उकेरा फिचर

संघर्षको कथा : २७ वर्षको उमेरमा श्रीमान् गुमाएकी प्रतिमाको यसरी बदलियो जीवन


बुटवल : जिन्दगीमा उतार-चढाव नहुँदो हो त रुपन्देही, तिलोत्तमा-३, शंकरनगरकी प्रतिमा पन्थको जीवन छोराछोरीको स्याहार-सुसार र घरधन्दामै बित्थ्यो होला।

तर, सोचेझैं जिन्दगी कहाँ हुँदोरहेछ र!

उतार-चढावले नै त प्रतिमाको जिम्मेवारी सामान्य घर-धन्दामा मात्र सीमित रहेन। परिवारको सम्पूर्ण जिम्मेवारी, छोराछोरीको शिक्षा-दीक्षा, घर-व्यवहार सबै उनकै काँधमा आइलाग्यो।

०००
छरपस्ट चप्पल अनि पोतेका पोका कोठाभित्र असरल्ल छन्, कुनै पलङमा, कुनै भुईंमा। प्रतिमा चप्पल बनाउँछिन्, पोते बनाउँछिन् अनि हाटबजारमा लगेर बिक्री गर्छिन्। त्यहीँबाट आउने पैसाले उनले तीन जनाको परिवार चलाउँछिन्।

एकल महिला हुन् प्रतिमा। एकल महिलाले समाजमा भोग्नुपर्ने हेलाहोचो, दुर्व्यवहारबाट टाढा छिन् उनी। २७ वर्षको उमेरमा श्रीमान् गुमाएकी प्रतिमाले जिन्दगीमा हार मानेकी छैनन्। शोकलाई शक्तिमा बदलेर दृढ भएर लागिन्। जिम्मेवारी बोध गरिन्। त्यति मात्र होइन, लगनशील र मिहिनेती बनिन् । त्यसैले त प्रतिमालाई प्रतिफल हासिल हुन सक्यो।

०००
२ असोज २०६७ बिहान प्रतिमाका श्रीमान् गंगाराम पन्थ स्याङ्जा जान भन्दै बिहानै घरबाट हिँडे। चार वर्षको छोरा र आठ वर्षकी छोरीलाई भोलि बुटवल फर्कन्छु भनेर हात हल्लाउँदै बिदा भएका गंगाराम त्यसपछि कहिल्यै घर फर्केनन्।

प्रतिमाका श्रीमान गंगाराम मालवाहक ट्रकका चालक थिए। बुटवलबाट स्याङ्जा हिँडेका उनले चलाएको ट्रक पाल्पाको आर्यभन्ज्याङमा दुर्घटनामा पर्‍यो। त्यही दुर्घटनाले गंगारामको ज्यान लियो।

‘चार वर्षको छोरा र आठ वर्षकी छोरी छोडेर श्रीमान् मबाट टाढा हुनुभयो। के गर्ने, कसो गर्ने भयो,’ प्रतिमाले भनिन्, ‘सुरुका केही वर्ष अभाव र आँसुमा बिताएँ।’

२७ वर्षको कलिलो उमेरमा श्रीमान् गुमाउनुपर्दाको पीडा भए पनि प्रतिमा आफ्नो जिम्मेवारीबाट भाग्न सक्दिनथिन्। परिवार चलाउनुपर्ने, छोराछोरीलाई शिक्षा-दीक्षा दिनुपर्ने जिम्मेवारी थियो।

‘श्रीमान गुमाएपछि सुरुमा आत्तिएँ। सम्पत्तिको नाममा सानो घर र केही जग्गा थियो। तर लगानीका लागि केही गरौं भने पैसा थिएन। त्यसैले सुरूका केही वर्ष थोरै रहेको जग्गामा भैंसी पाल्ने र तरकारी तथा मकै लगाएर बिक्री गर्ने सोच बनाएँ,’ उनले सुनाइन्।

सहकारीले बनायो उद्यम
प्रतिमा पछिल्लो ६ वर्षदेखि चप्पल, पोते बनाउन र विभिन्न तालिम दिन सक्रिय छन्। श्रीमान् गुमाएपछि १८ वर्षसम्म मकै रोपेर र भैंसी पालेर जीविकोपार्जन गरेकी उनले ६ वर्षदेखि चप्पल, पोते बनाउने र महिलालाई विभिन्न तालिम दिन थालेकी हुन्। यो सबै सहकारीले सम्भव भएको हो।

प्रतिमा शंकरनगरस्थित सामूहिक बचत तथा ऋण सहकारी संस्थाकी सदस्य थिइन्। ६ वर्षअघि सहकारीले बुटिक तालिम दिने निर्णय गर्‍यो। त्यो तालिममा प्रतिमा सहभागी बनिन्। बुटिक तालिमपछि केही गर्नसक्ने आँट उनमा पलायो। उनलाई आफ्नो क्षमता अझै वृद्धि गर्नु थियो। त्यही बेला तिलोत्तमा नगरपालिकाले पनि विभिन्न तालिम दियो। त्यो तालिममा पनि सहभागी भइन्।

त्यहाँ पनि उनले बुटिक बनाउने, चुरा, जुत्ता चप्पल, पोते बनाउन सिकिन्। ‘सहकारीले केही बाटो देखाइदियो। मिहिनेत आफूले गरें अनि तालिम लिएपछिको हौसलालाई व्यावसायिक रुपमा लैजाने गरी अगाडि बढें,’ उनले भनिन्।

तालिमपछि उनले घरमा चुरा, पोते, चप्पलहरु बनाउन अझ मिहिनेत गरिन्। साथी सीता मल्लले उनलाई साथ दिइन्। दुवैले पैसा उठाएर प्रतिमाकै कोठामा सामान खरिद गरे। अनि अझ बढी सिकाइ पनि प्राप्त गरे। ‘निरन्तरको सिकाइपछि बिक्रीयोग्य सामान तयार भयो जस्तो लागेपछि बजारमा लैजान थालियो,’ प्रतिमाले भनिन्, ‘कहिले घर-घरमा डुलाइयो, कहिले बजारमा।’

६ वर्षअघि तालिम पाएपछि प्रतिमा एक वर्षमा चुरा, पोते, चुत्ता-चप्पल, बुटिक बनाउन सक्ने भइन्। त्यसपछि त उनलाई अन्य जिल्लाबाट समेत तालिमका लागि आवहन गर्न थालियो। सिकेको दुई वर्षपछि नै प्रतिमाले तालिम पनि दिन थालिन्।

पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बाँके, कपिलवस्तु, रुपन्देही लगायका जिल्लामा गएर प्रतिमाले अहिले पनि तालिम दिँदै आएकी छिन्। ‘तालिम नहुँदा घरमा बसेर सामान बनाउँछु। हाटबजारमा लगेर बिक्री गर्छु। तालिम हुँदा त्यसैमा व्यस्त भइन्छ,’ उनले भनिन्।

काम सुरुका वर्षहरुमा सामान झोला-झोलामा बोकेर बिक्री गर्दाका दुःख प्रतिमालाई अहिले सपना जस्तै लाग्छ। चुरा, पोते, जुत्ता-चप्पल बिक्री गर्दा समाजले हेर्ने गिद्धे दृष्टिबाट आजित भएको उनी बताउँछन्। 

‘काधमा ठूलो जिम्मेवारी थियो। छोराछोरी पढाउनु, हुर्काउनु थियो। संघर्षकै कारण यहाँसम्म आएँ। सुरुमा कहिले सहकारीको साधारण सभा, कहिले बनको साधारण सभा, कहिले साना किसान सहकारीको साधारण सभा यस्तैमा लगेर बिक्री गर्थें। तर अहिले धेरै सहज भएको छ। आर्थिक प्रगति पनि राम्रो भएको छ,’ उनले भनिन्।

प्रतिमा तालिम दिएको प्रतिदिन दुई हजारदेखि २५ सयसम्म ज्याला लिन्छिन्। बजार हुँदा दैनिक ३ देखि ४ हजारसम्म आम्दानी समेत गर्छिन्।

चुरा, पोते, जुत्ता-चप्पल बिक्री गर्ने र तालिमबाटै प्राप्त भएको आम्दानीले जेठी छोरीलाई प्रतिमाले सिद्धार्थ क्याम्पसमा व्याचलर दोस्रो वर्षमा अध्ययन गराइरहेकी छिन् भने छोरा शान्ति नमुनामा कक्षा ११ मा पढ्दैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

त्रिपालमुनि भोट माग्न गएका उम्मेदवारलाई मतदाताको जवाफ- ‘लिखित वाचा नभए हाल्दैनौं भोटसोट’

रातिको १२ बजेको थियो। एक्कासी गड्याङगुडुङ आवाजसँगै छिमेकीहरू कराएको हल्ला चल्यो। महेन्द्र ब्यूँझिए, यस्सो घरबाहिर हेर्दा पहिरोले घरलाई दायाँबायाँबाट घेरा हालिसकेको थियो। बल्लतल्ल झ्यालबाट हाम....

गाउँमै व्यवसाय गर्न पनि सरकारसँग जुधिरहेका हरिबहादुर दम्पती

सिरीरी चलिरहेने सिरेटो र वरपरको सुन्दर दृश्यले जोकोहीलाई लोभ्याउँछ नै। यहि होम स्टे चलाउने हरि बहादुर घिमिरे र उनी श्रीमती स्वस्तिकाको भने आफ्नै दुःख छ।....

साँखुमा डाेकाे बुन्ने जयनारण भन्छन्- 'नेतालाई भोट हाल्नु र खोलामा ढुङ्गा हान्नु एकै हाे'

एक्लो सन्तान भएको र आफ्नो आर्थिक अवस्था कमजोर भएकै कारण उनले विद्यालय पढ्न जान समेत पाएनन्। गाउँघरमा खेती किसानीको काम गर्दा-गर्दा दिक्क भएका राईकाे दिमागमा....

३० वटा माटाका गिलासबाट सुरू भएकाे ‘दाह्री भाईको चिया पसल’, जहाँ मुख्यमन्त्री र मन्त्रीले चिया पिउँछन्

सुर्खेतमा प्रख्यात बनेको मट्का चियाको ‘ब्राण्ड’सँगै विभिन्न योजना र कुराकानी समेत हुन्छ यहाँ। चुनावी सरगर्मी चलिरहेका बेला अहिले उनको पसलमा राजनीतिका गफ पनि टन्नै हुन्छन्।....

१५ वर्षदेखि आँगनमै भाषण गर्दा पनि कुनै नेताले देखेनन् धर्मबहादुरको घर

कार्यक्रममा उनकै घरतिर माइक फर्काएर नेताहरू ठूल्ठूला स्वरमा भाषण गर्छन्– ‘हामी गरिबलाई धनी बनाउँछौं। बाटो, खानेपानी र बिजुली ल्याउँछौं। गरिबका खरले छाएका झुपडीमा टिन हाल्छौं।....