गाँजा खेती खुला गर्ने विधेयक: स्वास्थ्यमन्त्री खतिवडा भन्छन्, 'उहिलेका माग खुइलिए'

गाँजा खेती खुला गर्ने विधेयक: स्वास्थ्यमन्त्री खतिवडा भन्छन्, 'उहिलेका माग खुइलिए'

काठमाडौः सङ्घीय संसद् सचिवालयमा ०७६ फागुन १९ गते गैर सरकारी संस्थाका तर्फबाट दर्ता भएको थियो- गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक। यो विधेयकको प्रस्तुतकर्ता हुन्- नेकपा एमालेका सांसद शेरबहादुर तामाङ। समर्थन गरेका थिए- अहिलेका स्वास्थ्यमन्त्री विरोध खतिवडाले। 
 

गैर सरकारी विधेयकको रूपमा दर्ता भएको गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकको समर्थनमै छन् तामाङ।

उनले पार्टीको अधिवेशनमा व्यस्त हुनु परेकाले हाल यो विधेयकलाई कानून बनाउने पहलमा लाग्न नपाएको बताए। ‘पार्टीको अधिवेशनमा व्यस्त हुनु परेकाले अहिले यो विधेयकमा समय दिन पाएको छैन', तामाङले उकेरासँग भने, ‘पार्टीको महाधिवेशन सकिएपछि यसमा सबैको पहल हुनेछ।’ 

गाँजा खेती खुला गर्नुपर्ने विधेयक दर्ता गरेपछि तामाङ स्वास्थ्यमन्त्रीमा नियुक्त भएका थिए। मन्त्री नियुक्त भएपछि भने उनले विधेयकको प्रक्रिया अगाडि बढाउने पहल गरेनन्। नेकपा एमालेको तर्फबाट मन्त्री भएका तामाङ, प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको बहिर्गमनसँगै पार्टी कार्यालय सचिवको पदमा मात्रै छन्। 

उनी स्वास्थ्यमन्त्री विरोध खतिवडासँग यो विधेयकमा एकता रहेको बताउँछन्। विधेयक दर्ता गर्दा तामाङ र खतिवडा नेकपा एमालेका सांसद थिए। तामाङ एमालेमा रहे पनि खतिवडा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री बनेका छन्। 

पार्टी राजनीतिमा विमति भए पनि विधेयकमा भने कुनै विमति नरहेको तामाङले बताए। ‘पार्टी राजनीतिमा उहाँ फरक म फरक हौंला’, तामाङले भने, ‘यो विधेयकमा सबैको सहमति छ।’ 

तर, स्वास्थ्यमन्त्री विरोध खतिवडाले गाँजा खेती खुला गर्ने विधेयकका बारेमा उकेरासँग भने, ‘उहिलेको माग खुइलिए।’

उनले आफू तीन महिना नबोल्ने बताए। तीन महिनाभित्र स्वास्थ्य क्षेत्रमा सुधारको कार्ययोजना ल्याउने मन्त्री खतिवडाले बताए। ‘तीन महिना काम गर्न दिनुहोस्', मन्त्री खतिवडाले भने, ‘तीन महिनापछि स्वास्थ्य क्षेत्रको बेथिति सार्वजनिक गर्छौं।' 

९ कात्तिक, २०७८, ०९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।