विश्वकपमा पाकिस्तानसँग एक पटक पनि पराजित भएकाे छैन भारत, आज के हाेला नियति ?

विश्वकपमा पाकिस्तानसँग एक पटक पनि पराजित भएकाे छैन भारत, आज के हाेला नियति ?

काठमाडाैंः जारी टी ट्वेन्टी विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै छन्। परस्पर प्रतिद्वन्द्वी भारत र पाकिस्तान दुवै प्रतियाेगिताकाे सुखद सुरुआत चाहन्छन्। 

भारत र पाकिस्तान क्रिकेट जगतकै बहुचर्चित प्रतिद्वन्द्वी हुन्। बाबर आजमकाे कप्तानीमा मैदान उत्रने पाकिस्तान र विराट काेहलीकाे कप्तानीमा मैदान उत्रने भारतबीचकाे खेलले हार जीतसँग मात्र सम्बन्ध राख्दैन। यसले दुई देशबीच वर्षाैंदेखि चलेकाे 'काेल्ड वार'काे आगाेमा घ्यू थप्ने काम गर्छ। 

भारत र पाकिस्तान विश्वकपकाे पहिलाे खेलमा एकापसमा भिड्ने समाचारले नै एक किसिमकाे तरङ्ग ल्याएकाे थियाे। आज खेल हुने दिनमा भारत र पाकिस्तानका आमसञ्चार, सामाजिक सञ्जाल र चाेक गल्ली सबैतिर खेलकै प्रतीक्षा छ। 

तथ्यांकमा हेर्ने हाे भने पाकिस्तानले भारतविरुद्ध विश्वकपमा हालसम्म एक खेल पनि जितेकाे छैन। विश्वकपका १२ खेलमा आमनेसामने हुँदा पनि पाकिस्तानले एक खेल पनि जित्न सकेकाे छैन। टी ट्वेन्टीमा त भारतले ५ पटक पाकिस्तानलाई हराएकाे छ। यता समग्र तथ्यांक हेर्ने हाे भने चाहिँ जीतमा भारतविरुद्ध पाकिस्तान अघि छ। 

आजकाे खेलमा पनि 'विनिङ प्राेब्याबलिटी' भारतकै बढी छ। त्यसमाथि दुबईकाे पीचमा खेल हुने हुँदा भारतीय खेलाडी भर्खरै सम्पन्न आईपीएलका कारण पनि विश्वस्त भएका छन्। आईपीएल दुबईमै आयाेजना गरिएकाे थियाे। यता केही समयदेखि पाकिस्तानले पनि दुबईकाे पीचमा खेलहरू खेलिरहेकाे छ। 

आजकाे खेलमा भारत विराट काेहली, केएल राहुल, राेहित शर्मा जस्ता धुरन्धार ब्याट्सम्यानसहित मैदान प्रवेश गर्नेछ। त्यसमाथि टी ट्वेन्टीमा उत्कृष्ट रेकर्ड भएका जसप्रीत बुमराहकाे बलिङ अट्याक पाकिस्तानलाई हम्मे हम्मे पर्ने आकलन गरिएकाे छ। 

यता पाकिस्तान पनि कम छैन। बाबर आजमले केही समययता विश्व क्रिकेटमा आफ्नाे दबदबा कायम राखेका छन्। उनकाे रेकर्डहरू आश्चर्यजनक छन्। त्यसमाथि माेहम्मद हफिज, माेहम्मद रिजवान र फखार जमानकाे साथ उत्रने पाकिस्तानकाे ब्याटिङ टोली भारतका बलरलाई आच्छुआच्छु पार्न सक्छन्। 

यता बलिङ अट्याकमा पाकिस्तानसँग शाहीन अफ्रिदी छन्। उनले केही समययता टी ट्वेन्टीमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।  

खेल नेपाली समयअनुसार साँझ ७:४५ बाट सुरु हुनेछ।

७ कात्तिक, २०७८, ०८:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।