चिकित्सकको सुझाव : संक्रमण न्यून भएको ठाउँमा विद्यालय खोल्न सकिन्छ

चिकित्सकको सुझाव : संक्रमण न्यून भएको ठाउँमा विद्यालय खोल्न सकिन्छ

काठमाडौंः संक्रमण न्यून भएको क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय खोल्न सकिने सुझाव चिकित्सकहरुले दिएका छन्।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संयोजक डा. शेरबहादुर पुनले धेरै क्षेत्र खुला भएकाले राम्रो व्यवस्थापन अपनाएर विद्यालय खोल्न सकिने सुझाव दिएका छन्। उनी भन्छन्, ‘धेरै जना विद्यार्थी जम्मा हुन्छन्। त्यसैले होसियारीपूर्वक व्यवस्थापन गरेर संक्रमण न्यून भएको ठाउँमा विद्यालय खोल्न सकिन्छ।’

अभिभावक तथा शिक्षकहरुले पनि खोप लगाउनुपर्ने उनको सुझाव छ। जसले गर्दा बालबालिका पनि सुरक्षित हुने देखिन्छ। नेपालमा हालसम्म २२.३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।

कोरोना भाइरस संक्रमण शून्य अवस्थामा तत्काल नजाने देखिएकाले जनस्वास्थ्यका मापदण्डमा निक्कै ध्यान दिएर विद्यालय खोल्न सकिने डा. पुन बताउँछन्। केही हप्ताको तुलनामा अहिले नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था कम हुँदै गएको देखिन्छ। 

संक्रमणका कारण बालबालिकाको मृत्युदर कम भए पनि जोखिम भने रहेको चिकित्सकको मत छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हालसम्म ३७ जना २० वर्षभन्दा कम उमेर समूहका बालबालिकाको संक्रमणका कारण मृत्यु भएको छ। 

हुन त काठमाडौं उपत्यकाको कुरा गर्ने हो भने कोरोना भाइरस संक्रमणको ‘रेड जोन’ मा नै छ। 

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सक्रिय संक्रमित पाँच सयभन्दा बढी छन्। पाँच सयभन्दा बढी सक्रय संक्रमित भएका जिल्लालाई संक्रमणका ‘रेड जोन’ मानिएको छ। काठमाडौं जिल्लामा अझै सक्रिय संक्रमितको संख्या १३ सय छ। त्यसैगरी भक्तपुरमा पाँच सय ३९ र ललितपुरमा पाँच सय ८० छन्। 

त्यसैले चिकित्सकहरुले कोरोना भाइरस संक्रमणको अवस्था हेरेर जोखिम न्यून भएको क्षेत्रमा मात्रै विद्यालय खोल्न सकिने बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा. कृष्णप्रसाद पौडेलले संक्रमणको जोखिम बढी भएको र अस्पतालमा संक्रमितले बेड पनि भरिएको क्षेत्रमा विद्यालय खोल्न नहुने सुझाव दिएका छन्। 

संक्रमणको अवस्था हेरेर पालिकाहरुले निर्णय लिनसक्ने उनी बताउँछन्। तर संक्रमितको संख्या न्यून र अस्पतालमा संक्रमित नभएर बेड पनि खाली छन् भने त्यस्तो क्षेत्रको विद्यालय खोल्न सकिने डा. पौडेलले बताए।

‘जहाँ संक्रमणको जोखिम बढी छ, बेड खाली कम छ ती सबै स्थानमा स्थानीय पालिकाले आवश्यक निर्णय गर्ने भन्ने छ,’ उनले भने, ‘पोजेटिभ केस धेरै नभएका, अस्पतालहरुमा पनि बेड छ, संक्रमण, मृत्युदर कम छ भने त्यहाँ खोल्न मिल्यो।’ सबै ठाउँमा एउटै मापदण्ड भने नहुन सक्ने उनले बताए।

प्रवक्ता डा. पौडेलले विद्यालय खोल्दा शिक्षा मन्त्रालयले जारी गरेको ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७’ पालना हुनुपर्ने सुझाव दिएका छन्। उनले भने, ‘विद्यालय खुल्दा शिक्षा मन्त्रालयको २०७७ को कात्तिकमा निकालेको गाइडलाइन छ। कोभिड–१९ महामारीमा विद्यालय सञ्चालन मापदण्ड छ।’

यो मापदण्डको अलावा विद्यालय खुलेपछि कहाँ, कसरी कोरोना भाइरस परीक्षण गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयले मापदण्ड बनाएको उनले जानकारी दिए। उनले भने, ‘यसमा थप्नुपर्ने चाहिँ कहाँ टेष्ट गर्ने कसरी व्यस्थापन गर्ने विद्यालय खुलेपछि मात्र हो। त्यो स्वास्थ्यले बनाएको छ।’

स्थानीय तहले सबै कक्षा सञ्चालन गर्ने, अलग–अलग सिफ्टमा सञ्चालन गर्ने, आंशिक कक्षाहरु सञ्चालन गर्ने लगायतको निर्णय लिनसक्ने व्यवस्था छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालय सञ्चालनका सम्बन्धमा स्थानीय तहलाई नै जिम्मा दिइएको जनाएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी विद्यालय सञ्चालन सम्बन्धमा तत्काल कुनै निर्णय नभएको र स्थानीय तहलाई जिम्मा दिइएको बताउँछन्। उनी भन्छन्, ‘स्थानीय तहलाई जिम्मा दिइएको छ। स्थानीय तहलाई अवस्था अनुसार निर्णय गर्नसक्ने अधिकार दिइएको छ। स्थानीय तहले जोखिम हेरेर निर्णय गर्नसक्ने भन्ने भएको छ।’

१० कात्तिक, २०७८, १८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।