बेमौसमी बाढीले संक्रामक रोग फैलाउने जोखिम

बेमौसमी बाढीले संक्रामक रोग फैलाउने जोखिम

बाढी-पहिरोजन्य समस्याका कारण सामान्यतः पानीजन्य, कीटजन्य र हावाजन्य गरी तीन प्रकारका संक्रामक रोगको जोखिम हुने चिकित्सक बताउँछन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले भने बाढी-पहिरोका कारण संक्रामक रोग देखिएको सूचना नपाएको बताएका छन्। तर संक्रमणको जोखिम भने रहेको उनी बताउँछन्।

प्रवक्ता डा. पौडेल भन्छन्, ‘अहिलेसम्म त्यस्तो दुःखद सूचना त सुनिएको छैन। तर जोखिम भने छ। मान्छेहरु विस्थापित छन्।’ 

पानीजन्य रोग
बाढी-पहिरोका कारण टाइफाइड, हेपाटाइटिस ‘ए’ र ‘ई’ (जन्डिस), झाडापखाला, हैजा, लेप्टोस्पाइरोसिस जस्ता पानीजन्य संक्रामक रोगको जोखिम हुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन बताउँछन्। दूषित पानीका कारण यस्ता पानीजन्य संक्रमणको जोखिम हुन्छ। 

संक्रमित जनावरको पिसाबबाट लेप्टोस्पाइरोसिस संक्रमण सर्नसक्ने डा. पुनले बताए। ‘लेप्टोस्पाइरोसिस संक्रमित जनावरको पिसाबबाट मानिसमा सर्न सक्छ,’ उनले भने, ‘खाद्यपदार्थ, पानी, शरीरको काटेको भागबाट यो संक्रमण प्रवेश गर्ने जोखिम हुन्छ।’ 

सफा पानी खान अनुरोध गरे पनि भनेजस्तो सबै ठाउँमा सफा पानी नहुने प्रवक्ता डा. पौडेलको तर्क छ। उनले भने, ‘हाम्रो अनुरोध चाहिँ दूरी कायम गर, सफा पानी खान देऊ भन्ने हो। तर भनेजस्तो सजिलो छैन।’

फोहोर पानीका कारण छाला चिलाउने लगायतका छालाजन्य संक्रमणको पनि जोखिम हुने चिकित्सक बताउँछन्। 

कीटजन्य रोग
डा. पुनका अनुसार स्क्रबटाइफस, डेंगुजस्ता कीटजन्य रोगको जोखिम कायम नै छ। उनले भने, ‘डेंगु फाट्टफुट्ट देखिइरहेको छ। स्क्रबटाइफसले निरन्तरता पाइरहेको छ।’ 

स्क्रबटाइफस विशेषगरी संक्रमित मुसामा रहेको किर्नाले टोकेको खण्डमा मानिसमा संक्रमण सर्ने जोखिम हुने चिकित्सक बताउँछन्। मुसा भएको ठाउँमा यस्तो संक्रमणको बढी जोखिम हुन्छ। संक्रमित लामखुट्टे (विशेषगरी एडिस जातको लामखुट्टे) को टोकाइबाट डेंगु सर्छ।

बाढी-पहिरोका कारण जथाभावी बस्दा झाडी लगायतका ठाउँबाट स्क्रबटाइफस सर्ने र झुल नलगाउँदा डेंगुको जोखिम हुने चिकित्सक बताउँछन्। त्यसैले लामखुट्टे बस्ने वातावरण सिर्जना हुन नदिन डा. पुनको सुझाव छ।

उनी भन्छन्, ‘बाढी-पहिरोका कारण बस्ने ठेगान नहुँदा स्क्रबटाइफस र डेंगुको सम्भावना हुन्छ।’ मन्त्रालयका प्रवक्ता डा. पौडेल पनि मनसुन लामो भएकाले डेंगुको जोखिम अझै रहेको बताउँछन्।

हावाजन्य रोग
बाढी-पहिरोको समयमा हावा तथा खोकीको माध्यमबाट पनि संक्रमणको जोखिम उत्तिकै रहेको चिकित्सक बताउँछन्। त्यतिमात्रै होइन, कोरोना भाइरस संक्रमणको जोखिम पनि कायम रहेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाई समूहमा बस्दा कोरोना भाइरस र फ्लु संक्रमणको जोखिम हुनेतर्फ डा. पुन सजग गराउँछन्। उनी भन्छन्, ‘कोरोना संक्रमणको जोखिम कायम नै छ। फ्लु (रुघाखोकी) पनि प्रशस्त देखिएको छ।’ 

प्रवक्ता डा. पौडेल पनि कोरोना भाइरस संक्रमण लगायत श्वासप्रश्वासका रोगको जोखिम रहेको बताउँछन्। त्यसैले भौतिक दूरी कायम गर्ने तथा जनस्वास्थ्यको मापदण्ड अपनाउन प्रवक्ता डा. पौडेलको अनुरोध छ। 

रोग फैलिन नदिन सरकारी तयारी कस्तो छ?
मन्त्रालयका प्रवक्ता डा. पौडेलले सम्भावित संक्रामक रोगको जोखिमबाट बच्नका लागि निरन्तर प्रदेशहरुसँग सम्पर्क भइरहेको दावी गरे। उनले भने, ‘प्रोभिन्सियल हेल्थ अपरेटिभ सेन्टर (पिएचसीओसी) सँग सम्पर्क पनि भयो।’

कहीं संक्रामक रोग फैलिएको अवस्थामा ‘र्यापिड रेस्पोन्स टिम’ तयारी अवस्थामा रहेको डा. पौडेलको दावी छ। स्थानीय तहदेखि नै यो टिम तयारी अवस्थामा रहेको पौडेल बताउँछन्। उनी भन्छन्, ‘कहीं थप आवश्यकता पर्यो  भने हामी सामग्री पठाउँछौं। अहिलेसम्म कतै त्यस्तो आवश्यकता देखिएको छैन।’

हिमाल, पहाड र तराईमध्ये तापक्रम बढी हुने भएकाले तराईमा संक्रामक रोगको जोखिम बढी हुने प्रवक्ता डा. पौडेल बताउँछन्। तर पहाड र हिमाली क्षेत्रमा पनि जोखिम कम नभएको उनले बताए।

रोकथाम र बच्ने उपाय
ज्वरो आउने, शरीर दुख्ने, बान्ता हुने, झाडापखाला लाग्ने, जाडो हुने जस्ता लक्षण देखिए तुरुन्तै चिकित्सकको परामर्श लिन डा. पुनको सुझाव छ। उनी सुझाउँछन्, ‘बाढी-पहिरो प्रभावित क्षेत्रका व्यक्तिमा ज्वरो आउन थाल्यो, झाडापखाला लाग्यो भने तुरुन्तै स्वास्थ्य जाँच गराउनुपर्छ।’ 

बाढी-पहिरो प्रभावित क्षेत्रमा पानी दूषित हुने जोखिम बढी भएकाले पानी फिल्टर गरेर, उमालेर खान चिकित्सकको सुझाव छ। शौचालयको व्यवस्थापन हुनुपर्छ। खानपान ताजा तथा सफा हुनुपर्छ। 

डेंगु जस्ता संक्रामक रोगबाट बच्न शरीर ढाक्नेगरी लुगा लगाउन चिकित्सकको सुझाव छ। स्क्रबटाइफसबाट बच्न झाडी तथा झारपात भएको ठाउँमा बस्न हुन्न।

रुघाखोकी तथा कोरोना भाइरस संक्रमणबाट बच्न भीडभाडमा नबस्न र मास्क लगाउन तथा साबुन-पानीले हात धुन डा. पुनको सुझाव छ। 

गृह मन्त्रालय अन्तर्गतको विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखाका अनुसार केही दिनअघि गएको बाढी-पहिरोका कारण एक सय १७ जनाको मृत्यु भएको छ।

आइतबारसम्ममा बाढी पहिरोमा परी ४४ जना घाइते भएको र ३२ जना बेपत्ता भएको महाशाखाकी सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्। 

८ कात्तिक, २०७८, १३:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।