प्रचण्डको बेमौसमी 'मुड'

प्रचण्डको बेमौसमी 'मुड'

विपद् क्षेत्रमा घुमी हिँडेका प्रधानमन्त्री शेरबहादुर देउवाको मनमा विपद्मा परेका नागरिकलाई ढुक्क बनाउनु भन्दा एमसीसीकै पिरलो बढी देखियो। प्रधानमन्त्री तहबाट भएको भ्रमणमा पनि वर्षाले आहत किसानले राहतको अनुभव गर्न पाएनन्। राहत आउँछ भन्नुपर्नेमा 'एमसीसी आउँछ' भन्दै हिँडेका छन्। यो एमसीसी र खेतमा डुबेको धानको सम्बन्ध के रहेछ कुन्नि! उनै जानुन्।

केन्द्र सरकारले अहिलेसम्म किसानलाई भरोसा लाग्ने गरी राहतको कार्यक्रम सार्वजनिक गर्न सकेको छैन। प्रदेश सरकार परिवार गुमाएकाहरूलाई किरिया खर्च घोषणामै व्यस्त छ। गाउँ पुगेको सिंहदरबार बेपत्ता छ यो विपद्मा।

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनबाट देशलाई पार लगाएकोमा गद्गद् गठबन्धनका नेता बेमौसमी वर्षाबाट आहत किसानलाई पार लगाउन कस्सिए हुने नि। कस्सिएनन्। सत्ताधारी दलका शीर्ष नेता कता हो कता। 

सरकारलाई टेको दिएको एकीकृत समाजवादी दल बागमती प्रदेशको मुख्यमन्त्री पाइने हो या हैन भन्ने नै रनाहामा छ। केही दिन भयो माधवकुमार नेपालको समाजवादी अवधारणाका भाषण नसुनिएको। कृषि मन्त्रालय सम्हालेको जनता समाजवादी पार्टीका शीर्ष नेता सिके राउतको कार्यकर्ताको भयले हो कि के हो गायब छन्। अब जनमोर्चालाई छाडिदिउँ। ऊ त सरकारमा पनि छ प्रतिपक्षमा पनि।

यो विपद्मा 'सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक, बाढी र पहिरोबाट प्रभावितलाई राहत कार्यक्रम ल्याउने कार्यक्रममा सहमति' को हेडलाइन बन्नुपर्नेमा हेडलाइन बनिरहेको छ 'माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मुड फ्रेस गर्न सुकुटे बिचमा'।

कस्तो विडम्बना, एकातिर रुँदै खेतमा डुबिरहेको धान उठाइरहेका किसानको तस्बिर सार्वजनिक भइरहेका छन्। अर्कोतिर सरकारको सबैभन्दा बलियो खम्बा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिपलाइन गर्दै मुस्कुराइरहेको तस्बिर सार्वजनिक भइरहेको छ।

एकातिर पानीको आहालमा धान तैरिरहेको छ, अर्कोतिर बोटिङमा प्रचण्ड तैरिरहेका छन्।

हिजो प्राय बाबुराम भट्टराईसँग ठाकठुक पर्दा उनी सुकुटे बिच गएको समाचार सुनिन्थ्यो। कि राजनीतिक प्रतिवेदन लेख्न जान्थे उनी।

ओलीलाई सत्ताधारीबाट प्रमुख प्रतिपक्षी दलको कुर्सीमा पुर्याएको ८८ दिनसम्म सरकारलाई पूर्ण आकार दिन नसक्दा सुकुटे जानै पर्ने गरी उनको मुड बिग्रिएन। पार्टीभित्र मन्त्री बन्न तछाड-मछाड हुँदा उनी केही बिच्किए पनि फ्रेस हुन रिसोर्टै जानुपर्ने गरी मुड अफ भएको देखिएन।

यो वर्षाले विपद् ल्याएकै बेलामा फ्रेस हुन सुकुटे बिचै जानुपर्ने, जिप लाइनमा सयर गर्नुपर्ने अनि खोलाको छालसँगै र्याफ्टिङ नै गर्नुपर्ने गरी किन र कसले उनको मुड अफ गरायो?

यही वर्षाले ल्याएको विपद्मा घरबार गुमाएका, अन्न सोतर बनेका अनि परिवार गुमाएका नागरिकको सम्झनाले ?, कुनै पारिवारिक टेन्सन , वा बाढी प्रभावितलाई भेट्न जाँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले संयमता नदेखाई हप्काएकोमा ?

खुलेको छैन। सायद खुल्दैन पनि।

यो मुड अफ हुनुको कारण खुलोस् या रहस्यमै रहोस्। तर यो विपद्मा प्रचण्डले देखाएको व्यवहारले 'जनताको हितमा १० वर्षे सशस्त्र सङ्घर्ष गरेर केन्द्रीय सत्तामा आएका केन्द्रीय नेताको स्वभाव भने खुलायो 'मलामीमा पञ्चेबाजाको सुमधुर सङ्गीतको सौखिन।' उही बस्ती जल्दा बाँसुरी बजाउने निरोको छवि।

५ कात्तिक, २०७८, २०:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।