त्यस्तै) रूपमा पनि लिन सकिन्छ।

वैदिक सनातन धर्मावलम्बी आस्तिकजनका लागि गङ्गा तथा यमुनाको महात्म्य अत्यन्त ठूलो छ। जसको वर्णन विभिन्न पुराणहरूमा गरिएको छ।

गोवर्धन पर्वतको पूजा गरेपछिको अर्को दिन यमुनाको माहात्म्य आउनुको रोचक प्रसङ्ग छ।

त्यो के भने भगवान् श्रीकृष्णको जन्मस्थल मथुरा हो। भगवान् श्रीकृष्णले बाललीला गरेको गोकुल हो भने श्रीकृष्णले गाई चराएर गोपिनीहरूसँग लीला गरेको स्थल वृन्दावन हो।

श्रीकृष्णले गोवर्धन पर्वतलाई उठाएर गोकुलवासीको रक्षा गरेको पनि यही क्षेत्र हो। यही क्षेत्रलाई सिञ्चित गर्दै यमुना नदी पनि बग्ने गर्छिन्।

गौपूजा, श्रीकृष्णले नरकासुरको वध गरेको प्रसङ्ग, गोवर्धन पर्वतको पूजासँग यम–यमुनाको पूजाको प्रसङ्ग आउनु र त्यसैसँग श्रीकृष्णको क्रीडाभूमिलाई सिञ्चित गर्दै बग्ने यमुनाको प्रसङ्ग आउनुलाई जोड्दा अत्युक्ति हुने छैन।

हाडनातामा विवाह रोक्न भाइटीका लगाउन सुरु गरियो भन्नु गलत हो
कतिपयले तिहारको सन्दर्भमा नजिकको दाजु भाइ र दिदी बहिनीबीचको विवाह नहोस् भनेर भाइटीका लगाउन सुरु भएको भन्ने कुर्तक गरेको पनि सुनिन्छ।

तर दाजु भाइ र दिदी बहिनीबीच हुने विवाहलाई रोक्नका लागि तिहारमा टीका तथा माला लगाउने चलनको सुरु भएको भन्नु गलत तर्क नै हो।

किनभने हिन्दू धर्मशास्त्रीय मान्यताअनुसार बुवापट्टिका सात पुस्ता र आमापट्टिका पाँच पुस्तासम्म विवाह गर्न बन्देज छ। विवाह गर्न मिल्दैन। सगोत्रसँग त विवाह गर्नै मिल्दैन। अनि के को आधारमा दाजु भाइ र दिदी बहिनीबीचको हुने विवाहलाई रोक्न तिहारमा दाजु भाइ र दिदीबहिनीबीच भाइटीका लगाउने चलन सुरु भयो भन्न मिल्छ? अवश्य पनि मिल्दैन।

बरू दाजु भाइ नभएकी कन्यालाई विवाह गर्न नहुने कुराको उल्लेख भने धर्मशास्त्रीय ग्रन्थहरूमा पाइन्छ। यसो भन्नुको कारण दाजु भाइ नभएकी कन्याबाट जन्मिएको पहिलो सन्तान कन्याका पिताको हुन्छ भन्ने धर्मशास्त्रीय वचन छ।

जसले गर्दा भातृमती अर्थात् दाजु भाइ भएकी कन्या मात्र विवाह गर्नुपर्दछ भन्ने परम्परा रहेको देखिन्छ।

कार्तिक शुक्ल द्वितीयाका दिन दिदी बहिनीले दाजु भाइलाई टीका लगाइदिएको अवस्थामा जन्म जन्मान्तरसम्म पनि दिदी बहिनीहरू दाजु भाइविहीन बन्नुपर्दैन भन्ने पौराणिक तथा धर्मशास्त्रीय वचन छ।

(वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका सह–प्राध्यापक डा. खनालसँग उपेन्द्र खड्काले गरेको कुराकानीमा आधारित।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

जोशी दम्पत्तिको च्याउ खेती: माग धान्नै मुस्किल, कमाइ १५ लाख

जोशीले ०६९ सालबाट चौकीडाँडामा व्यावसायिक रूपमा च्याउ खेती गरिरहेका छन्। दिउँसो चक र डस्टरमा रमाउने जोशी साँझ-बिहान भने च्याउ खेतीमा रमाउँछन्।  उनको फार्ममा बाह्रै महिना....

हरिबोधिनी एकादशी : पाप नाशक, पुण्यवर्धक र मुक्तिप्रदक

आषाढ शुक्ल पौर्णमासी, एकादशी, द्वादशी वा श्रावण सङ्क्रान्तिमा सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्छन्। विशेष गरेर आषाढ शुक्ल एकादशीदेखि चातुर्मास्य व्रतको आरम्भ गरिन्छ भने....

अधिवक्ता टीकाराम भट्टराईको अनुभव : भाइटीका लगाउन जाँदा स्पष्टीकरण दिनुपर्‍यो

मुलुकभर बहुदल पुनर्स्थापनाको लागि आन्दोलनको मुस्लो सल्किँदै थियो २०४६ सालमा। त्यतिबेला तत्कालीन मालेले आफू निकट विद्यार्थीलाई दशैं र तिहारमा घर नजान निर्देशन दिएको थियो। टीकाराम....

स्वयंलाई देवता मानेर गरिने पूजा : म्हपूजा

संस्कृतिविद् सत्यमोहन जोशीले ‘म्ह र म्हपूजा’ विषयक लेखमा सजीवतालाई नै म्हपूजा गरिने हो भन्नुभएको छ।  संस्कृतिविद् बलदेव जुजुका अनुसार म्हपूजाको अभिप्राय वर्षभरि आइपर्न सक्ने समस्याहरु....

वर्षकै उत्तम तीन दिनमध्येको एक आज : बलि राजा पाताल पुर्‍याइएकाे र शिवले जुवा हारेकाे दिन

कार्तिक शुक्ल प्रतिपदालाई वर्षभरिका उत्तम तीनमध्ये एक दिन मानिन्छ। यसै दिन नेपाल संवत्को नयाँ वर्ष पनि आरम्भ हुन्छ। नेवारी समुदायमा यो दिन 'म्ह' पूजा गर्ने....