बिरामी घरको उपचार गर्ने 'स्किल सेवा'

बिरामी घरको उपचार गर्ने 'स्किल सेवा'

काठमाडौः मान्छे बिरामी हुँदा उपचार गर्ने अस्पतालहरू काठमाडौंका गल्ली गल्लीमा छन्। लाखौं तिरेर किनेको मोटर बिग्रँदा पनि बनाउने वर्कसप जताततै छन्। तर जीवनभरको कमाई हालेर बनाएको घर बिरामी पर्याे भने चाहिँ बनाउने मान्छे भेट्नै मुस्किल। 

बल्लतल्ल भेटेको मिस्त्रीले पनि अत्याधिक 'चार्ज' लिन्छन्। तर कामको ग्यारेण्टी हुँदैन। 

अब के गर्ने त? काठमाडौंमा घर नै नबनाउने? त्यसो पनि गर्न सकिँदैन। 

रमेश तिमल्सिना, महेश तिमल्सिना र रामशरण विक्रम थापाले एउटा उपाय चाहिँ ल्याएका छन्। उपाय हो- 'स्किल सेवा'। 

के हो स्किल सेवा ?
स्किल सेवा नेपालको पहिलो स्टार्टअप हो- जसले घरमा हुने समस्याको समाधान गर्छ। सिपेज अर्थात् पानी चुहिने। क्र्याक अर्थात् चर्केको। रङ्ग उप्कने जस्ता समस्याको हल हो स्किल सेवा।

सञ्चालकमध्येका एक रमेश तिमल्सिनाको भनाइलाई आधार मान्ने हो भने, हल मात्र होइन, 'ग्यारेण्टेड' हल हो स्किल सेवा। स्किल सेवाले जिम्मा लिएर सम्पन्न गरेको काममा ५ वर्षको वारेन्टी समेत दिने गरेको छ। 

'स्किल सेवा सुरु भएदेखि हालसम्म १० हजारभन्दा धेरै समस्या समाधान गरिसकेका छौं। हामी त ८० प्रतिशत मात्रै सफल होऔंला भन्ने सोचेका थियौं। तर ९९ प्रतिशत सफल भएका छौं', रमेशले भने। 

कसरी जन्मियो स्किल सेवा ?
तीनै जना सञ्चालक ईन्जिनियरिङका विद्यार्थी। त्यसमा पनि रमेश सिभिल र मेकानिकल दुवै पढेका। 

मेकानिकल ईन्जिनियरिङ पढ्दा गाडी मर्मत पनि पढ्नै पर्थ्यो। त्यही बेला उनलाई लाग्थ्यो- 'एक करोडभन्दा कममा पाइने गाडीको लागि भने चोक चोकमा सर्भिस सेन्टर छन्, तर जीवनभरको कमाई र भावना जोडिएको घरमा समस्या आयो भने चाहिँ कसले बनाउने?’

उनलाई लाग्थ्यो- यस्तो कामको लागि त ब्राण्डेड कम्पनी चाहिन्छ। यही सोच नै पछि स्किल सेवाको रूपमा स्थापना भएको हो। 

'ईन्जिनियरिङपछि नेपालमै केही गर्न सकिन्छ कि भन्ने थियो। परीक्षापछि ग्याप भयो भने केही गर्न सकिँदैन भनेर परीक्षा दिएको भोलिपल्टै यो व्यवसाय सुरु गरेका हौँ', रमेश भन्छन्, 'तयारी केही समयअघिबाटै थियो। बुद्धनगरमा एक जनाको स्टोरबाट काम सुरु गरियो।'

तीन वर्ष भयो स्किल सेव जन्मिएको। योबीचमा जागिरको 'अफर' पनि आयो उनीहरूलाई। तर नेपालमै नयाँ सोच र मेहनतले सफल भइन्छ भन्दै सबै अफर नकार्दै बसे। 

एक लाखभन्दा कम लगानी
स्किल सेवाको स्थापना एक लाखभन्दा पनि कममा भयो। किनकी अफिस स्पेसका लागि खर्च गर्नु परेन। चिनेकै मान्छेको अफिसलाई कार्यथलो बनाए। भएको लगानी तीनै जना मिलेर जुटाए।

सुरुमा त स्किल सेवाले के सेवा दिने भन्ने पनि अन्यौल थियो। पछि रिपेयरिङको क्षेत्रमा काम गर्ने टुङ्गो लगाए। 

कम्पनी स्थापना भयो। काम सुरु भयो। तर केही समयमै उनीहरूलाई पैसाको समस्या पर्यो । व्यवसाय सुरु गरेको पहिलो ६ महिनामा कयौं पटक 'अब सकिन्न' भन्ने पनि सोचे।

'हामी काम गर्थ्यौं, तर जहिल्यै घाटा', उनी भन्छन्, 'सुरु सुरुमा हामी ट्याक्सको कुरा त्यति बुझ्दैनथ्यौं। ५० हजारको काम गर्दा ट्याक्स नै १५ प्रतिशत काटेर आउने।' 

कलेजमा प्राविधिक ज्ञान मात्रै दिने भएकाले समाजका समस्यासँग परिचित हुनै समय लाग्ने उनको बुझाइ छ। नेपालमा 'स्टार्टप गर्छु' भनेर लाग्दा कसैले विश्वास नगर्दा पनि आफूहरूलाई समस्या भएको उनले बताए। 

कसो अरूकै अफिसबाट काम सुरु गरेकाले कठिन समय पनि पार गरेको उनको बुझाइ छ। 

क्यानले दिएको ऊर्जा
व्यवसाय त सुरु भयो। तर क्लाइन्ट भेट्नै मुस्किल। भेटिएका क्लाइन्टले पत्याउनै नखोज्ने। 

यत्तिकैमा उनीहरूले सुने- 'राजधानीमा क्यान इन्फोटेक हुँदै छ, डेढ लाख मानिस सहभागी हुन्छन्' भनेर।

क्यानको मेलापछि नै आफूहरू ऊर्जावान भएको उनीहरूको भनाइ छ। रमेश भन्छन्, 'क्यानको मेलापछि हामीले बैंकबाट ऋण नै लिएर काम गर्न सक्छौं भन्ने हौसला जाग्यो। ऋण लिएर भारतको विभिन्न शहर पुगेर आवश्यक पर्ने सामान ल्यायौं।' 

उनीहरू यति ऊर्जावान भएका थिए कि मेला सकिएकै भोलिपल्ट भारत गएका थिए। सबैलाई जस्तो कोरोनाले उनीहरूलाई पनि समस्या पार्याे। तर हार मानेनन्। 

गर्दै जाँदा अहिले तीन जनाको कम्पनीमा नौ जना त घरमा भएको समस्या पत्ता लगाउनेहरू मात्रै छन्। झण्डै दुई सय कामदार छन्। 

उनीहरू यति छिटै यत्रो क्लाइन्टको साथ पाउनुमा भने एउटा कारण छ। उनीहरूले सेवा दिनुअगावै क्लाइन्टलाई कहाँ समस्या छ, कति खर्च लाग्छ भनेर रिपोर्ट नै दिने गरेका छन्। त्यसपछि क्लाइन्टसँग सम्झौता गर्छन्। अनि ५ वर्षको वारेन्टीसहितको सेवा दिन्छन्।

स्किल सेवाले विज्ञ ईन्जिनियर अथवा 'होम इन्पेक्टर'बाट समस्याको कारण पत्ता लगाई त्यसलाई आधुनिक प्रविधिबाट समाधान गर्छ।  

'अहिले २ करोडको घर बनाउँदा एक जना ईन्जिनियरको काम ४०–५० हजारको मात्र हुन्छ। बाँकी सबै काम लेबरले गर्छन्। अधिकांश पैसा त सिक्दै गरेका मानिसले लैजान्छन्', रमेशले भने। 

स्किल सेवाले कमाउँछ कसरी ?
स्किल सेवा सेवामूलक कम्पनी हो। यसले विभिन्न शीर्षकमा सेवा दिन्छ। शीर्षकअनुसार 'चार्ज' गर्छ। 

स्किल सेवाको शुल्क पनि धेरै महँगो छैन। घर निरीक्षण गरेको दुई हजार, पूरा घर हेर्नु पर्यो भने १५ हजार लिन्छन् उनीहरू। कसैको घर किन्नका लागि पूरै निरीक्षण गर्न पर्यो भने चाहिँ २० हजार लिने गरेका छन्।

'पहिले मान्छेको अनुहार हेरेर कामको पैसा लिने गरिन्थ्यो। हामी भने रिपोर्ट बनाएर नै निश्चित लागत लिने गरेका छौं', उनले भने। 

१५ कात्तिक, २०७८, १०:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।