राजीनामा माग्न गएका न्यायाधीशकै राजीनामा  मागे प्रधानन्यायाधीशले

राजीनामा माग्न गएका न्यायाधीशकै राजीनामा  मागे प्रधानन्यायाधीशले

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले केही प्रायोजित सञ्चार माध्यम र सडकको माग पुरा नहुने बताएका छन्। उनले सञ्चार संस्थाकाे नाम भने लिएनन्। 

असन्तुष्ट न्यायाधीशहरुसँगको छलफलमा प्रधानन्यायाधीश राणाले संवैधानिक प्रक्रियाबाट मात्रै राजीनामा दिने बताए। 

उनले राजीनामा माग गर्ने न्यायाधीशहरुलाई पनि राजीनामा गर्न चुनौती दिए। ‘तपाईहरुकाबारेमा पनि प्रश्न उठेको छ,’राणाको भनाई उद्धृत गर्दै सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने,‘राजीनामा गर्नु न।’ राणाले प्रश्न उठेका न्यायाधीशहरुले राजीनामा दिए आफूले पनि मार्ग प्रशस्त गर्ने बताए। 

असन्तुष्ट न्यायाधीशहरुले प्रधानन्यायाधीश राणालाई मार्ग प्रशस्त गर्न भनेका थिए। एक जना न्यायाधीशले भनाई राखेपछि राणाले जवाफ दिएका थिए। उनले प्रश्न उठेका र विवादमा आएका न्यायाधीशहरूको नाम भने लिएनन्। तर, राजीनामा दिन चुनौती दिए। 

उनले संवैधानिक प्रक्रियाबाट मात्रै बाहिरिने बताए। प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीशहरूको बहिष्कारका कारण सोमबारदेखि इजलास बस्न सकेको छैन। 

९ कात्तिक, २०७८, १५:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।