उकेरा मन्थन

अनुशासनका लागि दिइन्छ सगुन


सगुन नेवारी समाजमा जन्मदेखि वृद्धावस्थासम्म हरेक शुभ अवसरमा लिने–दिने चलन छ । बच्चा जन्मिएपछि अन्नप्राशन, जन्मोत्सव, व्रतबन्ध, बेलविवाह (इही), गुफा राख्ने (सूर्य दर्शन), विवाह तथा भीम रथारोहण, चन्द्र रथारोहण तथा देव रथारोहणहरूमा सगुन लिनु–दिनु अनिवार्य छ ।

यसैगरी चाडपर्वहरूमा विशेष गरेर म्हः पूजा, भाइटीका, आमाको मुख हेर्ने, बुबाको मुख हेर्ने आदिमा पनि सगुन अनिवार्य छ । त्यस्तै परीक्षामा उत्तीर्ण हुँदा, नोकरीमा प्रवेश गर्दा, पदोन्नति हुँदा, विदेश भ्रमणमा जाँदा, गृहप्रवेश गर्दा, ठूल्ठूला दुर्घटनामा परेर मृत्युको मुखबाट जोगिँदा पनि सगुन दिने चलन छ ।

सगुन लिनु–दिनुको मुख्य उद्देश्यको बारेमा संस्कृतविद तेजेश्वर बाबु ग्वंगः भन्छन्, ‘हाम्रो शरीरमा ब्रह्मा, विष्णु, महेश्वर, तेत्तीस कोटी देवतासँगै शक्ति रुपिणी भगवतीले पनि हाम्रो देह तथा आत्मामा वास लिनु हुन्छ भन्ने हो । जसको फलस्वरूप यदि हाम्रो शरीरमा कुनै पनि नराम्रो ग्रह वा दुष्टात्माले बास गरेर बसेको भए पनि ती सबैले हाम्रो देहलाई छोड्नुपर्ने हुन्छ भने सगुन लिने व्यक्तिलाई देवत्व प्राप्त भै रोग–शोक आदिले छुन सक्दैन । उसलाई जहाँ गए पनि, जहाँ बसे पनि सदासर्वदा शुभ भैरहन्छ । नियमपूर्वक दिइएको सगुनलाई भक्तिपूर्वक ग्रहण गर्दै आफूभन्दा मान्यजनलाई प्रणाम गरी आशीर्वाद लिंदा राम्रो हुन्छ ।’  

सगुनको अर्थ शुभसँग जोडिएको छ । सगुनमा समाविष्ट तत्व पञ्चतत्वका प्रतीक हुन्छन् । सगुन सबै जातजातिमा आ–आफ्नै तरिकाबाट लिइने–दिइने भए पनि नेवारी समाजमा यसको चलन अत्यधिक भएको पाइन्छ । नेवार जातिमा हरेक शुभ कार्य वा शुभ अवसरहरूको थालनी सगुनबाट गरिन्छ । जसबाट जीवनमा सकारात्मक ऊर्जा प्रवाह भएर भाग्योदयको मार्गमा अघि बढ्ने प्रेरणा मिल्छ ।मानवको शरीर जन्मसँगै मृत्यु पनि लिएर आएको हुन्छ । शरीरबिना मानव जीवनको केही अर्थ रहँदैन ।

त्यसैले शरीरको मजबुती, सुस्वास्थ्य र अकाल मृत्यु आदिबाट जोगाउने हेतुले सगुन दिने चलनको सुरुवात भएको मान्छन्, संस्कृतिविद सत्यमोहन जोशी  । जोशी भन्छन्, पञ्च महाभूतले बनेको शरीरलाई पञ्च महाभूतका प्रतीक तत्वहरूसँग आत्मसात् गरी ग्रहण गर्नाले कुनै पनि अनर्थ वा अमङ्गल हुँदैन भन्ने परम्परागत मान्यता छ । हाम्रा पूर्वजहरूले हजारौं वर्ष तपस्या गरेर परमात्मा ईश्वरसँग बचनवद्ध भएर प्रचलनमा ल्याएको सगुनलाई हामीले सहर्ष, सभक्ति र हृदयपूर्वक ग्रहण गर्दै आएका छौं । सगुन लिँदा वा दिँदा लिने–दिने व्यक्ति पूर्व–पश्चिम फर्किएको हुनुपर्छ भने उत्तर–दक्षिण फर्किएको हुनु हुँदैन भन्ने मान्यता छ ।

दही सगुन (धौ सगं)
शुभ कार्यअघि वा शुभकार्यपछि कार्यको प्रकृतिअनुसार पूजा सामग्री एवं दहीसहित दिइने सगुन हो । यसमा अक्षता, लाबा, अबिर, टीका, फूल, धुपबत्ति, दही आदि सबै पूजा सामग्री पूजाथालीमा राखी सम्बन्धित व्यक्तिको सामुन्ने सुकुन्दा बालेर गणेशको पूजा गरी सालको पातमा पञ्चतत्वले बनेको शरीरको सुस्वास्थ्य तथा व्यक्तिको उन्नति–प्रगतिको कामना गरी पातमा पाँच तत्व पृथ्वी, आकाश, तेज, वायु र जल तत्वसँगै पाञ्चायन देवताहरू गणेश, महादेव, भगवती, सूर्य र विष्णु भगवान्लाई स्मरण गर्दै पूजा गरिन्छ । सगुन लिँदा सगुन लिने व्यक्ति पुरुष भए शीरमा टोपी लगाउन अनिवार्य छ । धेरै जनालाई एकैपटक सगुन दिँदा ज्येष्ठताको क्रमअनुसार दिनुपर्छ ।

अण्डा सगुन (खें सगं)
अण्डा सगुनलाई नेवारी भाषामा खें सगं भनिन्छ । देवदेवी एवं पञ्चतत्वको प्रतीकका रूपमा ग्रहण गरिने वास्तविक सगुन अण्डा सगुन हो । अण्डा, माछा, मासु, बारा, अदुवा  र रक्सि लार्ई अण्डा सगुनका रूपमा लिइन्छ । त्यसैले यसलाई पञ्चमकार पनि भनिन्छ ।

यी वस्तुहरूमध्ये अण्डालाई ब्रह्माका रूपमा लिइएको ज्योतिष रति जोशी बताउँछिन् । जोशी भन्छिन्, ‘सृष्टिको सुरुवातमा ब्रह्मा अण्डाबाट प्रकट भएको मान्यता छ । माछालाई विष्णुका रूपमा लिइन्छ । परापूर्वकालमा पृथ्वीको रक्षा गर्ने हेतुले भगवान् विष्णुले मत्स्य अवतार धारण गर्नुभएको थियो । त्यसैले माछालाई भगवान् विष्णुको स्वरूप मानिन्छ । मासुलाई महादेवका रूपमा लिइन्छ । परापूर्वकालमा भगवान् महादेवले राँगाको अवतार धारण गर्नुभएको थियो । त्यसैले मासुलाई भगवान् महादेवको प्रतीकका रूपमा लिइन्छ । वारालाई सर्वदेव एवं ३३ कोटी देवताका रूपमा मान्यता दिइएको छ । रक्सिलाई देवी भगवती वा शक्ति मानिन्छ । कारण समुद्र मन्थनका क्रममा देवी सोमरसको घडासहित प्रकट हुनुभएको थियो । यसरी यी सबै वस्तुलाई देवदेवीका रूपमा लिई ती देवदेवीहरूलाई आफ्नो देहमा समाहित गरी देवत्व प्राप्ति होस् भन्ने हेतुले सगुन लिने परम्परा चलिआएको हो ।’ 

त्यस्तै अर्को कथनको बारेमा संस्कृतविद ज्ञानकाजी मानन्धर बचाउँछन्, ‘अण्डा पृथ्वी तत्व, माछा जल तत्व, मासु वायु तत्व, बारा आकाश तत्व र सोमरस शक्ति अर्थात् अग्नि तत्व हुन्। यही मान्यताअनुसार वनमा पशु, पानीमा माछा, आकाशमा पछी सुरक्षित भएजस्तै सगुन लिने व्यक्ति जहाँ गए पनि सुरक्षित होस् भन्ने कामना गरिन्छ । यसरी सगुन लिनु भनेको मानव देहलाई प्रकृतिसँग अन्तरनिहित गर्नु हो र मानव जीवनमा जसले यी पाँच तत्वलाई वशमा राख्छ त्यसले संसार जित्छ भन्ने धारणालाई पुष्टि गर्नु पनि हो । यसअनुरूप पाँच इन्द्रीयलाई आफ्नो वशमा राख्नु वा अनुशासित हुनु पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

राप्रपामा सत्ता ताक्ने 'मुसो' बाहिरिए, व्यवस्थाको अँगेनो ताक्ने 'कट्टर बिरालो' भित्रिए

प्रत्यक्ष र समानुपातिक मिश्रित निर्वाचन प्रणाली महँगो भएको र यसले राजनीतिलाई विकृत बनाएको उनले तर्क गर्ने गरेका छन्। तेस्रो : सांसद मन्त्री बन्न नपाउने। सांसद....

अबको एमाले : ओली सत्य, बाँकी सब झुट

उनी नवौँ महाधिवेशनबाट पार्टीको सर्वोच्च पदमा पुगेदेखि नै इतर विचार समूहलाई पेल्दै आएका नै थिए। उनको नीति प्रस्ट थियो 'एमालेमा टिक्नु छ भने मैले जे....

कांग्रेसकी कान्छी महाधिवेशन प्रतिनिधि भन्छिन्- शेरबहादुर मेरो रोजाइमा छैनन्, बरु शेखर आकर्षक लाग्छन्

नेपाली कांग्रेसको प्रचारप्रसार समितिको महिला विभाग सदस्य रहेकी उनी कराँते खेलाडी समेत हुन्। उनले इन्डोनेसियामा भएको खेलमा स्वर्ण पदक, मलेसिया र बंगलादेशमा कास्य पद हात....

एमालेकण, सुधारिएको 'पञ्चायत' कि लोकतन्त्र ?

तर २ दिनभित्र पार्टीको नेतृत्व चयनका ओलीले पार्टीमा जुन प्रकारको लोकतन्त्रको अभ्यासको प्रयास गरे उनले नारायणी तिरमा सुधारिएको पञ्चायत भनेका हुन् कि लोकतन्त्र अन्योल गराए।....

के राजनीति धर्मग्रन्थ हो ?

जतिसुकै दुर्गुण भए पनि मृत्युपछि बाको आलोचना हुँदैन, समीक्षा हुँदैन। किनभने, उनलाई पितृपरमेश्वर मानिन्छ। ००० के एमालेले अंगिकार गरेको जनताको बहुदलीय जनवाद (जबज) अब....