पारसलाई भेटेपछि भरतमणि भन्छन्- 'उहाँ पुरानाे साथी जस्तै लाग्याे, डाइहार्ड फ्यान भएँ'

पारसलाई भेटेपछि भरतमणि भन्छन्- 'उहाँ पुरानाे साथी जस्तै लाग्याे, डाइहार्ड फ्यान भएँ'

काठमाडाैंः पूर्वयुवराज पारस शाहको अभिनय गरेर चर्चा कमाएका कमेडियन हुन्- ताप्लेजुङका भरतमणि पौडेल। कमेडी च्याम्पियनमा लगातार उत्कृष्ट प्रस्तुती दिए पनि उनलाई धेरैले पारस शाहकै क्यारिकेचरबाट चिनेका हुन्।

यो प्रस्तुतीकै कारण गृहजिल्ला भ्रमण गर्दा उनले युवराज जत्तिकै सम्मान पनि पाएका थिए। भरतमणिका फ्यानहरूलाई पारसले उक्त क्यारिकेचर हेरेर कस्ताे प्रतिक्रिया देलान् भन्ने काैतूहल पनि थियाे।  

यतिबेला कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणिले सबैकाे काैतूहल मेटेका छन्। उनले उपाधि जितेकाे झण्डै एक महिनापछि पहिलो पटक पारस शाहलाई भेटेका छन्।

दरबारमार्गको शेर्पा मलमा कमेडीयन सुमन कोइरालासँगै पारस शाहसँगको फोटो सामाजिक सञ्जालमा भरतमणिले पोष्ट गरेका हुन्।

भेटमा पारस साथी जस्तै लागेको भरतमणिले प्रतिक्रिया दिएका छन्। उनले भने, 'मलाई उहाँ पुरानो साथी जस्तै लाग्यो।'

उनले त्यति मात्र भनेनन्। पारस शाह बाहिर सुनेजस्तो हाउडे नभएकाे पनि स्पष्टिकरण दिए। उनले भने, 'उहाँ धेरै रिसाउनु हुन्छ, जिम्मेवारी बोध नगर्ने स्वभावको हुनुहुन्छ भन्ने सुनेको थिएँ। तर बाहिर सुनिए जस्तो हाउडे स्वभावको उहाँ हुनुहुन्न रहेछ।'

पारस शाह निकै भलाद्मी र देशका बारेमा चिन्ता गर्ने मानिस भएकाे भरतमणिकाे ठम्याइँ छ। भरतमणिले भने, 'म पहिले जति उहाँको फ्यान थिएँ, अहिले झनै डाइहार्ड फ्यान भएँ।'

कमेडी च्याम्पियनका भरतमणिसँगै बिक्की अग्रवाल, सन्ताेष थापालगायतको प्रस्तुती समेत पारसले मन पराएको उनको भनाइ छ।

'उहाँलाई मेरो प्रस्तुती मात्रै हाेइन, फाइनलमा पुगेका अन्य प्रतिस्पर्धीको प्रस्तुती पनि मन परेको रहेछ', शेर्पा मलमा झण्डै एक घण्टा बिताएको बताउँदै भरतमणीले भने, 'हामीले सँगै खाजा खायौं, बिल पनि उहाँले नै तिर्नुभयो।'

पारस शाह बडिगार्डबिनै आएकाे पनि भरतमणिले बताए। शाही शक्ति नेपालका अध्यक्षले उनीहरूलाई भेट्ने वातावरण मिलाइदिएकाे उनले बताए। 

यस्तै छुट्ने बेलामा पारस शाहले पोखरा आउँदा सम्पर्क गर्न आग्रह गरेको पनि उनले बताए। भने, 'उहाँले किप इन टच भन्नुभएको छ।'

९ कात्तिक, २०७८, १४:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।