तिब्बती शरणार्थी टासी छिरिङले भने' दुङाल’ मेरै आत्मकथा जस्तै लाग्यो'

तिब्बती शरणार्थी टासी छिरिङले भने' दुङाल’ मेरै आत्मकथा जस्तै लाग्यो'

काठमाडौँ : आफ्नो देश छाडेर नेपालमा बस्दै आएका तिब्बती शरणार्थी टासी छिरिङले जब ‘दुङाल’ पुस्तक पढे उनलाई आफ्नै आत्मकथा लेखिदिएझैँ लाग्यो। उनी देश विहीन भएर नेपालमा बस्दै आएका छन्।

मालिका केशरीको उपन्यास ‘दुङाल’बारे शुक्रवार आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले भने' तिब्बती शरणार्थीले समस्या मात्रै होइन, ज्ञान र सिप पनि पुस्तकमा लेखेको पढ्दा खुसी लाग्यो। हाम्रो समस्यालाई न्यूनतम मानवअधिकारको दृष्टिले हेरियोस् भनेर उपन्यासले बोलेकोमा खुसी लागेको छ।’

साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तर संवादमा बोल्दै इतिहासकार एवं संस्कृतिविद् रमेश ढुङ्गेलले उपन्यास ‘दुङाल’ले सुस्ताएको राजनीतिक, सांस्कृतिक र संवेदनशील मुद्दालाई साहित्यमार्फत उजिल्याएको टिप्पणी गरेका थिए।

‘अरू साहित्यमा अक्सर नभेटिने कथालाई प्रस्तुत गर्दै उपन्यासले शरणार्थीको नाममा हुने अन्तर्राष्ट्रिय राजनीतिप्रति पनि व्यङ्ग्य गरेको छ,’ उनले भने' यो अङ्ग्रेजी र तिब्बती भाषामा अनुवाद भए अझ यसको महत्त्व बढ्ने थियो।'

राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व आयुक्त एवं अधिकारकर्मी मोहना अन्सारीले ‘दुङाल’मा शरणार्थीहरूले कसरी जीवन सङ्घर्ष गरिरहेका छन् भन्ने यथार्थ चित्रण आएको बताइन्। उपन्यासले महिला र पुरुषलाई हेर्ने समाजको द्वैध दृष्टिकोणका साथै शरणार्थीका धेरै विषय समेटिएको उनको टिप्पणी थियो।

वरिष्ठ सञ्चारकर्मी एवं समीक्षक राजकुमार बानियाँले ‘दुङाल’ले शरणार्थीको मुद्दालाई वैश्विक दृष्टिकोणबाट उठाएको बताएका थिए।

‘यो उपन्यासमा अवास्तविक वास्तविकता छ। यसले नेपाली शब्द भण्डारमा ‘दुङाल’ जस्तो नयाँ शब्द दिएको छ,' उनले भने 'यो करुणाको मसीले लेखिएको सुन्दर उपन्यास हो।’

१२ कात्तिक, २०७८, १९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।