पूर्व महान्यायाधिवक्ता र अधिवक्ताले भने : प्रधानन्यायाधीश विकल्प राजीनामा मात्र 

पूर्व महान्यायाधिवक्ता र अधिवक्ताले भने : प्रधानन्यायाधीश विकल्प राजीनामा मात्र 

काठमाडौँ : पूर्व महान्यायाधिवक्ता र वरिष्ठ अधिवक्ताहरूले सरकारमा भाग खोजेर सङ्कटमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनु नै फेस सेभिङको सबैभन्दा उत्तम विकल्प भएको बताएका छन्। राणा जति प्रधानन्यायाधीशको कुर्सीमा बस्यो न्यायालयमा त्यति क्षति बढ्ने बताउँदै उनीहरूले तत्काल राजीनामा दिन सुझाव दिएका थिए।

पूर्व महान्यायाधिवक्ता  रमनकुमार श्रेष्ठले राणाले तत्काल राजीनामा दिनुपर्ने बताए। काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा सोमबार बोल्दै उनले राणा जति पदमा बस्छन् उनी उनलाई नै क्षति हुने बताए। 

'न्यायालय र व्यक्तिगत क्षति रोक्ने हो भने तत्काल राजीनामा दिनुपर्छ। १४ जना न्यायाधीशले विद्रोह गर्नुभयो। कमण्डरमात्रै बाँकी भएको युद्ध कस्तो हुन्छ ?' उनले भने।

उनले प्रधानन्यायाधीशले स्वेच्छाले राजीनामा नदिए संविधानअनुसार चल्ने भन्दै महाभियोगको सङ्केत गरेका थिए। उनले प्रधानन्यायाधीश न्याय सम्पादनमा चुकेको, संविधानले परिकल्पना नगरेको विषयमा प्रवेश गरेको उनको टिप्पणी थियो। 

'उहाँले संवैधानिक निकायमा आफ्नो मान्छे नियुक्ति गर्नुभयो। मन्त्री पनि बनाउनुभयो। न्यायालय स्वतन्त्र हुनुपर्छ। यसमा राजनीतिक गन्ध आउनु हुन्न,' उनले भने। 

पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले न्यायालयको साख जोगाउन प्रधानन्यायाधीश जबराले निकास दिनुपर्ने बताए। 

उनले न्यायालयको विषयमा गम्भीर प्रश्न उठेको र प्रधानन्यायाधीश जति आरोप र विवाद छ त्यसमा स्पष्ट पार्ने जिम्मेवारी उनकै भए पनि अब समय घर्किसकेको बताए। 

'न्यायपालिकाको जनताको अभिभावक हो । त्यसको भावना र मर्मलाई न्यायिक नेतृत्वले आत्मसात् गर्नुभएन । राजनीतिक दलसँग सौदावाजी गर्नुभयो,’ उनले भने।

उनले प्रधानन्यायाधीशले कार्यपालिकासँग भागबन्डा खोजेको विषयमा नेपालको न्यायिक इतिहासमा गम्भीर विषय भएको बताए। 

'अब यति विवादहरू सिर्जना हुँदाहुँदै पनि तपाईँ त्यो पदमा बसिरहन अन्तर आत्माले दिन्छ त ? एउटा नागरिकको हैसियतले भन्दाखेरि न्यायपालिका अब विवादित नेतृत्वको आधारमा सञ्चालन हुन सक्दैन। उहाँले यो चरणमा आईपुग्दाखेरि अझै उहाँले विवादका विषयहरू, प्रश्नहरूलाई नजरअन्दाज गर्नुभयो भने, बारले कस्तो कदम चाल्छ भन्ने थाहा छ। दलले पनि गम्भीर कदम चाल्न सक्छ। संवैधानिक व्यवस्थाहरू छन्,’ उनले भने।

वरिष्ठ अधिवक्ता परशुराम कोइरालाले प्रधानन्यायाधीश राणाले राजीनामा दिएर फेस सेभ गर्नुपर्ने बताए। उनले मैदानमा अब टिम क्याप्टेनले मात्रै खेलेर केही नहुने भन्दै प्रधानन्यायाधीशले राजीनामा दिँदा नै राम्रो हुने तर्क गरेका थिए।

उनले भने,‘टिम क्याप्टेनले एक्लैले खेलेर पुग्दैन। टिम लिडरले भनेको कुरा अरू टिम मेटहरुले नमान्ने अवस्था आउनु भनेको यो शर्मनाक हो। आज उपरान्त जति जति दिन ढल्दै जान्छ, त्यति त्यति नै चरित्रमा दाग लाग्दै जान्छ।’ 

उनले १४ न्यायाधीशले फूल कोर्टमा जान्दैनौँ भन्नु ठुलो प्रश्न भएको बताए। 

८ कात्तिक, २०७८, १८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।