सेयरका ठूला खेलाडीको ‘प्यानिक सेल’को पासोमा साना लगानीकर्ता

सेयरका ठूला खेलाडीको ‘प्यानिक सेल’को पासोमा साना लगानीकर्ता

बैंकको न्यून ब्याज दर अनि लगानीको अन्य स्रोतको अभावसँगै सेयर बजार अनलाईन पद्धतीमा गएसँगै साना लगानीकर्ताको प्रवेश बढ्यो। 

तर तिनै सेयर बजारबारे कमै जानकारी हुने साना लगानीकर्ताहरूलाई बेलाबखत ठूला लगानीकर्ताहरूले बजारमा हस्तक्षेप गर्न र आफू अनुकूल बनाउन हतियार बनाउने गरेका छन्। 

'सेयर बजार बढ्दै छ' भन्ने हल्ला फैलाएर किन्न उक्साउने अनि 'घट्दै छ' भनेर त्रास फैलाएर साना लागानीकर्ताहरूलाई बेच्न लगाउनुलाई 'प्यानिक सेल'को रूपमा हेर्ने गरिन्छ। 

ठूला लगानीकर्ताले बजारबारे विभिन्न डर देखाएर साना लागानीकर्ताहरूलाई निर्णय नै लिन नसक्ने अवस्थामा पुर्याउँछन्। यस्तो अवस्थामा किन्ने वा बेच्ने भनेर बजारमा भर्खरै प्रवेश गरेका लगानीकर्ताहरूले निर्णय गर्न सक्दैनन्। 

केही समयदेखि बजारमा आएको अप्राकृतिक उतार–चढावका कारण यो सामयमा लगानी गर्ने वा आफ्नो 'प्रोफिट बुक' गर्ने भन्नेमा साना लगानीकर्ता अन्योलमा हुन्छन् नै। 

यो समयमा ठूला लगानीकर्ताहरूलाई बजार बढाउनु छ भने, राम्रो सन्देश बजारमा ल्याउँछन्। बजार घटाउने उद्देश्य छ भने, खराब सन्देश बजारमा ल्याउने सेयर बजारका जानकार एवम सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बाँस्तोला बताउँछन्। 

उनी केही समय अगाडिसम्म साना लगानीकर्ताहरूलाई प्यानिक सेल गराउनको लागि सञ्चारमाध्यम र फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको दाबी गर्दै भन्छन्, ‘अहिले त प्यानिक सेल गराउनको लागि क्लब हाउस, भाइबर ग्रुप लगायतका सञ्जालको धेरै प्रयोग भएको देखेको छु।’

बजारमा नकारात्मक सन्देश आएकै भरमा लगानीकर्ताहरू अहिले आफूसँग भएको सेयर बेच्न हतारिएको उनको बुझाइ छ। 

‘बजार अस्वाभाविक बढ्यो भने वा अस्वाभाविक घट्यो भने प्यानिक सेल मान्न सकिन्छ’, उनी भन्छन्, ‘ यसरी अस्वाभाविक रूपले भएको 'पम्प एन्ड डम्प'लाई स्थिर बनाउनको लागि ठूला लागानीकर्ताहरूले विभिन्न खाले सन्देशहरू फाल्ने गर्छन्। त्यो सन्देशको आधारमा निर्णय गर्न नसकेर साना लगानीकर्ता भने प्रोफिट बुक गरेर जान्छु भन्ने निर्णय गर्छन्।’

कसरी बच्ने प्यानिक सेलबाट ?
यसरी हुने प्यानिक सेलबाट बच्न लगानीकर्ताहरूले आफूले पाएको सूचनालाई फिल्टर गर्न सक्नु पर्ने बाँस्तोलाको भनाइ छ। 

बजारलाई एकै छिनमा घटाएर तल पुर्याउने र बढाएर माथि पुर्याउँदा साना लगानीकर्ताहरूले सही सूचना नपाउँदा बजारबाट बाहिरन बाध्य हुने गरेको उनको अनुभव छ। आफूसँग सही सूचना भयो र प्यानिक सेलको सिकार भइएन भने प्यानिक सेल गराउन खाज्नेहरू नै हार्ने उनको भनाइ छ। 

लगानीकर्ताले आफू 'ट्रेडर' वा 'इन्भेस्टर' को हो भनेर छुट्याउन सक्यो भने यस्ता खाले चलखेलबाट बच्न सक्ने बाँस्तोलाको भनाइ छ।
दोस्रो लकडाउनपछि कमजोर कम्पनीहरूको पनि सेयर मूल्य एकदमै बढ्यो। ती कम्पनीहरूलाई जबरजस्ती पम्प गरेर बढाइएकोले सेयर बजार जबरजस्ती बढेको थियो। 

बजार आफू अनुकूल हिँडाउन ठूला लगानीकर्ताहरूले अब बजार घट्दैन भनेर विभिन्न सन्देशहरू फैलाए। बजारलाई नाकारात्मक मोडमा लैजान साइन्स ट्रेडिङ गरेर, क्लब हाउसमा छलफल गरेर प्यानिक सेलका लागि अभिप्रेरित गरे।

यस कारण ओरालो लाग्यो बजार 
ठूला लगानीकर्ताहरू बजारलाई माथि पुर्याएर आफू प्रोफिट बुक गरेर बजारबाट बाहिरिएकाले अहिले सेयर बजार निरन्तर ओरालो लागेको जानकारहरूको मत छ।

‘सेयरका खेलाडीहरू नै बजारबाट बाहिरिएपछि बजार त्यही अवस्थामा नै रहने त कुरै भएन नि!’ नाम खुलाउन नचाहने एक लगानीकर्ता भन्छन्, ‘बजार बुलीस ट्रेन्डमा भएको बेलमा किनेको लगानीकर्ताले कि त बजार थोरै घटेको सामयमा नै प्रोफिट बुक गर्नुपर्थ्यो।’

कुनै पनि कम्पनीको सेयर मूल्य ३० देखि ५० प्रतिशतसम्म घट्यो भने पनि त्यो कम्पनीको सेयर मूल्य केही समयमा नै बढ्ने सेयर बजारका अर्का एक लगानीकर्ता बताउँछन्। 

तर त्यस्तो अवस्थामा पनि ठूला लगानीकर्ताले चलखेल गरेर फेरि बजार घट्छ भनेर हल्ला फिजाउने गरेका छन्। र उनै ठूला लगानीकर्ताहरूले त्यो सेयर किन्ने गरेको उनको बुझाइ छ। 

साना लगानीकर्ताहरूलाई प्यानीक सेलको पासोमा पारेर ठूला लगानीकर्ताहरूले बजारभाउ घटेको समयमा सेयर किनेर फेरि बजार बढाउने गरेको जानाकारहरू बताउँछन्।

लगानीकर्ताले पाउने सूचनालाई सही विश्लेषण गर्यो भने साना लगानीकर्ताले प्यानीक सेलबाट बच्न सक्ने नयन बाँस्तोला बताउछन्। लगानीकर्ता धेरै मात्तिए भने बजारको बुलीस ट्रेन्ड सकिने र लगानीकर्ता धेरै आत्तिए भने बजार घट्ने ट्रेन्ड सकिने उनको बुझाइ छ। 

बजार कता जाँदै छ भनेर अफैंले विश्लेषण गर्न सक्नुपर्छ। साथसाथै आफू ट्रेडर वा इन्भेस्टर हो भनेर आफैं मूल्याङ्कन गर्नु पर्दछ। 
यसरी आफ्नो लगानीको बारेमा थाहा भयो भने प्यानिक सेलबाट थोरै भए पनि बुझ्न सकिने बाँस्तोलाको भनाइ छ। 

‘यत्रो ठूलो बजारमा ५० वटा मात्रै धितोपत्र दलाल छन्। उनीहरूले नै अन्यलाई लाइसेन्स नदिन खेल खेलेर सिन्डिकेट कायम गरेका छन्। ती धितोपत्र दलालहरूले नेपालको सेयर बजार सीमित वर्गमा नै राख्न खोजेका छन्’, उनी थप्छन्, ‘५० लाखले डिम्याट खोलेको कुरा एक ठाउँमा छ। धितोपत्र खरिद बिक्रीमा केही समयको लागि बबल आउँछ। र त्यो बबल केही समयमा जान्छन भन्ने सोच राखेका छन्।’

धितोपत्र दलालले आफूहरूले मात्रै कमाउनु पर्छ भन्ने सोच राखेकाले सीमित व्यक्तिहरूले मात्रै चलखेल गरेका छन्। नेपालको सन्दर्भमा यस्तो भए पनि अन्य देशको बजारमा यस्तो चलखेल कम हुने बाँस्तोलाको बुझाइ छ। 

‘अन्य देशमा त इन्साईडर ट्रेडिङ, सर्कुलर ट्रेडिङलगायतको बजारलाई नकारात्मक असर गर्ने चलखेल भयो भने त कारबाही हुन्छ नि! नेपालको जस्तो बजारमा सीमित व्यक्तीको चलखेल हुने भएकोले कारबाहीको दायरमा आउँदैनन्’, उनी थप्छन्, ‘तर नेपालमा त हामीले नेप्सेको सीईओ र धितोपत्र बोर्डको अध्यक्षले नै त्यस्ता किसिमका काम गरेका छन्।’

उनी अहिले प्यानिक सेलबाट बच्नको लागि आफ्नो पोर्टफोलियो बलियो बनाउनु पर्ने बताउँछन्। पोर्टफोलियो राम्रो भयो भने बजार केही घटे पनि त्यो कम्पनीले दिने डिभिडेन्ट २० प्रतिशत मात्रै दियो भने पनि राम्रो फाइदा हुने उनको बुझाइ छ। 

यसका अलावा सेयरको संख्या पनि बढ्ने भएको कारण बजार बढ्दा प्यानीक सेलबाट नभाग्ने लगानीकर्तालाई फाइदा हुने उनको भनाइ छ। ‘अहिलेको जस्तो अवस्थामा प्यानिक सेलको सिकार भयौं भने पुनः बजारमा फर्कन गाह्रो हुन्छ। र ठूलो घाटामा जान्छौं। त्यसैले सामाजिक सञ्जालमा र समाचारमा आएका कुराहरूलाई फिल्टर गरेर मात्रै लगानी गर्नुपर्छ। यति भयो भने प्यानिक सेलबाट त बच्छौं नै राम्रो कमाइ पनि हुन्छ’, उनले भने।  

४ कात्तिक, २०७८, १४:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।