कभर स्टोरी

प्रहरी प्रतिवेदन भन्छ : प्रहरीकै कमजोरीले अपहरणका अभियुक्त दुर्गाले सफाइ पाए


काठमाडौँ : प्रहरीले अनुसन्धानका गरेको त्रुटिका कारण अदालतबाट अपहरणका अभियुक्त दुर्गा बहादुर बुढाथोकीले सफाइ पाएको प्रहरीको अनुसन्धानले देखाएको छ।

नेपाली नागरिकता पेस नभएको आधारमा अपहरणको १० वर्षपछि पक्राउ परेका बुढाथोकीले काठमाडौँ जिल्ला अदालतबाट सफाइ पाएका थिए। प्रहरीले मिसिलमा बुढाथोकीको नागरिकता नै नराखी मिसिल बुझाएको खुलेपछि महानगरीय प्रहरी कार्यालयले अनुसन्धान समिति गठन गरेको थियो।

उकेराले प्राप्त गरेको अनुसन्धान प्रतिवेदनमा ‘प्रमाण अपुग हुन गई अनुसन्धानमा फितलोपन आएको देखिएको हुँदा उल्लेखित घटनामा मिसिल कागजात बनाउँदा प्रहरीबाट केही कमी कमजोरी रहेको देखिएको’ उल्लेख छ।

(एसएसपी) चक्र बहादुर सिंहको नेतृत्वमा रहेको ५ सदस्यीय समितिमा (एसपी) कृष्ण कोइराला, डिएसपी रविन कार्की, इन्स्पेक्टर ईश्वर कार्की र सई घनश्याम उप्रेती सदस्य थिए।

छानबिन समितिले निकालेको तथ्यको पूर्ण पाठ

दुर्गा बहादुर बुढाथोकीसँग सम्बन्धित छानबिन तथा अनुसन्धान समितिमा हालसम्म प्राप्त भएका जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सोल्टी तासी भन्ने टासी गुरुङ भएको अपहरण तथा शरीर बन्धक मुद्दाको सक्कल मिसिल अध्ययन, सो घटनासँग सम्बन्धित अनुसन्धान अधिकृत तथा सहायक प्रहरी कर्मचारीहरूसँग गरिएको सोधपुछ तथा बयान कागजहरू समेतको अध्ययन विश्लेषण गर्दा हालसम्म निम्न अनुसारको आएको छ।

(क) २०६५÷१०÷०२ गते हरिकृष्ण रावलको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सोल्टी तासी भन्ने टासी गुरु सहित बाबुराजा रावललाई अपहरण तथा शरीर बन्धक बनाएको मुद्दामा प्रह्लाद महत, सोल्टी तासी भन्ने टासी गुरुङ, विष्णु बहादुर जिसी, विकास बहादुर कार्की, मानदेव गुरुङ र सोले कुमार बुढाथोकी भन्ने दुर्गा बहादुर बुढाथोकी रहेको मुद्दामा म्याद थप भई आवश्यक कानुनी कारबाही गरेको मिसिलबाट देखिएको छ।

(ख) पक्राउ परेका व्यक्तिहरू मध्ये प्रह्लाद महत, सोल्टी तासी भन्ने टासी गुरुङ, विष्णु बहादुर जिसी, विकास बहादुर कार्की, मानदेव गुरुङले सोले कुमार बुढाथोकी भन्ने दुर्गा बहादुर बुढाथोकीको नाम थर ठेगाना, हुलिया समेत खुलाएको पाइयो।

(ग) उल्लेखित प्रतिवादीहरू मध्ये फरार रहेका सोले कुमार बुढाथोकी भन्ने दुर्गा बहादुर बुढाथोकी फरार रहेको पाइएको हुँदा निजलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट मिति २०७७÷०९।१४ गते पक्राउ गरी प्रारम्भिक अनुसन्धानको कार्य गरी आवश्यक कानुनी कारबाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँमा बुझाइएको पाइयो।

(घ) प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रारम्भिक अनुसन्धान गरी अभियुक्त सोले र कुमार बुढाथोकी भन्ने दुर्गा बहादुर बुढाथोकी अपहरण तथा शरीर बन्धक मुद्दाको फरार प्रतिवादी भनी महानगरीय प्रहरी परिसर, काठमाडौँ बुझाइएको पाइएको।

(ङ) जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँ जिल्ला न्यायाधिवक्ता सुदिप कुमार दंगाल समक्ष उल्लेखित प्रतिवादी दुर्गा बहादुर बुढाथोकीले मिति २०६५÷०९÷०२ गते बाबुराजा रावललाई अपहरण गर्ने र बन्धक बनाई फिरौती लिने कार्यमा आफ्नो संलग्नता, भूमिका र आफू फिरौती लिई भागेको भनी निज अभियुक्तको बयानबाट खुलाएको। सोही आधारमा निजलाई कानुनी कारबाहीको लागि प्रहरीले अनुसन्धान तथा तहकिकात गरेका पाइएको।

(च) अभियुक्तको दुर्गा बहादुर बुढाथोकीको सनाखत गर्दा निज स्वयंले र अपहरणमा परेका बाबुराजा रावलबाट सनाखत गराइएको कागज मिसिलबाट देखिएको।

निष्कर्षमा, अभियुक्त, अपहरणमा पर्ने व्यक्ति, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोबाट दाखिला प्रतिवेदन र भिडियो सिडी, अभियुक्तले सरकारी वकिल कार्यालयमा गरिदिएको बयानको आधारलाई एकिन मानी परिचयको विषयमा विवाद नभएको भनी प्रतिवादीको परिचय खुल्ने कागजात नराखेको भनी खटिएका अनुसन्धान अधिकृत र सहायकहरूले आफ्नो बचाउ गरिएको छ।

मुद्दा फितलो हुन सक्ने डरले बोलाएन अन्य प्रतिवादी

प्रहरी निरीक्षक नानीकाजी थापाले बयानमा बुढाथोकीको सनाखत गर्ने क्रममा सोही मुद्दामा कैद भुक्तान गरी रहेका व्यक्तिहरूबाट सनाखत गराइएको देखिएन।

उनले मुद्दासँग सम्बन्धित अन्य प्रतिवादीहरूलाई बुढाथोकीलाई सनाखत गराउन वारदातामा संलग्न रहेको भनी सनाखत नगर्न पनि सक्ने अवस्था भएको र त्यसरी सनाखत अवस्थामा उक्त मुद्दा फितलो हुनसक्ने दाबी गरेका छन्।

अभियुक्तको पहिचानको बारेमा एकिन गर्न अदालतबाट लेखापढी गर्न र अनुसन्धानको क्रममा अभियुक्त सनाखत गर्ने पीडितलाई अदालतबाट बकपत्रको लागि झिकाउन सक्ने अवस्था रहेको तर सो नभएको प्रहरीले बयानमा खुलाएका छन्।

उनीहरूले मुद्दामा प्रतिवादीहरूको स्पष्ट परिचय खुल्ने कागजात राख्नु पर्ने नियम तथा निर्देशन भएकोमा कतिपय मुद्धाहरुमा अनुसन्धान तथा अभियोजन गर्दा प्रतिवादीहरूको परिचय खुल्ने कागज अभिलेख मिसिलमा नराख्ने अभ्यास र परम्परा रहेको दाबी गरेका छन्।

अपहरण मुद्दाका बुढाथोकीले अदालतमा पेस गरेको भारतबाट प्राप्त गरेका आधार कार्ड लगायतका अन्य कागजातको विषयमा प्रहरी समक्ष बयानको क्रममा कुनै जानकारी तथा उक्त कागजातहरू पेस नगरेको तर बुढाथोकीले अदालतमा मात्र पेस गरेको पाइएको छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ। 

तर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुढाथोकी पक्राउ परेकै बेला उनले लिएको भारतीय परिचय पत्रहरू सार्वजनिक गरेको थियो। 

छानबिन समितिको निष्कर्ष:

बुढाथोकीबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक नानी काजी थापालाई अनुसन्धान अधिकृत र सहायक प्रहरी सहायक निरीक्षक किरण अधिकारी र प्रहरी हवलदार लक्ष्मण भुसाललाई अनुसन्धान तथा तहकिकातका लागि तोकिएको थियो। 

अनुसन्धान अधिकृतले प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोबाट दिइएको प्रारम्भिक बयान सहितको विवरण, पीडितले गरिदिएको सनाखत कागजको आधारमा निजलाई अनुसन्धान तथा तहकिकात गरी अनुसन्धान प्रतिवेदन सहितको मिसिल कागजात जिल्ला सरकारी वकिल कार्यालय बबरमहल काठमाडौँ अभियोजनको लागि पठाइएका थिए।

त्यसमा बुढाथोकी नेपाली नागरिक भएको कुनै प्रमाण संलग्न गरिएन। बुढाथोकीको प्रारम्भिक बयान, प्रतिवादी र पीडितले गरिदिएको सनाखतका आधारमा अनुसन्धानमा खटिएका प्रहरीले सोही थप कागजात राखेनन्।

प्रतिवेदनमा प्रहरी निरीक्षक थापाले अनुसन्धान अधिकृतको हैसियतले अनुसन्धान गर्दा मिसिलमा राख्नु पर्ने कागजातहरू पूर्ण रूपमा राख्नु पर्नेमा सो गरेको नदेखिएको उल्लेख छ। 

‘यसरी अनुसन्धान अधिकृतबाट भए गरेको अनुसन्धानका कार्य प्रगतिको बारेमा महानगरीय प्रहरी परिसर, काठमाडौँ अनुगमन तथा निर्देशन दिने कार्य भएको देखिएन,’ प्रतिवेदनमा उल्लेख छ।

सोले र कुमार बुढाथोकी भन्ने दूर्गां बहादुर बुढाथोकीले आफ्नो बयानको क्रममा स्पष्ट रूपमा आफ्नो घर ठेगाना समेत खुलाई सकेको अवस्थामा निजले गरेको बयान आधिकारिक रूपमा सत्यता छ वा छैन भनी सम्बन्धित घर ठेगानाको स्थानीय प्रहरी कार्यालयलाई पत्राचार गरी एकिन गर्नु पर्नेमा सो समेत नगरेको प्रतिवेदनमा उल्लेख छ।

निजले सम्बन्धित घर ठेगानाबाट नेपाली नागरिकताको प्रमाण पत्र लिएको छ वा छैन भनी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्नुपर्नेमा सो समेत नगरेको देखिएको प्रतिवेदनमा उल्लेख छ।

‘कुनै पनि घटनाको अनुसन्धान गर्दा बयानमुखी भन्दा प्रमाणमुखीमा ध्यान दिनु पर्नेमा सो नगरी अनुसन्धान गर्दा बयानमुखी अनुसन्धानमा मात्र केन्द्रित भएको देखियो,’ प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनमा जघन्य अपराध जस्ता मुद्धाहरुमा बढी संवेदनशील भई सोही अनुसार अनुसन्धान तथा प्रमाण सङ्कलन गर्नुपर्नेमा सो समेत नगरेको देखिन आएको हुँदा मुद्दाको प्रकृति अनुसार बढी जिम्मेवार भई अनुसन्धानमा कुनै पनि प्रकारको कमी कमजोरी हुन नपाउने गरी अनुसन्धान प्रक्रियालाई पुरा गरे नगरेको सम्बन्धमा जिम्मेवार प्रहरी अधिकृतबाट समय समयमा सुपरिवेक्षण र निर्देशन गर्नुपर्ने उल्लेख छ।

त्यस्तै, मिसिलमा समावेश गर्नुपर्ने कागजातको विषयमा सम्बन्धित न्यायिक निकायबाट कमीकमजोरी तथा अभियुक्तले पेस गरेका कागजातका बारेमा थप अनुसन्धान गर्न तथा अन्य आदेश दिन सक्ने अवस्था हुँदाहुँदै पनि सो भए गरेको नदेखिएको प्रतिवेदनमा उल्लेख छ।

‘अपहरण तथा शरीर बन्धक जस्तो जघन्य अपराधमा प्रहरीलाई सबुद प्रमाण जुटाई मिसिल कागजातमा राख्नुपर्ने दायित्व रहेको हुँदा मिसिलमा कागजात अपूर्ण हुनु गई सोही ब्यहोरालाई आधार मानी प्रहरीको कमीकमजोरी देखाई सोले र कुमार बुढाथोकी भन्ने दुर्गा बहादुर बुढाथोकी थुनामुक्त भएको देखिएको हुँदा प्रहरीको अनुसन्धानमा प्रमाण अपुग हुन गई अनुसन्धानमा फितलोपन आएको देखिएको हुँदा उल्लेखित घटनामा मिसिल कागजात बनाउँदा प्रहरीबाट केही कमी कमजोरी रहेको देखियो,’ प्रतिवेदनमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

'फुच्चे नारायणगोपाल भनिरहे तर म नारायणगोपाल बन्न सकिन'

सुरुवाती दिनहरुमा म हिन्दी गीतहरु गुन्गुनाउँथें। तर चर्चामा आएको चाहिँ नारायणगोपालकै गीतबाट हो। वि.सं. २०४४ सालतिरबाट नारायणगोपालको गीत गाउन थाल्ने बित्तिकै म सबैको नजरमा पर्न....

भक्तराजको स्वर खोसेको त्यो कालो दिन : आक्रमणकारीबारे किन मौन बसे पूर्ण नेपाली ?

त्यो समय नेपाली संगीतकै गोल्डेन युग थियो। गीतका पारखीहरु पनि उस्तै। निकै आदरभाव थियो स्रोतामाझ संगीतकर्मीहरुको। त्यो बेलाका सेलिब्रिटी यी नै त थिए।  अहिलेका पुस्ताले....

नारायण गोपाल र भक्तराजको स्वर खोसिएको नेपाली संगीतको त्यो कालो दिन

केही दिनसम्म रिहर्लसल गरिसकेपछि भक्तराज गीत सुनाउन वि.सं. २०४६ मंसिर १९ गते दिउँसो १ बजेतिर धुम्बाराहीस्थित गोपाल योञ्जनको घर  पुगे। गोपाल योञ्जनको बैठक कोठा सबैभन्दा....

वीरमा हुने स्वास्थ्य परीक्षणमा गम्भीर खेलबाड : व्यवस्थापकको मिलेमतोमा प्रयोग भइरहेछ फाल्नुपर्ने एक्स-रे फिल्म र सुई

उकेरालाई विशेष स्रोतले युनिफाइड केन्द्रीय अस्पतालमा मिति सकिएको एक्स–रे गर्ने फिल्म’ अनि सिटी स्क्यान गर्दा प्रयोग गरिने सुई प्रयोग भइरहेको सूचना दिएको थियो। एक महिनाको निरन्तर....

के निक्कीलाई उन्मुक्ति दिन अभियोग गम्भीर तर प्रमाण फितलो पारिएको हो ?

२०६८ चैत २८ गते छोरीमैयाँका श्रीमान् शिवकृष्ण महर्जनलाई प्रहरीले मल्होत्राकी बहिनी निक्की भनिने सुरक्षा सिंहविरुद्ध किटानी जाहेरी दिन लगायो। अपहरण तथा शरीर बन्धकको कसुरमा दिइएको....