प्रधानन्यायाधीशविरुद्ध बारको निर्णय : राजीनामा नगरे आन्दोलन

प्रधानन्यायाधीशविरुद्ध बारको निर्णय : राजीनामा नगरे आन्दोलन

बार सल्लाहकार समितिको सुझावपछि केन्द्रीय समितिको बैठकले प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन। 

‘सहज रूपमा मार्ग प्रशस्त गर्न प्रधानन्यायाधीशलाई आग्रह गर्ने निर्णय भएको छ,’उपाध्यक्ष बस्यालले उकेरासँग भनिन्,‘राजीनामा नदिए एक दुई दिनमा आन्दोलनका कार्यक्रम घोषणा हुन्छ।’ 

समग्र न्यायपालिकाको सुधारका लागि प्रधानन्यायाधीश राणाको राजीनामा नै उत्तम विकल्प रहेकोमा सबै सदस्य एकमत रहेको उपाध्यक्ष बस्यालले बताइन। केन्द्रीय कार्यसमितिका उपत्यकामा उपलब्ध पदाधिकारी र सदस्यको बैठकले सर्वसम्मत रूपमा राणाको राजीनामा माग्ने निर्णय गरेको उनले बताइन। 

बारले बैठक अगाडि मंगलबारै सल्लाहकार सिमितको बैठक राखेको थियो। बारको पुर्व अध्यक्ष र पुर्व महासचिव रहेको समितिका ३७ मध्ये ३६ जनाले प्रधानन्यायाधीश राणाको राजिनामा माग्नुपर्ने र राजिनामा नदिए आन्दोलनमा जानुपर्ने सुझाव दिएका थिए।

सर्वोच्च अदालतको बारले समेत प्रधानन्यायाधीश राणाको राजिनामा मागिसकेको छ। राणाले भने राजिनामा नदिने बरु महाअभियोगको सामना गर्ने बताएका छन्। उनलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका सर्वोच्च अदालतका १५ न्यायाधीशहरुलाई उनले विवादमा आएका अन्य न्यायाधीशले पनि राजिनामा दिने भए आफु तयार रहेको जवाफ दिएका थिए।

९ कात्तिक, २०७८, २१:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।