सर्वोच्चमा २ सय ७३ मुद्दा अलपत्र, प्रधानन्यायाधीशले मात्र हेरे पाँच मुद्दा

सर्वोच्चमा २ सय ७३ मुद्दा अलपत्र, प्रधानन्यायाधीशले मात्र हेरे पाँच मुद्दा

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको मुद्दा पेचिलो बन्दै जाँदा बुधवार तोकिएका इजलासहरुमध्ये प्रधानन्यायाधीशले आफ्नै लागि तोकेको इजलास मात्र बस्यो।

एक पूर्ण सहित ११ इलजास तोकिए पनि बसेको छैन। प्रधानन्यायाधीशले आफ्नो नाममा एक पूर्ण इजलास तोकेका थिए जसमा पाँच मुद्दा थिए। त्यसमध्ये उनले तीन वटाको फैसला गरे भने २ वटामा आदेश दिए।

न्यायाधीश दीपकुमार कार्की र सुष्मालता माथेमाको इजलास नम्बर १ मा २२ मुद्दा थिए। मीरा खड्का र हरि प्रसाद फुयालको इजलास नम्बर २ मा ५५, हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउत तथा हरिकृष्ण कार्की र सुष्मालता माथेको इजलास नम्बर ३ मा २८ र २, विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलास नम्बर ४ मा ३० वटा मुद्दा तोकिएको थियो।

यसैगरी न्यायाधीश वमकुमार श्रेष्ठ र कुमार चुडालको इजलास नम्बर ७ मा ३५, टङ्कबहादुर मोक्तानको इजलास नम्बर ९ मा ३६, प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको इजलास नम्बर १० मा २० मुद्दा थिए।

प्रधानन्यायाधीश राणाले आफू सहित दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठको पूर्ण इजलास समेत तोकेका छन्।

तर उनी बाहेक अन्य न्यायाधीशको इजलास बसेको छैन। उनको गतिविधिले न्यायालयको आस्था खस्किएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने पक्षमा रहेका १५ न्यायाधीश आन्तरिक छलफलमै छन्।

प्रधानन्यायाधीश हट्ने ६ विकल्प, कुन विकल्पबाट हट्लान् राणा !

प्रधानन्यायाधीश राणाले सरकारसँग भागबन्डा खोजेर आफ्नो आफन्तलाई मन्त्री बनाएको भन्दै उनको राजीनामा मागिएको छ। उनले न्यायालयको आडमा भागबन्डा खोजेको र आफ्नो स्वार्थको मुद्दामा चलखेल गरेको भन्दै सर्वोच्चकै न्यायाधीशहरूसहित नेपाल बार एसोसिएसन, पूर्व न्यायाधीश समाज, पूर्व चार प्रधानन्यायाधीश लगायतकाले उनलाई बहिर्गमनका लागि आग्रह गरिसकेका छन्। तर उनी राजीनामा नदिने बताउँदै आएका छन्।

१० कात्तिक, २०७८, १३:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।