किन लुकेर गरिन्छ लक्ष्मीको पूजा ? 

किन लुकेर गरिन्छ लक्ष्मीको पूजा ? 

हिन्दु धर्मावलम्बीको दोस्रो महान चाड तिहार। यो चाडमा लक्ष्मीको पूजा-आजालाई विशेष महत्व दिइन्छ। सुखरात्रिको नामले समेत चिनिने लक्ष्मीपूजाको दिन कन्यालाई लक्ष्मी मानेर टीका लगाइदिने गरिन्छ। साथै, भैलेनी बनेर माग्न आएका कन्यालाई खुसी भएर दान-दक्षिणा दिने चलन छ।

नेपालमा लक्ष्मीलाई धनधान्यकी देवीको रुपमा पुज्ने गरिएको छ। तर संस्कृतिविद् ओमप्रसाद धौभडेलका अनुसार लक्ष्मीलाई धनकी देवीको रुपमा मात्रै पुज्नु गलत हो। उनी भन्छन्, ‘हामी ठूलो भ्रममा छौं। लक्ष्मीले धन मात्रै दिने हैन, सबैथोक दिने हो।’

सन्तान प्राप्तिका लागि लक्ष्मीको पूजा गरिन्छ। सिद्धि प्राप्तिमा लागि लक्ष्मीको पुजा गरिन्छ। शक्तिका लागि पनि लक्ष्मीकै पूजा गरिन्छ। धौभडेल भन्छन्, ‘गृहलक्ष्मी भनिन्छ नि घरकी महिलालाई। उनी पनि एउटा लक्ष्मी नै हुन्।’ 

सर्वलक्ष्मी, शुभलक्ष्मी, खड्गलक्ष्मी, भवानीलक्ष्मी लगायत धेरै लक्ष्मीहरु छन् जसलाई कोजाग्रत पूर्णिमाको दिनदेखि लक्ष्मीपूजाको दिनसम्म नै हरेक दिन एक-एक वटाका दरले पुजिन्छ। तर सबैको प्रतिनिधित्व गर्ने मुख्य लक्ष्मी भने महालक्ष्मी हुन् जसलाई दीपावलीको औंसीमा पूजा गरिन्छ।

यसकै उदाहरण हुन्, विभिन्न ठाउँमा नाम जोडिएर बनेका लक्ष्मीका मूर्ति र मन्दिर। पाँचतले मन्दिरभित्र सिद्धि लक्ष्मीको मूर्ति छ। भक्तपुरमै गजलक्ष्मीको मूर्ति छ। महालक्ष्मीको त थान नै छ। बुढानीलकण्ठमा लक्ष्मी नारायणको थान छ। यी मूर्ति र मन्दिरहरु धनका लागि नभएर अन्य कुरा प्राप्तिका लागि बनाइएका हुन्। 

दशैंको कोजाग्रत पूर्णिमापछि नै विभिन्न लक्ष्मीको पूजाआजा सुरु हुन्छ। प्रत्येक दिन आकाश दीप प्रज्वलन गर्ने चलन छ। तुलसीको मठ नजिकै सात हाते, नौ हाते या तेह्र हाते बाँस गाडेर त्यसको टुप्पामा बत्ति बाल्ने चलन नै आकाश दीप हो। लक्ष्मी उज्यालो ठाउँमा मात्रै आउँछिन् भन्ने मान्यताका कारण हरेक दिन लक्ष्मीको पूजा–आराधना गरी आकाश दीप बाल्ने चलन चलेको हो।

धौभडेल भन्छन्, ‘त्यो समयमा अहिलेको जस्तो बिजुली बत्ति थिएन। दशैंपछि दिन छोटो, रात लामो हुन्छ। जसले गर्दा आकाशमा उड्ने चराचुरुङ्गीले बाटो बिराउन सक्छन्। उनीहरुलाई गन्तव्यमा पुग्न सजिलो होस् भनेर पनि आकाश दीप बाल्ने चलन चलेको हुनसक्छ।

किन छैन लक्ष्मीको मन्दिर
सबैभन्दा धनी देवीको रुपमा चित्रित लक्ष्मीको नेपालमा पूजाका लागि छुट्टै मन्दिर छैन। हरेक चाडपर्वमा पूजाका लागि मन्दिरमा भक्तजनको भीडभाड हुने भए पनि लक्ष्मीको पूजा घरघरमै गरिन्छ।

नेपालमा मात्रै लक्ष्मीको छुट्टै मन्दिर नभएको हो। भारत, कम्बोडिया, इन्डोनेसिया लगायतका देशमा भने लक्ष्मीको मन्दिर बनाइएको धौभडेलले बताए। उनले भने, ‘नेपालमा पनि लिच्छवीकालमा मूर्ति बनाएर पूजा गरिन्थ्यो। विस्तारै यो चलन हराउँदै घरघरमै पूजा गर्ने चलन चल्यो।

कारणबारे प्रष्ट पार्दै उनले भने, ‘मानिस स्वार्थी प्राणी हो। बाटोमा एउटा हजारको नोट देख्यो भने त ऊ अरुलाई देखाउन या सुनाउन चाहँदैन। लक्ष्मीको पूजा गरेको देखेर अरु मानिस पनि धनी होलान्, सुख शान्ति प्राप्त गर्लान् भन्ने लोभले लुकेर पूजा गर्ने चलन चल्यो।

मानिसको स्वार्थकै कारण एक्लै लुकेर ध्यानपूर्वक पूजा गर्दा फलिफाप हुने मान्यता समेत रहन पुग्यो।

अरुले नदेखोस् भनेर नै घरको मुल ढुकुटीभित्र कसैले नदेख्ने ठाउँमा लक्ष्मीको पूजा गर्ने चलन छ। यही कारण नेपालमा लक्ष्मी सार्वजनिक देवता होइन, गोप्य निजी देवता हुन्।

अर्कोतर्फ हाम्रै वरपर भएका लक्ष्मीलाई पूजा गर्ने भएकाले पनि यसको छुट्टै मन्दिर स्थापना गर्न नपर्ने मान्यता छ।

लक्ष्मीको पूजा गर्ने नै चित्रमा हो
घरघरमा पूजा गर्नुपर्ने भएकाले लक्ष्मीको पूजा मूर्तिमा हैन, चित्रमा गर्नुपर्ने धौभडेलले बताए। उनले भने, ‘चित्रलाई साक्षात् लक्ष्मीको प्रतिरुप मान्ने चलन छ। त्यसैले लक्ष्मीको पूजा चित्रमा नै गर्नुपर्छ। कतिपयले ढुकुटीमा लक्ष्मीको मूर्ति राखेर पूजा गर्ने गरे पनि त्यसले फलिफाप नगर्ने धौभडेलले बताए। 

उनले भने, ‘बजारमा पाइने काठ, फलाम, पित्तल, सुन, चाँदी लगायतका लक्ष्मीको मूर्ति सिधै ढुकुटीमा राखेर पूजा गर्न हुँदैन। यदि मूर्ति पुजा नै गर्ने हो भने त्यसलाई प्राणप्रतिष्ठा गरेर मात्रै स्थापना गर्नुपर्ने हुन्छ। 

बजारबाट सिधै घर लगिएका मूर्तिलाई आँखा खुलाउने या प्राणप्रतिष्ठा गर्नुपर्ने उनको भनाइ छ। तान्त्रिक विधिबाट यी कामहरु गरेपछि मात्रै मूर्तिमा पूजा गर्न मिल्छ। 

मूर्तिमा प्राणप्रतिष्ठा गर्न शास्त्रअनुसार विभिन्न यज्ञ, होम लागयतका विधिहरु गर्नुपर्ने हुन्छ। 

तस्बिर, फोटोहरुको हकमा भने सिधै पूजा गर्न मिल्छ। अघिल्लो साल पूजा गरेको फोटोमा दोहो¥याएर पूजा गर्न नमिल्ने धौभडेलले जानकारी दिए। त्यस्ता चित्रहरु घरमा राख्न पनि शुभ मानिँदैन। त्यसलाई विधिवत् रुपमा सेलाउनुपर्छ।

विदेशी लक्ष्मीलाई पुजिरहेका छौं
तिहार नजिकिँदै जाँदा बजारमा थरीथरीका लक्ष्मीका प्रतिमाहरु सजाएर बेच्न थालिसकेका छन्। ठूलो गजुर लगाएकी, कमलमा आसन गरेकी, गरगहनाले झरिझुट्ट लक्ष्मीका प्रतिमाहरु यतिबेला बेचिन तयारी अवस्थामा छन्। चीन र भारतमा बनेर नेपाल आएका त्यस्ता लक्ष्मीका प्रतिमा नेपाली लक्ष्मी हैनन्। 

नेपाली लक्ष्मी साधारण छिन्। नेपाली लक्ष्मी एक हातमा सिनहुँ, अर्को हातमा ज्वाला नेकहङ हुन्छ। एकातिर अभय मुद्रा अर्कोतिर वर मुद्रा भएकी, दुई तिर ख्याकहरु हुन्छन्। त्यस्तै दुवैतिर भक्तहरु उभिइरहेको चित्र मात्रै नेपाली लक्ष्मी हो।

हामीले पूजा गरिरहेको लक्ष्मी भने भारतीय टेलिभिजनका सिरियलमा देखाइएका लक्ष्मीहरु हुन्। त्यस्तै नेपाली लक्ष्मी मांसाहारी हुन् भने भारतीय लक्ष्मी साकाहारी।

नेपालमा मारवाडी संस्कृतिको प्रभाव बढिरहेको छ। उनीहरु लक्ष्मीभक्त हुन्छन् र साकाहारी पनि। उतैको सिको गरेर लक्ष्मीपूजाका दिन रंगोली बनाउने, लक्ष्मीको पाइलाको चित्र बनाउने जस्ता काम बढिरहेको छ। यो नेपाली संस्कृति हैन। यही सिको गर्दै जाँदा नेपालमा पनि साकाहारी लक्ष्मीको पूजा गर्ने चलन बढेको हुनसक्ने धौभडेलले बताए।

कतिपय संस्कृति आयातित पनि हुन्छन्। तर प्राथमिकता मौलिक संस्कृतिलाई दिनुपर्ने धौभडेल बताउँछन्। उनी भन्छन्, ‘मौलिकसँगै आयातित संस्कृति भित्र्याउनु राम्रो हो तर यसकै कारण आफ्ना मौलिक संस्कृति भुल्नु भने गलत हो।

तिहार भन्ने शब्द नै भारतको त्यौहारबाट आएको हो। नेवारहरु भने तिहार नभई स्वन्ति नखा भन्छन्। यो भनेको फूलको मौसम हो। 

मांसाहारी हुन् नेपाली लक्ष्मी
कतिपयमा भ्रम हुनसक्छ, दशैंमा पूजा गर्ने लक्ष्मी मांसाहारी र तिहारमा पूजा गर्ने लक्ष्मी शाकाहारी हुन्। तर तिहारमा पूजा गर्ने लक्ष्मी पनि मांसाहारी नै हुन्।

नेपालको तिहार दशैंसँग पनि जोडिएको छ। दशैंको पहिलो दिन ब्रम्हायणी देवको पूजा गरिसकेपछि नवौं दिन महालक्ष्मीको पूजा गरिन्छ। महालक्ष्मी भनेको दुर्गा हो। महिषासुर मार्ने लक्ष्मी हुन् उनी। त्यसको खुसीमा दसौं दिनमा विजयादशमी मनाउने हो। 

महालक्ष्मीको स्वरुप हेर्दा निकै भयंकर लाग्छ। नौ वटा टाउको भएकी, अठार हात भएकी, सिंहमाथि चढेकी, महिषासुरलाई त्रिशुलले घोपेकी, हेर्दै डरलाग्दी छिन्। उनै महालक्ष्मीलाई नै दशैंमा दुर्गा भनिएको हो।

महिषासुरको प्रतीक राँगो मानिन्छ। भक्तपुरमा दशैंको नवमीका दिन राँगोलाई बध गरिन्छ। धौभडेलले भने, ‘बध गर्ने राँगोलाई नेवारी भाषामा ख्वामे भनिन्छ।’ 

ख्वामेलाई बध गरिसकेपछि त्यसको साना–साना टुक्रा बनाइन्छ र सबैले ती टुक्रा आ-आफ्नो घरमा लैजान्छन्। घरमा त्यसलाई घाममा सुकाएर राख्छन् र लक्ष्मीपूजाको दिन बेलुकीको पूजा गर्दा त्यही राँगोको सुकुटी सल्काएर धुप बनाएर महालक्ष्मीलाई सुँघाउँछन्। 

यसरी हेर्दा हामीले लक्ष्मीपूजाको बेलुकी पूजा गर्ने लक्ष्मी मांसाहारी हुन्। उनलाई अण्डा चल्छ, रक्सी चल्छ, समयवजी पनि चल्छ। भारतीय वैदिक परम्पराभन्दा नेपालको लक्ष्मीपूजा यही कारणले फरक छ। 

नेपालमा हामी साकाहारी र मांसाहारी दुवै लक्ष्मीको पूजा गर्छौं। धौभडेलले भने, ‘लक्ष्मीपूजाकै दिन बिहान हामी गाईलाई लक्ष्मीको प्रतीक मानेर पूजा गर्छौं। गाई साकाहारी हुन्। उनलाई हामी वैदिक परम्परा अनुसार पूजा गर्छौं। गाईलाई अन्न, सागपात, फलफूल खुवाएर पूजा गर्छौं।

लक्ष्मीपूजाकै दिन बेलुका नेवारहरुले पूजा गर्ने महालक्ष्मी भने मांसाहारी हुन्। बेलुकाको पूजा तान्त्रिक विधिबाट गरिन्छ।

१८ कात्तिक, २०७८, १५:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।