‘अर्ग्यानिक’ चेतकुमारीको ४८ वर्षको साधना : उनी चित्र कोर्दै जान्छिन्, भगवान् कुरा गर्दै बस्छन्

‘अर्ग्यानिक’ चेतकुमारीको ४८ वर्षको साधना :  उनी चित्र कोर्दै जान्छिन्, भगवान् कुरा गर्दै बस्छन्

काठमाडौँ : बायाँ तिर रङ्गको बाकस। कोठा भरि भर्खरै बनाएर सुकाइएका लक्ष्मीको चित्र। हिजोआज दिनभरि त्यही रङ्ग र कुची लिएर कागजमा मग्न हुन्छिन् ६८ वर्षिया भक्तपुरकी चेतकुमारी चित्रकार। 

बिस्तारै कागजमा भगवानका आकारहरू आउन थाल्छन्। कहिले गणेश, कहिले नाग कहिले के। नजिकै रहेको रङ्गको बासकमा ब्रस चोप्दै बिस्तारै ती आकृतिलाई रंग्याउँछिन् उनी। उनले चलाउने रङ्ग बजारु हैनन्। आफैँले घरमा प्राकृतिक रूपमा बनाएका रङ्ग मात्रै प्रयोग गर्छिन् उनले। 

जब रगं भर्न सकिन्छ। उनी आफैँले कोरेको चित्र हेरेर मग्न हुन्छिन्। उकेराकर्मी बुधवार उनको घरमा पुग्दा उनी मनमा रहेकी लक्ष्मी भगवानलाई कागजमा उतार्न मग्न थिइन्।

यसरी मनमा रहेका भगवानलाई ब्रस र कलमको सहयोगमा कागजमा उतार्न थालेको ४८ वर्ष भइसक्यो उनले। उनमा यो सिप पुस्ताबाटै हस्तान्तरण भएर आएको हो। बजार अहिले पोस्टरको कब्जामा पुगिसक्यो। तर उनी सिप नहराओस् भनेर अहिले पनि भगवानको आकृति अर्ग्यानिक सिप प्रयोग गरेर कागजमा उतारिइरहेकी छिन्। 

‘हामी चित्रकारहरू पहिलेदेखि नै चित्र बनाउने रहेछौँ,’उनले उकेरासँग भनिन्‘यो कामलाई मैले निरन्तरता दिइरहेकी छु।’

२०१० सालमा काभ्रे जिल्लाको मगंलटारमा जन्मेकी उनको विवाह भक्तपुरको पूर्ण चित्रकारसँग भयो। उनका श्रीमान्का पुस्तयौँनी पेसा नै चित्र बनाउने। विवाह भएपछि उनको हात पनि बस्न थाल्यो भगवान् कोर्न। 

उनका ससुरा कान्छा चित्रकार जिउँदो छउन्जेल घरमा सबैको एकै काम हुन्थ्यो चित्र बनाउने। माइतीमा छँदा चित्रमा उनको हात बसेको थिएन। ससुरा कान्छा चित्रकार नै उनको गुरु हुन्। 

‘घरका सबैले चित्र बनाउँथे। चित्र कसरी बनाउनु भएको होला भनेर हेर्थे,’ उनले भनिन्,‘मैले बनाउन खोज्दा हात काम्थ्यो। रङ्ग गलत ठाउँमा लाग्छ की भनेर डर पनि लाग्थ्यो।’

विवाह पछि उनको ससुरा ४ वर्ष मात्रै बाँचे।  मृत्यु अगाडि ससुराले उनको हातमा पुस्तैनी सिप सारिसकेका थिए। 

जीवनका आखिरी दिनमा ससुराले चेतकुमारीलाई भने, ‘म मरे पनि नछोड्नु है चित्र बनाउन।’ चेतकुमारीलाई कहिलेकाहीँ चित्र नबनाऊँ के रे भन्ने नलाग्ने हैन । तर ससुराको त्यही आग्रह सम्झिन्छिन् अनि मनै मान्दैन उनको। त्यसैले त ६८ वर्षको उमेरमा पनि उनको हात कुचीमै रमाइरहेको छ। रङमै खेलिरहेको छ। उनका श्रीमान् पनि चित्र बनाइरहन्छन्। एक किसिमको साधना देखियो उनीहरूमा। 

‘म यसरी काम गरेर बस्दा भगवान् बोलिरहेको जस्तो लाग्छ,’चेतकुमारीले भनिन्, ‘भगवानले सिकाएको हो जस्तो लाग्छ। चित्र बनाउन थालेपछि भगवान् आएर मेरै छेउमा बसे जस्तै लाग्छ।’

उनले चित्र बनाउँदा कतिपय रङ्ग समेत घरमै बनाउँछिन्। हरियो रङ्ग बनाउँदा सिमीको कलिलो पात, गोलभेँडाको पात र पाउडर मिसाएर बनाउँछिन्। अन्य रङ्ग बनाउँदा समेत घरेलु सामाग्रीकै प्रयोग गर्ने गरेको उनले खुलाइन्।

तिहार आयो। अहिले चेतकुमारी लक्ष्मीका चित्र बनाइरहेकी छिन्। पुस्तौनी सिप भएकाले उनले बनाउने भगवानका चित्र खाट्टी नेपाली पाराका छन्। पसलमा प्रेसमा छापिएका भगवानका चित्रमा बानी परेकाहरूले उनका हातले कोरेका भगवानका चित्रहरू नचिन्न पनि सक्छन्। तर आफ्नै मौलिकता झल्किन्छन् उनका ,चित्रमा। 

चेतकुमारीलाई पनि बजारमा पाइने भगवानका ‘पोस्टर’ त्यति मन पर्दैन रे। पोस्टरमा लक्ष्मीको भावै नझल्किने बताइन् उनले। 

‘अहिले लक्ष्मीका पोस्टरमा माला लगाइदिएको, शृङ्गार गरिदिएको मात्रै हुन्छ,’ उनले भनिन्, ‘लक्ष्मीको वाहन सहितको चित्रै पाइँदैन। त्यो चित्र त अपूरो भयो नि ।’

उनको चित्रमा भने लक्ष्मीसँगै उनको वाहन कछुवा अनि धन सुरक्षा गर्ने कुबेरसम्म हुन्छन्। 

भाइटिकाको दिन पूजा गर्ने चित्र पनि कोर्छिन् उनी।  चेतकुमारीले बनाएको चित्रमा भाइलाई लिन यमराज आइपुगेपछि यमुनाले भाइलाई भाइ टिका लगाइदिएपछि मात्रै लैजान सुझाउँछिन्। 

दिदी र भाइ टिका लगाइदिन बसेको, तेलको रेखी, ओखर फुटाएको, मखमलीको माला लगाइदिएको चित्र कोरिरहेकी थिइन् उनी। 

‘यमराज भाइलाई लिन आएपछि बिमिराको बास्ना नगएसम्म, तेलको रेखी नसुकेसम्म, ओखरका बोक्रा नभिजिन्जेलसम्म, मखमली फूलको माला नखुलिएसम्म नलैजाऊ भन्छिन्,’ उनले भनिन्, ‘मैले बनाएको यो चित्रले यही भाव बोल्छ।’

पुस्त्यौँनी पेसा लोप हुने डर

चेतकुमारीले नाग पञ्चमीदेखि सरस्वती पूजासम्मका चित्र बनाउँछिन्। उनका श्रीमान् पनि देवीका ठुला–ठुला चित्र बनाउँछन्। यही पेसाले चल्थ्यो उनीहरूको गुजारा।

तर अहिले बजार फेरियो। ग्राहक घटे। उनका छोराछोरी अनि नातिनातिनाले सिकेका छैनन् चित्र बनाउन। त्यसैले त  चेतकुमारीलाई चिन्ता लागिरहन्छ पुस्त्यौनी पेसा लोप हुने भयो भनेर।

‘हाम्रा सन्तानले चित्र बनाउन सिकेनन्। बजारमा हाम्रा चित्र पनि कम विक्री हुन थाले,’ उनले भनिन्, ‘बजारले गर्दा र अहिलेका पुस्ताले नसिक्दा हाम्रो पुस्त्यौनी पेसा नै लोप हुन्छ की भन्ने डर लाग्छ मलाई त।’

पहिले–पहिले चेतकुमारीले नाग पञ्चमीको बेला मात्रै ५०-६० हजार कमाउँथिन्। अन्य बेला पनि राम्रै आम्दानी हुन्थ्यो। त्यो बेला २ रुपैयाँको दरले बेचिन्थ्यो नागको चित्र। अहिले चित्रको मूल्य बढेर २० रुपैयाँ पुग्यो तर आम्दानी ५ सय पनि नकटेको बताउँछिन् उनी। 

‘नाग पञ्चमीमा चित्र बनाएर पसलमा राख्न दिएकी थिएँ,’ उनले भनिन्, ‘एक किलो प्याज मात्रै पो आयो। आफैँ सोच्नुस् त हाम्रो बजार के भयो?’ पहिले पहिले ४ सय देखि ५ सय सम्म पोस्टर विक्री हुन्थे एउटा पर्वमा। नाग पञ्चमी, गाई जात्रा, नव दुर्गा, लक्ष्मी सरस्वती पूजामा अहिले भने सय नाघ्न गाह्रो छ।’ 

१० कात्तिक, २०७८, २१:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।