पाल्चाले धानेको जीवन (फोटो-फिचर)

पाल्चाले धानेको जीवन (फोटो-फिचर)
तस्बिर : कृष्पा श्रेष्ठ

भक्तपुर : टाउकोमा गम्सा गुथेर धोक्रोको मुख खोल्दै गरेकी यी महिला भक्तपुर बोल्चाटोलकी हुन्। माटोबाट बनेका पाल्चा धोक्रोमा राखेर बजार पठाउने तयारीमा छिन् उनी। उनको दैनिकी यसैगरी बित्ने गर्छ।

यिनी मात्र होइन, भक्तपुर, बोल्चा टोलका धेरै बासिन्दा पाल्चा बिक्री गरेर जीवन निर्वाह गर्दै आएका छन्।

अरुले धोक्रोमा धान ओसारिरहँदा यहाँका स्थानीय भने धान फल्ने खेतको माटोबाट पाल्चा बनाएर नगद भित्र्याइरहेका छन्।

कालो माटोबाट बनाइएको पाल्चा घाममा सुकाइएका छन्। घामको ताप पाएका पाल्चामा विभिन्न रङ लगाएर चिटिक्क पारिन्छ। अनि घाममा सुकाएर बिक्री गरिन्छ।

भक्तपुरको बोल्चा टोलमा यतिवेला पाल्चा बनाउनेलाई भ्याइनभ्याइ छ। उज्यालो पर्वको रुपमा लिइने तिहारका लागि माटोको पाल्चा बनाउन बोल्चाका स्थानीय व्यस्त छन्।

नयाँ पुस्तामा यो पाल्चाको आकर्षण छैन। तर पुरानो पुस्ता भने सोधीखोजी गर्दै किन्न आउने गरेको स्थानीय सहदेव प्रजापतीले बताए।

पाल्चाको साइज हेरेर मूल्य निर्धारण हुने गरेको छ। एउटा पाल्चाको ५ रुपैयाँदेखि २५ रुपैयाँसम्म पर्छ। भक्तपुरको यो ठाउँमा वर्षौदेखि पाल्चा बनाउने काम हुँदै आएको छ। बोल्चा टोलका सबै जनाले पाल्चा बनाउने पेस नै अँगालेका छन्।

१२ कात्तिक, २०७८, १७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।