धनतेरसमा कृत्रिम हैन तेल तथा घ्यूको बत्ती बालौँ

धनतेरसमा कृत्रिम हैन तेल तथा घ्यूको बत्ती बालौँ

मङ्गलवार साँझबाट तिहारको पहिलो दिनको सुरुवात भएको छ। आज यमपञ्चकको पहिलो दिन हो। तिहार पाँच दिनसम्म चल्ने पर्व हो। कात्तिक कृष्ण त्रयोदशीका दिनबाट यमपञ्चक सुरु हुन्छ। तिहारको पहिलो दिनलाई धनतेरसका नामले पनि चिनिन्छ। यो तिहारको पहिलो दिन हो।

तिहारको पहिलो दिन (कात्तिक कृष्ण त्रयोदशीको दिन) को साँझमा घर–आँगन तथा ढोका सफा सुग्घर गर्नुपर्ने शास्त्रीय परम्परा छ। विभिन्न मठमन्दिर, कुवा, कुलेसो, पाटी–पौवा, घाट, गौशाला, अश्वशाला आदि स्थानमा सरसफाइ गरेर यो दिन साँझपख बत्ती बाल्ने चलन छ।

कात्तिक कृष्ण त्रयोदशीका दिन यसरी दीप दान गरेसँगै दीपावली सुरु हुन्छ। त्यसैले कात्तिक कृष्ण त्रयोदशीका दिन साफसफाई गर्ने तथा तेल, घ्यूबाट बलेका बत्तीको सुगन्धले रोगब्याधिजन्य कीटाणुहरू नास हुन्छन् भन्ने पौराणिक वचन रहेको छ।

सरसफाई गरेपछि दुर्गन्ध नास हुन्छ। त्यसमाथि पनि सुगन्धित तेल तथा घिउमा बत्ती बाल्दा वरिपरि भएका कीटाणुहरू नष्ट हुन्छन् जसले वातावरण प्रदूषित हुनबाट बच्छ भने स्थानीय वातावरण पनि सफा तथा सुन्दर हुन मद्दत मिल्छ।

यमदीपदान सम्बन्धी प्रसङ्गमा स्कन्द पुराणमा उल्लेखित निर्णय सिन्धुको यो वचन समसामयिक र सान्दर्भिक देखिन्छ–

‘कार्तिकस्यासिते पक्षे त्रयोदस्यां निशामुखे।

यमदीपं बहिर्दद्यादपमृत्युर्विनश्यति ।।’

यो श्लोकको अर्थ हो,–कात्तिक कृष्ण त्रयोदशीका दिन साँझको समयमा घरबाहिर तथा वरिपरि बत्ती बाल्नुपर्छ र यसरी बत्ती बाल्नाले अपमृत्यु नष्ट हुन्छ । यो स्कन्द पुराणको वचन हो।

साफसफाई गरेर सुगन्धित बत्ती बालेको अवस्थामा विभिन्न किसिमका रोग ब्याधिबाट बच्न सकिन्छ। रोग ब्याधिबाट बच्नु भनेकै यमका दूतबाट टाढा रहनू हो। जुन यस श्लोकबाट पनि पुष्टि हुन्छ।

पौराणिक मान्यता अनुसार झिलिमिली बत्ती बालेपछि यमराजका दूतहरूले मानिसलाई आक्रमण गर्न सक्दैनन्। यसरी बालिने बत्तीलाई यमदीपदान पनि भनिन्छ। यमराज भनेको मृत्युका देवता हुन्। त्यसैले यमराजले आक्रमण नगरे दीर्घायु हुने धार्मिक विश्वास रहेको छ।

आजकाल त मैनबत्ती तथा कृत्रिम किसिमका विद्युतीय बत्ती बाल्ने पनि चलन छ। यसरी कृत्रिम रूपमा तयार गरेर बालेका बत्तीले त प्राकृतिक सुगन्ध दिँदैनन्। त्यसैले प्राकृतिक किसिमको सुगन्धका लागि तेल तथा घ्यूको प्रयोग गरी बत्ती बाल्नुपर्ने हुन्छ।

कात्तिक कृष्ण त्रयोदशीमा धनवन्तरी जयन्ती पनि पर्छ। यो दिनलाई धनतेरस पनि भनिन्छ। त्यसैले कात्तिक त्रयोदशीका दिनलाई धनवन्तरीको जयन्तीको रूपमा मनाइन्छ। धनवन्तरी आयुर्वेदका ज्ञाता मानिन्छन्।

(वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका सह–प्राध्यापक डा. खनालसँग उपेन्द्र खड्काले गरेको कुराकानीमा आधारित।)

१६ कात्तिक, २०७८, २०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।