सबैकाे साझा भएकाे वैश्यहरूको पर्व लक्ष्मी पूजा

सबैकाे साझा भएकाे वैश्यहरूको पर्व लक्ष्मी पूजा

कार्तिक कृष्ण औंसी तिहारको तेस्रो दिन हो। यो दिनलाई लक्ष्मी पूजा तथा गाई पूजाका नामले चिनिन्छ। आज कार्तिक कृष्ण अमावास्या पनि हो। यसै दिन गाईलाई लक्ष्मीको रूपमा पूजा गर्ने चलन छ। 

लक्ष्मी ऐश्वर्यकी प्रतीक मानिन्छिन्। त्यसैले लक्ष्मी पूजाको रातलाई सुखरात्रिका रूपमा समेत चिनिन्छ। विशेषगरी यो दिन लक्ष्मी पूजा गरेमा ऐश्वर्यकी प्रतीक लक्ष्मीको घरमा बास हुने जनविश्वास तथा धर्मशास्त्रीय मान्यता रहेको छ। 

लक्ष्मीको स्वरूप उज्यालो तथा धपक्क बलेको ‘जाजल्यमान’ हुन्छ। लक्ष्मी ऐश्वर्य तथा वैभवकी प्रतीक हुन्। उज्यालोकी प्रतीक हुन्। त्यसैले अमावास्या (औंसी) को दिन बत्ती बालेर जताततै उज्यालो बनाएर लक्ष्मीको पूजा तथा आराधना गर्ने गरिन्छ।

लक्ष्मीपूजा वैश्यको पर्व
धर्मशास्त्रीय मान्यताअनुसार लक्ष्मी पूजा विशेषतः वैश्यहरूको पर्व थियो। प्राचीनकालदेखि वैश्यहरूले लक्ष्मी पूजा तथा दीपावलीलाई विशेषरूपमा मनाउने गरेको पाइन्छ।  

धर्मशास्त्रीय ग्रन्थअनुसार ब्राह्मणको विशेष पर्व जनैपूर्णिमा हो भने क्षेत्रीय (क्षेत्री)को विशेष पर्व दशैं हो। त्यसैगरी शूद्रको विशेष पर्व होली रहेको कुरा पनि धर्मशास्त्रीय ग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ।

तर, हाल सबै जातजातिले सबैजसो पर्वहरू समान रूपमा मनाउँदै आएका छन्। धर्मशास्त्रीय मान्यताअनुसार अध्ययन–अध्यापन ब्राह्मणको कर्म, शस्त्र–अस्त्र तथा राजनीति क्षत्रियको कर्म र व्यापार–वाणिज्य वैश्यहरूको कर्म हो। 

विशेषगरी व्यापार तथा वाणिज्य पेशा अपनाउने वैश्यहरूले परम्परागत रूपमा धनसम्पत्तिकी देवीको पूजा गर्ने चलनबाट नै गरगहना तथा मणि–रत्नहरूको पूजा गर्ने चलनको सुरु भएको पाइन्छ।

धनको पूजा
लक्ष्मीपूजाको दिन धनसम्पत्ति, गरगहना, सुन–चाँदी, तामा, मणि–रत्न लगायतका बहुमूल्य सामाग्रीहरूको पूजा गर्ने चलनबाट नै लक्ष्मीपूजाका दिन ऐश्वर्यकी प्रतीक लक्ष्मीको पूजा गर्न थालिएको हो। 

लक्ष्मीको आदिभौतिक, आदिदैविक र आध्यात्मिक गरी तीनवटै रूपलाई उल्लासमय रूपमा प्रकट गर्ने उत्सव हो, लक्ष्मी पूजा। लक्ष्मीको आदिभौतिक रूपमा सुन, चाँदी, मणि–रत्नलगायतका धनसम्पत्ति पर्छन् भने लक्ष्मीको आदिभौतिक स्वरूप शोभा हो। 
त्यसैगरी आदिदैविक रूप भगवती पद्मा महालक्ष्मी हुन्। 

लक्ष्मीलाई भगवान विष्णुकी प्रिया (पत्नी)का रूपमा समेत चिनिन्छ। यो दिन घर लिपपोत तथा बडार–कुडार गरी वरिपरिको वातावरण सफासुग्घर बनाई जतातै झिलीमिली पारेर सजाइन्छ।

संस्कृत भाषाका 'कोष'हरूमा 'लक्ष्मी' र 'श्री' शब्दका शोभा, सम्पत्ति र पद्मा गरी तीन अर्थ मानिएका छन्। जसलाई यसरी भनिएको छ–
'शोभासंपत्तिपद्मासु लक्ष्मीःश्रीरिव कथ्यते।'

गौ उत्सव 
लक्ष्मी पूजाकै दिन गाईलाई पनि लक्ष्मीको प्रतीकका रूपमा पूजा गर्ने चलन छ। प्राचीन मान्यताअनुसार धेरै गाई हुने व्यक्तिलाई सम्पन्न तथा धनीमानी मानिन्थ्यो। 

सम्पत्तिको प्रतीकका रूपमा रहेका गाईलाई लक्ष्मीका रूपमा पूजा गरिनु स्वभाविक पनि हो। प्राचीन कालमा गौ पूजालाई उत्सवकै रूपमा गरिन्थ्यो। 

यो दिन लक्ष्मीका साथै कुबेरको पनि पूजा गरिन्छ। किनभने कुबेर धनका मालिक मानिन्छन्। कुबेरको जस्तै सम्पन्नता प्राप्त होस् भन्ने मान्यताले कुबेरको पनि पूजा गर्ने गरिएको हो। 

तेल लगाएर नुहाउने पर्व
कार्तिक कृष्ण औंसीका दिन बिहान तेल लगाएर नुहाउनु पर्ने शास्त्रीय विधान छ। लक्ष्मी पूजाका दिन बिहानै तेल लगाएर नुहाउने, देवता तथा पितृलाई तर्पण गर्ने दूध, दही, घ्यूलगायतका वस्तुहरूबाट पितृलाई उद्देश्य गरेर 'पार्वण' श्राद्ध गर्ने, अनेक किसिमका खाद्यान्नद्वारा ब्राह्मणहरूलाई तृप्त (खुशी) बनाउनुपर्ने धर्मशास्त्रीय विधान छ।

नाचगानको पर्व
प्राचीन कालमा राजाहरूले यो दिनलाई बलिको अधिपत्य सम्झँदै आनन्द मनाउनका लागि आफ्ना जनताहरूलाई निर्देश पनि गर्थे। 
यो दिन नाच गान गर्ने, विभिन्न बाजा बजाउने, नयाँ वस्त्र धारण गर्ने तथा गर–गहनामा सजिने परम्परा पनि रहेको देखिन्छ। 

त्यही परम्पराअनुसार देउसी भैलो खेल्ने चलन सुरु भएको हो भन्न सकिन्छ।

यसरी स्वर मच्चाएर बाजागाजाका साथ आफ्नो घरबाट 'अलक्ष्मी' वा 'दुर्गुण'लाई भगाउने परम्परागत मान्यता रहेको देखिन्छ। यो दिन लक्ष्मीलाई उद्देश्य गरेर विशेष किसिमका मिष्ठान्नहरू अर्पण गरिन्छ। 

(वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका सह–प्राध्यापक डा. खनालसँग उपेन्द्र खड्काले गरेको कुराकानीमा आधारित।)

१८ कात्तिक, २०७८, ०९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।