सरस्वतीसँगै लक्ष्मी पनि दाहिना भएका लेखक : १० वर्षमा ५ किताब, करोड बढी कमाई

सरस्वतीसँगै लक्ष्मी पनि दाहिना भएका लेखक : १० वर्षमा ५ किताब, करोड बढी कमाई
तस्बिर : कृष्पा श्रेष्ठ।

यसलाई पत्याउने हो भने साहित्यकार सुविन भट्टराई सरस्वती र लक्ष्मी दुवै दाहिना भएका 'भाग्यमानी' पात्र हुन्। उकेराले भट्टराईलाई लक्ष्मी र सरस्वती दुवै दाहिना भए है तपार्ईंको जीवनमा? भनेर सोधेको प्रश्नमा उनी एकछिन घोरिए। 

अनि भने- 'विद्याकी प्रतीक सरस्वती र धनकी प्रतीक लक्ष्मी हुन् के रे, दुवै सँगै बस्दैनन् पनि भनिन्छ। कति धन कति विद्या छ, मापन गर्ने आ–आफ्नो मापदण्ड छ। तर आजसम्म जे जति लक्ष्मी र सरस्वतीले साथ दिएका छन्, संतुष्ट छु।'

१० वर्षमा ५ किताब, करोड बढी कमाई
०६७ सालमा ‘कथाकी पात्र’बाट सुरु भएको हो सुविनको लेखन यात्रा। पहिलो किताब प्रकाशन गर्दा सुविनले कम्ता पापड बेल्नु परेन। 

प्रकाशक नभेट्दा 'पुस्तकै छापिन्न कि?' भनेर पनि नडराएका होइनन्। कसो कसो एउटा प्रकाशकले उनको किताब छाप्ने भए। 

किताब त छापियो तर बिक्री भएन। पहिलो प्रयासमा सरस्वतीले लक्ष्मी भित्र्याइनन्।

अन्य लेखकलाई जस्तै सुविनलाई पनि आफ्नो पुस्तकको रिभ्यू आइदिए हुन्थ्यो जस्तो लाग्थ्यो रे। पुस्तक रिभ्यू आइदिओस् भनेर एक सयभन्दा बढीलाई पुस्तकै बाडेछन् उनले। 

पत्रकारलाई खोज्दै चिन्दै 'म फलानो बुकको लेखक' भन्थे रे। 
'हरेक शनिबार अरू पुस्तकको रिभ्यू आउँथ्यो पत्रिकामा', सुविनले भने, 'पत्रिका किनेर ल्याउनेबित्तिकै रिभ्यू पेजमा गएर हेर्थें मेरो किताबको रिभ्यू आयो कि भनेर। तर केको आउँथ्यो। आउँदै आएन।'

रिभ्यू लेखाउन पार्टी दिनुपर्छ भनेर सुनाइदियो कसैले सुविनलाई। 

विभिन्न क्याम्पसमा पार्ट टाइम पढाएर ३५ हजार जम्मा गरेर पुस्तक प्रकाशन गरेका सुविनले पुस्तक रिभ्यूको पार्टी पनि त्यही पार्ट टाइमकै कमाईले गरे। 

तर अहँ रिभ्यू भने आएन। धेरै पटक असफल भएपछि हताश भए उनी। तर तर निराश भएनन्।

त्रिचन्द्रमा कसैको साहित्यक कार्यक्रम थियो। त्यो कार्यक्रममा पनि झोलाभरि पुस्तक बोकेर गए उनी। 

कसो–कसो उनी लेखक तथा पत्रकार विमल आचार्यको छेउमा बस्न पुगेछन्। सुविनले आचार्यलाई पुस्तक दिए। धेरैलाई पुस्तक दिएका सुविनले प्रतिक्रिया पाएका थिएनन्। 

तर आचार्यले कथा राम्रो मात्र भनेनन्, फाइनप्रिन्टले युवा लेखकबारे आचार्यसँग सुझाव माग्दा सुविनको नाम पनि सुनाइदिए। 

फाइनप्रिन्टले सुविनसँग सम्पर्क गर्योन। त्यतिबेला (२०६९)सम्म सुविनले ‘समर लभ’ लेखिसकेका थिए। 

फाइनप्रिन्टमा पठाए उनले। फाइनप्रिन्टले छाप्ने भयो उनको पुस्तक। 

फाइनप्रिन्टका अजित बराल, निरज भारीले ‘कथाकी पात्र’ पनि मन पराए। उनीहरुले भने- 'पहिले हामीले कथाकी पात्र भेटेको भए छाप्थ्यौँ।'

झोलाभरि किताब बोक्दै बाँड्दै हिँडेका सुविनलाई लेखक बनाएर चिनाउने पुस्तक बन्यो- समर लभ। 

यो पुस्तक युवाहरूमाझ लोकप्रिय भयो। किताबका पंत्तिहरू कण्ठ पारिन थालिए। सुविन एकाएक व्यस्त भए। 

मिडिया, फ्यानहरूलाई समय दिन हम्मेहम्मे पर्न थाल्यो। बिस्तारै उनी लेखकको रूपमा दरिन थाले। 

सरस्वतीसँगै अब लक्ष्मीले पनि साथ दिन थालिन्। 

२/३ वटा क्याम्पसमा पार्ट टाइम पढाउने सुविनले बिस्तारै कक्षा छोट्याउँदै गए। अब कलेजले ‘मोटिभेसनल स्पीकर’को रूपमा बोलाउन थाल्यो।  

निरन्तर युवापुस्तामा भिज्दै गए उनी। 'समर लभ' प्रकाशित भएको ३ वर्षपछि त्यसकै दोस्रो भाग 'साया' प्रकाशित गरे। 

यो पुस्तक बजारमा गएको केही दिनमै सकियो। नयाँ छापेर आउन डेढ महिना लाग्ने। पहिलो पुस्तक निकाल्दा झोलामा आफैं किताब बोकेर अग्रजलाई बाँड्दै हिडेका सुविन तेस्रो किताबसम्म आइपुग्दा 'तपाईंको किताब कहाँ पाइन्छ?' भनेर फोन आउने लेखक भइसकेका थिए।

'साया' उपन्यास बिक्री भएपछि न हो सुविनले लेखेरै जीवन निर्वाह गर्न सक्छु भनेर पढाउन छाडेको। 

उनको पाँचथरी पुस्तकको पाँच वटा पहिचान छ। 

'पहिलो किताबले कसरी बजारमा जाने भन्ने सिकायो। 'समर लभ'ले धेरै पाठकसम्म परिचित गरायो। 'साया' धेरै बिक्री भयो। 'मनसुन'ले धेरै पैसा कमायो। 'प्रिय सुफी'ले इमोशनल रेस्पोन्स पायो,' उनले भने, 'एक पछि अर्को किताबको राम्रो प्रतिक्रिया र आम्दानी बढ्न थालेपछि लेखेरै जीवन निर्वाह गर्न सकिन्छ भन्नेमा पुगेँ म।'

सुविनले ३ वर्षअघिसम्म मारुती कम्पनीको अल्टो गाडी चढ्थे। यो सेकेण्ड ह्याण्ड थियो। कमाई बढ्दै गयो। अहिले उनी रेनँ कम्पनीको क्वीड गाडी चढ्छन्। 

२२ लाखमा गाडी किनेका सुविनले लेखेरै कमाएको पैसा हो यो। 

सुविनले तराईतिर ५ कठ्ठा जग्गा पनि किनेका छन्। उनका अनुसार यो सबै उनले लेखेरै कमाएका हुन्। 

'जीवन निर्वाह कसरी गर्ने भन्ने हो। साधरण जीवन बाँच्नलाई गतिलो पुस्तक लेखियो भने जीवन निर्वाह गर्न सकिन्छ', उनले भने, 'पूरै हाईफाई जीवन जिउने हो भने त पुग्दैन।'
सुविनका बुवा सरकारी जागिरे। कपनमा उनका बुबाले घर बनाएकै थिए। एक दिदी एक दाजुका कान्छो भाइ सुविनलाई काठमाडौंमा घर बनाउनु पर्ने बाध्यता आइलागेन। 

तर उनले आफ्नो खर्च तिनै पाँच पुस्तकको रोयल्टीबाट जुटाएका छन्। उनका अनुसार प्रकाशकले १५ देखि २० प्रतिशतसम्म रोयल्टी दिन्छन्। उनका अनुसार घर खर्च यसैले चलेको छ। 

उनी चाडपर्व घरमै बुवाआमासँग बसेर मनाउँछन्। उनलाई चाडपर्व आउनु र नआउनुले कुनै प्रभाव पार्दैन रे। 

तिहारमा विशेष परिस्थितीबाहेक अन्य परिस्थितीमा सधैं सँगै हुन्छन् दिदीभाइ। 

साथी जस्तै दिदी

सुविन र उनकी दिदी सविना भट्टराईको उमेरको फरक जम्मा ३ वर्षको छ। सुविन विद्यालय तहमा पढ्दा दिदी विद्यालय पुर्यावइदिनेदेखि घरमै सँगै खेल्नेसम्मको साथी भइन्। 

सानोमा त सुविनले दिदीसँग झगडा परेको बेला ढुंगाले हानेर चोट पनि पुर्याबए। नयाँ कपडा दिदीलाई मात्र ल्याइदिँदा दिदीको कपडा कैँचीले काटिदिए पनि। 

तर कहिल्यै दिदीले हात फर्काइनन्। भाइलाई उस्तै माया गरिरहिन्। 

सुविनका अनुसार दिदी र भाइबीच तँ– तँको सम्बन्ध छ। 

'मैले दिदीलाई कहिल्यै औपचारिक सम्बोधन गरिनँ', सुविन भन्छन्, 'दिदी विवाह गरेर गइसकेपछि पनि दिदी विवाह गरेर टाढा भई जस्तो लाग्दैन। उ हाम्रै घरमा छे जस्तो लाग्छ।'
भाइ लेखक भएपछि दिदीले कस्तो प्रतिक्रिया दिनुभयो भन्ने उकेराको प्रश्नमा सुविनले खासै केही प्रतिक्रिया नपाएको बताए। 

'दिदीले मेरो सबै किताब पढ्नुहुन्छ तर राम्रो छ ठीक छ बाहेकका प्रतिक्रिया जनाउनुहुन्न। म सोध्दिनँ पनि', उनले भने, 'बाहिरी किताबबारे घण्टौं छलफल गर्ने हामी मेरै किताबबारे छलफल भने गर्दैनौं।'

सुविनको फेसबुकमा आउने प्रतिक्रियाले भने दिदी सविनालाई बिझाउने रहेछ। सुविनले सामाजिक सञ्जालमा केही पोष्ट गरे भने हजारौँ प्रतिक्रिया आउँछ। 

सबिनाले सो प्रतिक्रिया सबै पढ्ने रहिछन्। जब भाइलाई कसैले गाली गरेका कमेन्ट आउँछ तब भने उनलाई रिस उठ्ने रहेछ। 

'कमेन्ट हेरेर दिदीलाई धेरै रिस उठ्ने रहेछ। तँलाई यस्ले किन यस्तो लेख्यो? कस्तो मान्छे हो यो? भनेर सबै सोध्छे दिदीले',  सुविनले भने, 'मलाई नछुने प्रतिक्रियाले उसलाई छुन्छ। सायद दिदीको माया भनेको यही हो कि!'

१७ कात्तिक, २०७८, १५:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।