कलिलैमा टुहुरो भएका डा. उमेश आमा-बुबाको अनुहार सम्झिएर उपचार गर्छन्

कलिलैमा टुहुरो भएका डा. उमेश आमा-बुबाको अनुहार सम्झिएर उपचार गर्छन्
तस्बिर : कृष्पा श्रेष्ठ

कुन बच्चालाई हुँदैन र बाबुआमाको काखमा लुट्पुटिने रहर। तर पाको उमेरका व्यक्तिको उपचार गर्ने ‘जेरियट्रिसियन’ डा. उमेश बोगटीलाई भने आमाको न्यानो काखको अनुभव नै छैन।

उनलाई आमाले कलिलैमा छोडेर कहिल्यै नफर्किने बाटोमा गइन्। आमा बितेको याद नै छैन उनलाई। डा. उमेश सुनाउँछन्, ‘म सानै हुँदा आमा बित्नु भएको। मलाई याद नै छैन। सायद आमा बित्दा म २/३ वर्षको थिएँ होला।’

आमा बितेपछि उनी बुबाको काखमा हुर्किंदै थिए। तर बुबाले पनि उमेशलाई लामो समय साथ दिन सकेनन्। करिब ९ वर्षको हुँदा उनले बुबाको पनि काख छोड्नुपर्यो। उनी भन्छन्, ‘बुबा पनि म तीन कक्षामा पढ्दा बित्नुभयो।’

उकेरासँगको कुराकानी गर्दैगर्दा बुबाआमाको प्रसंग आएपछि उनी रोकिए, एक्कासि भक्कानिए। बर्रर आँसु खसाले। खल्तीबाट रुमाल झिकेर आँखा पुछे। केही सहज भएपछि फेरि कुराकानी अगाडि बढ्यो।

उमेशले सुने अनुसार उनका बुबा टक्सारमा काम गर्थे। एनका बुबा पढे-लेखेको व्यक्ति थिएनन्। बुबाआमा बितेपछि दाइ र दिदीको साथमा हुर्किए उनी। 

कलिलैमा बुबाआमाको न्यानो काखबाट अलग भएका उमेशलाई सानैदेखि पाको उमेरका व्यक्तिले दुःख पाएको देख्दा के भएर दुःख पाएहोला भनेर खुल्दुली चलिरहन्थ्यो। यसैमा उनी घोत्लिन्थे। उनको त्यो बानी अहिले पनि कायम नै छ।

पाको उमेरका व्यक्तिलाई अहिले पनि आफ्ना बुबाआमाझैं सम्झेर माया भावमा उपचार गर्छन् डा. उमेश। उनलाई पाको उमेरको व्यक्तिको उपचार गरिरहँदा लाग्छ, ‘म आफ्नै बुबाआमाको उपचार गरिरहेको छु।’

पाको व्यक्तिले उपचार पाएर निको हुँदा उनी आफ्ना बुबाआमाको आत्माले शान्ति मिलेको महसुस गर्छन्। उनी भन्छन्, ‘पाको उमेरको व्यक्तिको उपचार गर्दा मेरो बुबाआमालाई आनन्द मिल्छ जस्तो लाग्छ।’

माग्नेलाई सम्मान
डा. उमेश सानोमा बुबाले अरुलाई दुःख दिनुहुँदैन भन्ने अर्ति दिएको सम्झन्छन्। सानो हुँदा पाको उमेरका एक जना मागेर गुजारा चलाउने व्यक्ति माग्न आएको उनी अझै सम्झन्छन्। उमेशलाई याद भएसम्म ती व्यक्तिको हात अपांग थियो। उमेशलाई बुबाले ती माग्ने व्यक्तिलाई चामल दान दिन अह्राएको उनलाई सम्झना छ।

तर, एक हातले चामल दिएको देखेर बुबाले उमेशलाई गाली गरे। उमेशले पुराना कुरा सम्झिए, ‘माग्नेलाई एक हातले चामल दिएँ। मलाई बुबाले किन एक हातले दिएको दुई हातले भरि चामल दे भनेर गाली गर्नुभयो।’

बुबाको गालीपछि उमेशको बालमष्तिस्कले माग्नेलाई पनि सम्मान गर्नुपर्ने रहेछ भन्ने बुझ्यो। बुबाले पाटी-पौवा बनाउने तथा अरुलाई श्रद्धाभावले सहयोग गरेको देखेका थिए उमेशले। उमेशले पनि त्यही सिके।

सानैदेखि बुढाबुढीलाई माया
उमेश २०४० सालमा ललितपुरको बागडोलमा जन्मिएका हुन्। ललितपुरको नख्खुस्थित ‘सुदेशा बोर्डिङ सेकेन्डरी स्कुल’बाट २०५६ सालमा एसएलसी उत्तीर्ण गरेका गरे।

उनले ११ र १२ कक्षा काठमाडौंको नयाँ बानेश्वरस्थित ‘डनबस्को हायर सेकेण्डरी स्कुल’मा पढे। उनी सानैदेखि दीनदुःखीलाई सहयोग गर्न रुचाउँथे। 

त्यसैले ११ र १२ अध्ययन गर्दा नै ‘शान्ति सेवा गृह’मा आवद्ध भएर दीन-दुःखीलाई सहयोगीको रुपमा भोलिन्टियर भएर काम गरेको उनले सुनाए। यो संस्थामा रहेर कुष्ठ रोगी, अपांगता भएका व्यक्ति, द्वन्द्वमा परेर अपांगता भएका व्यक्ति, आमाबुबा गुमाएका बालबालिका जस्ता समस्यामा परेका व्यक्तिलाई यो संस्थामार्फत नजिकबाट नियाल्ने मौका पाए।

उनी भन्छन्, ‘दुःख पाएकालाई सहयोग गर्दा आनन्द लाग्थ्यो।’ पाको उमेरका व्यक्तिप्रति उनको सानैदेखि सद्भाव हुन्थ्यो। 

इन्जिनियर नपढेर डाक्टर
उमेश १० कक्षा पढ्दादेखि बिलगेट्सप्रति प्रभावित थिए रे। त्यसैले कम्प्युटर इन्जिनियर पढ्न चाहन्थे। दाजु-भाउजु विदेश भएकाले ११/१२ पछि विदेश गएर कम्प्युटर इन्जिनियर पढ्ने उनको सोच थियो। अमेरिकामा अध्ययनका लागि छात्रवृत्ति पनि पाए। 

तर, उनको मन मानेन। सोचे, ‘म अमेरिका गएँ भने त पैसा कमाउन थाल्छु। अनि समाज सेवा भन्ने नै बिर्सन्छु होला।’ पैसा कमाएपछि लालच बढ्ला भन्ने सोचले उनले अमेरिका नजाने निर्णय गरे। 

बरु उनले डाक्टर पढेर पाको उमेरका व्यक्तिको सेवा गर्ने सोच बनाए। सोचे, डाक्टर पढ्यो भने त पैसा नभए पनि एक्लैले बिरामीको जाँच गर्न सक्छु। जसको लागि धेरै पैसा कमाउनु पर्दैन।

चीनमा पाको उमेरको डाक्टरी अध्ययन
उमेशले चीनको ‘च्याङ्सी युनिभर्सिटी अफ टिसिएम’ पुगेर एमबिबिएस अध्ययन थाले। सन् २००५ मा अध्ययनका लागि चीन पुगेका उनले सन् २०१० मा एमबिबिए अध्ययन सकेर नेपाल फर्किए। 

एमबिबिएस अध्ययनपछि उनी वीर अस्पताल फर्किएर एक वर्ष काम गरे। त्रिवि शिक्षण अस्पतालमा करिब ६ महिना करार जागिरेका रुपमा काम गरे। त्यसपछि पुनः ‘शान्ति सेवा गृह’मा चिकित्सकका रुपमा करिब ६ महिना जागिरे भएर काम गरे। 

उनमा अध्ययनको भोक कायमै थियो। सन् २०१५ मा चीनको ‘सेन्ट्रल साउथ युनिभर्सिटी’मा स्नातकोत्तर तहको अध्ययनका लागि पुगे उमेश। उनले सन् २०१८ मा ‘जेरियाट्रिक मेडिसिन’ विषयको स्नातकोत्तर तहको अध्ययन पूरा गरेका हुन्।

उनमा सानैदेखि पाको उमेरका व्यक्तिको सेवा गर्ने रहर थियो। त्यसैले यो विषय अध्ययन गरेका रहेछन्। अध्ययनपछि पाका उमेरका व्यक्तिको उपचार गर्ने विशेषज्ञता हासिल गरेर ‘जेडियाट्रिसियन’का रुपमा उनी नेपाल फर्किए। 

सुझाव विपरीत जेरियाट्रिक अध्ययन
त्यसो त उनलाई साथीहरुले ‘जेरियाट्रिक’ विषय अध्ययन गरेर कामै नपाइने भन्दै यो विषय नपढ्न सुझाव दिएका थिए। जेरियाट्रिक विषय पढ्न जानुअघि साथीहरुले भनेको उनले सुनाए, ‘साथीहरुले बुढाबुढीलाई त जँचाउनै लाँदैनन्। तिमीले पैसा नै कमाउँदैनौ भनेका थिए।’ उनलाई एमबिबिएस पढाउने प्राध्यापकहरुले समेत यो विषय अध्ययन नगर्न सुझाव दिएका रहेछन्।

तर, उनी ‘जेरियाट्रिक’ विषय नै अध्ययन गर्ने निष्कर्षमा पुगे। किनकी उनले यो विषयलाई धेरैले बेवस्ता गरेको पाए। 

बालबालिकाको तुलनामा पाको उमेरका व्यक्तिले राम्रोसँग उपचार पनि नपाउने महसुस गरेका डा. उमेशले सुनाए, ‘बच्चाहरुलाई अलिकति केही भयो भने पनि अस्पताल दौडाइहालिन्छ। तर बुढाबुढी बिरामी हुँदा बुढेसकाल लागेको भनेर हेलचेक्र्याईं गरेको देखिन्छ।’ 

नेपालमा थोरै छन्, जेरियाट्रिसियन 
जेरियाट्रिक विषयको अध्ययन सकेर नेपाल फर्किएपछि उनी वीर अस्पतालमा काम गर्न थाले। वीर अस्पतालमा आफू एक जना मात्रै ‘जेरियाट्रिसियन’ चिकित्सक भएको उनले बताए। नेपालमै जेडियाट्रिसियन चिकित्सक न्यून रहेको उनी बताउँछन्।

डा. उमेशकी उनकी श्रीमती पनि चिकित्सक नै हुन्। दुवै जना चिकित्सक भएकाले व्यस्तताका कारण ५ वर्षकी छोरीसँग रमाउने समय कमै मिल्छ। तर समय व्यवस्थापन गरिरहेका छन्।

कुकुरले मुखमा टोकेका बालकको मृत्यु हुँदा...
उनी कान्ति बाल अस्पतालमा इन्टर्नसिप गरिरहेका थिए। अस्पतालमा एक जना महिला करिब ९ वर्षको छोरालाई लिएर उपचारका लागि पुगेकी थिइन्। उनी दुर्गम ठाउँबाट कान्ति आइपुगेकी थिइन्। 

कान्तिमा डा. उमेश पनि ड्युटीमा नै थिए। कान्ति लगिएका बालकलाई मुखमा कुकुरले टोकेको रहेछ। टेकुमा उपचारपछि कान्ति अस्पतालमा रिफर गरिएको रहेछ। तर बिहानै टेकु अस्पतालबाट कान्ति हिंडेका ती आमा-छोरालाई कान्तिमा कहाँनेरी उपचार हुन्छ भनेर पत्ता लगाउँदा-लगाउँदै बेलुका भएछ। 

कुकुरले टोकेका ती बालक अस्पताल भर्ना भए। तर उपचार गर्ने क्रममा नै बच्चाको स्वास्थ्य अवस्था जटिल हुँदै गयो। डा. उमेश रातभरि बालकको उपचारमा खटिए। अलि सुधार भएपछि बिहान करिब ३ बजेतिर केहीबेर सुते। केहीबेरको आरामपछि उठेर बालकको उपचार कक्षतिर जाँदा त उनको भर्खरै मृत्यु भएको खबर सुने डा. उमेशले। 

त्यो घटनाले उनमा गहिरो छाप पर्यो। ती बालक अस्पतालमा समयमा नै पुगेका भए बाँच्थे कि भन्ने अझै पनि उनलाई लाग्छ।

कुरुवालाई खानाको कुपन
त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा काम गर्दा पाको उमेरका बिरामी कुरुवालाई सहयोग गरेको क्षण पनि उनका लागि अविस्मरणीय छ। 

एक जना पाको उमेरका व्यक्ति करिब २४ वर्षे छोरालाई उपचारका लागि अस्पताल लिएर आएका थिए। छोराको पहिले नै मुटुको शल्यक्रिया गरिएको थियो।

पछि पुनः समस्या भएपछि मुटुको शल्यक्रियाका लागि अस्पताल पुगेका रहेछन् उनी। जाडो महिना थियो। बिरामीका बाबुले हाप पाइन्ट, पातलो सर्ट र चप्पल लगाएका थिए। बिरामीका बुबा जाडोले लुगलुग कामेको देखे उमेशले। 

उनले अस्पतालमा बस्दा खान पनि नपाएको देखे डा. उमेशले। त्यसपछि उनले आफ्नो र साथिहरुसँग क्यान्टिनमा खाना खाने कुपन मागेर ती व्यक्तिलाई दिए। पछि छोराको उपचार सफल भएपछि डिस्चार्ज भएर ती व्यक्तिले डा. उमेशलाई आशिर्वाद दिँदै फर्किएका थिए। 

पाटी, पौवाका बिरामी
वीर अस्पतालमा पाटी-पौवामा एक्लै बस्ने पाका उमेरका बिरामी पनि बिलौना गर्दै उपचारका लागि पुग्ने गरेको उमेशले सुनाए। यस्ता निकै जना बिरामीको आफूले उपचार गरेको उनी बताउँछन्। करिब ७० वर्षका एक जना मागेर खाने (जोगी) को नियमित रुपमा उपचारका लागि आउने गरेको उनले जानकारी दिए। 

बढीजसो सुगर, रक्तचाप, दम, अल्जाइमर्स, डिमेन्सिया, पार्किन्सन्स जस्ता समस्यामा परेका पाको उमेरका बिरामी अस्पतालमा स्वास्थ्य जाँच गर्न आउने गरेको उनी बताउँछन्।

उमेर ढल्कँदै जाँदा रोग लाग्ने जोखिम बढी नै हुन्छ। औषधि-औषधि बीचमा धेरै किसिमको ‘रियाक्सन’ हुनसक्छ। त्यसैले पाको उमेरका व्यक्तिको औषधिको कारण पो अर्को समस्या थपिएको हो कि? समयमा औषधि सेवन गरेको छ÷छैन जस्ता धेरै विषयमा ध्यान दिनुपर्ने उनी बताउँछन्। पाको उमेरमा देखिने कतिपय स्वास्थ्य समस्या निको हुनेभन्दा पनि नियन्त्रणमा ध्यान दिनुपर्ने सुझाव दिन्छन् डा. उमेश।

शव देखेर डर
डा. उमेश वीर अस्पतालमा कोभिड–१९ उपचारमा समेत सुरुदेखि नै खटिए। कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा पनि लागिपरे। सुरुवाती दिनहरुमा त स्वास्थ्यकर्मीहरु डराउँदा आफैंले शव बोकेर सेनाको गाडीमा राखेको अनुभव पनि उनीसँग छ।

सुरुसुरुमा संक्रमितको हेरचाहमा परिवार खटिए पनि मृत्यु भएपछि भने डराएर टाढिएको र परिवार शव छोडेर भाग्ने समेत गरेको उनले सुनाए।

कोरोना संक्रमणका कारण अस्पतालमा भारितय नागरिकको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा नै शव छोडेर भागेका रहेछन्। पछि निकै मिहिनेत गरेपछि करिब दुई हप्तापछि  बसेको ठाउँ पत्ता लगाएर शव व्यवस्थापन गरेको उनले बताए।

६ कात्तिक, २०७८, ११:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।