लगानी सम्मेलनमा निजी क्षेत्रलाई महत्त्व दिन मुख्यमन्त्री केसीसमक्ष ३२ बुँदे माग

लगानी सम्मेलनमा निजी क्षेत्रलाई महत्त्व दिन मुख्यमन्त्री केसीसमक्ष ३२ बुँदे माग

बुटवल : लुम्बिनी प्रदेश च्यामबर अफ कमर्सले मुख्यमन्त्री कुलबहादुर केसी समक्ष ३२ बुँदे माग पत्र बुझाएको छ।

च्यामबर अफ कमर्सका प्रदेश अध्यक्ष टङ्कप्रसाद पोखरेलले सरकार र निजी क्षेत्रबीच सहकार्य, समन्वय र सहअस्तित्व सुनिश्चितताका लागि सरकारलाई पहल गर्न माग राखिएको बताए। निजी क्षेत्र मैत्री बजार नीति तथा कानुनहरूको अविलम्ब निर्माण गर्न सरकारको ध्यानाकर्षण गरिएको उनले बताए।

‘समन्वय, सहकार्य र सहअस्तित्वको संवैधानिक सिद्धान्तलाई आत्मसात् गर्दै निजी क्षेत्र प्रदेश सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्न तयार छ,’उनले भने,‘त्यसका लागि हाम्रो अभिभावकको रूपमा रहेको प्रदेश सरकारले आवश्यक वातावरण बनाउनेछ भन्ने अपेक्षा एवं विश्वास लिएका छौँ।’

मुख्यमन्त्री केसीलाई बुझाइएको माग पत्रमा प्रदेश सरकारले सञ्चालन गरेका सामाजिक कार्यक्रम, सूचना तथा सञ्चार क्षेत्र, कृषि औद्योगीकरण, उत्पादन तथा बजारीकरण तथा पर्यटन जस्ता योजनाहरूमा निजी क्षेत्रसँग समन्वय गरेर अगाडी बढ्न आग्रह गरिएको छ।

माग पत्रमा प्रदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित उद्योगको स्थापना तथा विकासलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ। 

प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा आफूहरू उत्सुक भएको जनाउँदै च्यामबर अफ कमर्सले सम्मेलनमा निजी क्षेत्रको सहकार्यलाई उच्च महत्त्व दिन भनेको छ। 

माग पत्र बुझ्दै मुख्यमन्त्री केसीले प्रदेशको विकासका लागि निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउँदै मागलाई सरकारले छिट्टै छलफलमा लैजाने बताए। उनले निजी क्षेत्रसँग सरकारले हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाए।

८ कात्तिक, २०७८, २०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।