एमालेमा १० बुँदेको औचित्य सकियो : पेलेरै जाने ओली रणनीति

एमालेमा १० बुँदेको औचित्य सकियो : पेलेरै जाने ओली रणनीति

पार्टी एक बनाइराख्न माधव नेपालका लागि १० बुँदे सहमति गरेको र नेपालले नयाँ दल गठन गरेपछि त्यसको औचित्य सकिएको भनाइमा ओली कायम रहे। उनले रावलको राजीनामा घोषणालाई दिएको जिम्मेवारी पूरा नगरेर भागेको प्रतिक्रिया दिइसकेका छन्। १० बुँदे कार्यान्वयन नै नगरी पार्टीमा महाधिवेशन अनुसार वडा अधिवेशन सुरु भइसक्यो। 

रावलसँगै घनश्याम भुसालले पनि १० बुँदे कार्यान्वयनको पक्षमा बोले पनि उनीहरुकै समूहका अन्य मौन छन्। सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य, अष्टलक्ष्मी शाक्य बोलेका छैनन्। योगेश भट्टराई बिरामी भएर अस्पतालमा छन्।

पार्टीको अन्तर्विरोध हल गर्न एमालेका दुई पक्षबीच गत असार २७ गते भएको सहमति कार्यान्वयनका लागि रावलको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन भएको थियो। केही नेताको हकमा यो कार्यान्वयनमा आयो पनि। तर रावल र शाक्यको हकमा भने कार्यान्वयन भएन।

दस बुँदेमा पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने उल्लेख छ। सो अनुसार सुदूरपश्चिमको प्रदेश संयोजक रावल हुनुपर्ने हो। तर लेखराज भट्ट नै कायम छन्। यता बागमतीमा पनि शाक्यको ठाउँमा रामबहादुर थापा बादल नै कायम छन्। सुरेन्द्र पाण्डे, भीम आचार्यको जिल्लाको विवाद जस्ताको त्यस्तै रह्यो।

‘१० बुँदे कार्यान्वयन र केन्द्रीय कमिटीका १० प्रतिशत सदस्य मनोनयन गर्नेबारे कार्यदलले नै गृहकार्य गर्ने भनेर अपानी (अन्तर पार्टी निर्देशिका) मा देशव्यापी जारी गरिए पनि त्यसतर्फ ध्यान दिनुभएन। बरु उहाँले केन्द्रीय सदस्यमा दुई जना सदस्य प्रभु साहका लागि मनोनयन गर्ने भन्ने कुरा ल्याउनुभएकोमा मेरो विमति छ,’ राजीनामाबारे रावलले भने। 

उनको राजीनामालाई अध्यक्ष ओलीले त्यत्ति महत्व नै दिएनन्। ‘उहाँ (रावल)ले राजीनामा केको गर्नुभो? सहजीकरणको संयोजक हुनुहुन्थ्यो, सहजीकरण गर्न मैले सकिनँ त्यसकारण मेरो राजीनामा भन्नुभो,’ रावलको राजीनामाबारे अध्यक्ष ओलीले शनिबार वडा अधिवेशन उद्घाटन समारोहमा भने, ‘यो त्यत्रो ठूलो कुरा नै होइन। उहाँको राजीनामा लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन।’

पार्टी अध्यक्षको धारणाले उनी १० बुँदे अनुसार सक्काउनुपर्ने काम नसक्काई पार्टी अधिवेशनमा जाने पक्कापक्की छ। रावल लगायतका समूहको रणनीति के हो सो सार्वजनिक भइसकेको छैन।

नेता युवराज ज्ञवालीले धेरैजसो ठाउँमा १० बुँदे कार्यान्वयन भइसकेको र केही ठाउँमा मात्र बाँकी रहेको दावी गरे। 

‘धेरै ठाउँमा मिलिसक्यो। जनवर्गीय संगठनमा बाँकी छ। पहिले जो, जहाँ थियो त्यही अनुसार गर्ने भन्ने हो नि त,’ उनले उकेरासँग भने।

उनले रावलले राजीनामा दिए पनि पार्टीका संयन्त्रहरुले १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने र कार्यान्वयनको लागि पार्टी नेतृत्वलाई निरन्तर दबाब दिने बताए।

कार्यदलबाट रावलको राजीनामापछि तेस्रो धारका नेताहरुबीच छलफल भने भएको छैन। अन्तरपार्टी निर्देशनको पूर्ण कार्यान्वयन हुनुपर्ने तेस्रो धारका नेताहरुको माग छ। १० बुँदेबारे जिज्ञासा राख्दा तेस्रो धारका नेता सुरेन्द्र पाण्डेले भने, ‘तपाईंहरुलाई किन चाहियो अहिले? कार्यान्वयन हुने प्रक्रियामा छ, कार्यान्वयन भइरहेको छ। अहिले थप नबोलौं।’  

तेस्रो धारका नेताहरुले मिलिरहेको भने पनि ओली निकट नेताहरुको प्रतिक्रिया हेर्दा महाधिवेशनसम्म १० बुँदे पूर्ण कार्यान्वयन हुने देखिँदैन।

‘उहाँहरुले ७५ जेठ २ गतेको पार्टीको जिम्मेवारी भन्नुभयो। सो समयमा त पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ हुनुहुन्थ्यो। बैठक पनि उहाँले नै बोलाउनुपर्योण। केन्द्रमा उहाँहरु पुरानै ठाउँमा हुनुहुन्छ। प्रदेश र तल्ला तहमा पुरानै जिम्मेवारी होइन,’ एमाले कार्यालय सचिव शेरबहादुर तमाङले उकेरासँग भने।

यस विषयमा ओली निकट एक नेताले भने, ‘शेरबहादुरजीले सूचना जारी गर्नुभएको बैठकमा उहाँहरु किन आउनुभयो त? तत्कालीन कार्यालय सचिव कृष्णगोपाल दाइको सूचना पर्खनुपर्ने त। सुदूरपश्चिममा भीम रावललाई इन्चार्ज बनाइदिए यो विषय मत्थर हुन्छ, त्यस्तो केही पनि होइन।’ 

अध्यक्ष ओली निकट नेता ऐन महर बाहिर मिडिया आएजस्तो केही पनि नभएको दावी गर्छन्। सो समूहको जायज कुराहरु जहिले पनि सुनुवाइ भइरहेको र अध्यक्ष ओलीले सुनावाइ हुने बताइरहेको उनले बताए।

माओवादीबाट एमालेमा आएका नेताको व्यवस्थापनले नै अहिले १० बुँदेको पूर्ण कार्यान्वयन रोकेको देखिन्छ। ओली थापा र भट्टलाई जिम्मेवारीविहीन बनाउने पक्षमा देखिएका छैनन्।

‘पार्टीले निर्णय गरिसकेपछि त सबैले मान्नै पर्योअ नि। कसैलाई सम्मान कसैलाई अपमान भन्ने कुरा हुँदैन। लेखराज भट्टको पनि सम्मान हुनुपर्यो ,’ ओली निकट नेताले भने। 

२०७५ जेठ २ को संरचनामा पार्टीलाई पूर्ण रुपमा फर्काउन नसकिने ओली पक्षको भनाइ छ। पार्टीमा फर्किएकालाई ठोस प्रस्ताव र स्पष्ट कार्ययोजना ल्याउन समेत ओली पक्षको आग्रह छ। 

‘मूर्त रुपमा कुरा गर्नुपर्योट, अमूर्त अपव्याख्या गरेर काम हुँदैन। कहाँ, के गर्ने भन्नुपर्योट। अखिलमा के गर्ने? युवा संघमा के गर्ने, मान्छे ल्याउनुपर्योे। मान्छे नल्याउने खाली पुरानो-पुरानो भन्ने? समाजवादीमा गएमा मान्छेलाई ल्याएर जिम्मा दिने त?,’ ती नेताले भने।

७ कात्तिक, २०७८, १७:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।