निषेधाज्ञामा सभा-सम्मेलन गरेर काठमाडौँ महानगरले सिध्यायो ५६ लाख ७८ हजार रुपैयाँ

निषेधाज्ञामा सभा-सम्मेलन गरेर काठमाडौँ महानगरले सिध्यायो ५६ लाख ७८ हजार रुपैयाँ

काठमाडौंः कोरोना महामारीका कारण गत वर्ष काठमाडौं उपत्यकामा झन्डै बाह्रै महिना निषेधाज्ञा लगाइयो। भीडभाड तथा सभा-सम्मेलन नगर्न प्रशासनले उर्दी नै जारी गर्यो।

तर, काठमाडौं महानगरपालिकाले भने निषेधाज्ञाकै बीचमा सभा-सम्मेलनका लागि आधा करोड रुपैयाँ खर्च गरेको पाइएको छ।

काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षमा ५६ लाख ७८ हजार रुपैयाँ सभा-सम्मेलनमा खर्च गरेको छ। महानगरले सभा-सम्मेलनको लागि भनेर विनियोजन गरेको ९४.६४ प्रतिशत बजेट खर्च गरेको छ।

महानगरले कोरोनाकै बीच सिप विकास तथा जनचेतना तालिम तथा गोष्ठीको लागि २ करोड ७ लाख ६५ हजार खर्च गरेको पाइएको छ। यस्तै कार्यक्रम खर्च अन्तर्गत १० करोड ३३ लाख ५४ हजार खर्च गरेको छ।

महानगरले सभा सञ्चालनका लागि छुट्याएको अधिकांश बजेट चिया, कफी, खाजा र खानामा खर्च गरेको देखिन्छ।

महानगरले उकेरालाई उपलब्ध गराएको विवरण अनुसार गत आर्थिक वर्षमा जलपानमा मात्र साढे एक लाख रुपैयाँ खर्च गरेको छ। विभिन्न विभागले जलपान गरेको भन्दै सभाको रकम खर्च गरिएको देखिन्छ। तर कुन विषयमा कुन मितिमा कति जना सहभागी भएका थिए भन्ने विषयमा महानगरले उल्लेख गरेको छैन।

महानगरले विभागको नाम उल्लेख गर्दै कम्तीमा पाँच हजारदेखि बढीमा १६ हजारसम्म जलपानमा खर्च भएको रकम भुक्तानी गरिएको उल्लेख गरेको छ। उक्त विवरणमा एउटा बैठकको खर्च मात्रै २ लाखभन्दा धेरै देखिएको छ।

नगर सभाको आठौं अधिवेशनको प्रथम बैठकमा दुई लाख ३७ हजार तीन रुपैयाँको चिया, कफी, कुकिज तथा खाजा खाएको उल्लेख गरिएको छ। उक्त अधिवेशन गत पुस २७ गते भएको देखिन्छ।

गएको वैशाख ५ गतेको तेस्रो त्रैमासिक समीक्षा बैठकमा महानगरले दुई लाख १९ हजार २२० खर्च गरेको छ। बैठकमा सहभागीहरुलाई बिहानको चिया, कफी तथा दिउँसोको खाजा खुवाउन उक्त रकम खर्च गरिएको उल्लेख गरेको छ।

महानगरले छलफल, बैठकका कार्यक्रममा भन्दा पनि खाजा, खाना र नास्तामा बजेट खर्च गर्ने गरेको पाइयो। महानगरले गत चैत २५ गते सभा सञ्चालन खर्च भन्दै भौचर नम्बर १०९७ र १०९८ मा क्रमश: तीन लाख ३९ हजार र दुई लाख ५९ हजार ९ सय भुक्तानी गरेको उल्लेख गरेको छ। तर के कार्यक्रम गरेको वा केमा खर्च भएको उक्त विवरणमा खुलाइएको छैन।

यस्तै गत असार २० गते नगर सभाको पाँचौ बैठकमा तीन लाख ७२ हजार ९ सय खर्च गरिएको छ। बैठकमा सहभागीहरुलाई चिया, कफी तथा खानाको लागि उक्त रकम खर्च भएको देखिन्छ।

सोही मितिमा बजेट छलफल कार्यक्रममा खाजा उपलब्ध गराएको भन्दै सोल्टी होटेललाई ३ लाख ८१ हजार ६०१ रुपैयाँ महानगरले भुक्तानी गरेको छ। एउटै मितिमा महानगरले बैठकमा मात्र सात लाख ५४ हजार ५०१ खर्च गरेको देखिन्छ।

यसैगरी, गत जेठ ३२ गते लकडाउनकै समयमा बसेको नगर सभाको बैठकमा सहभागीहरुले ९० हजारको खाजा खाएको उल्लेख छ।

महानगरले जेठ ३२ गते बसेको ६२औं नगर सभाको बैठकमा खाजा उपलब्ध गराएको भन्दै होङ सियाङ होटेल प्रालिको नाममा रकम भुक्तानी गरेको छ। तर उक्त समयमा महानगरले नै होटल तथा रेस्टुरेन्ट खोल्न नपाइने जनाएको थियो।

१० कात्तिक, २०७८, १५:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।