सम्झनामा सराय नाच (फोटोफिचर)

सम्झनामा सराय नाच (फोटोफिचर)

बुटवल: पश्चिम नेपालमा नाचिने सराय नाच दुई वर्षयता ठप्प छ। कोरोना महामारीका कारण प्रसिद्ध सराय नाच सम्झनामै सीमित हुने खतरा बढेको छ। 

एकादशीदेखि पूर्णिमाका दिनसम्म सराय नाच नाच्ने प्रचलन रहेको छ।

किंवदन्तीअनुसार भगवान रामले रावण लगायतका राक्षसको बध गरी मानवजातिलाई मुक्ति दिलाएको खुसीयालीमा असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा सराय नाच नाच्ने गरिन्छ। 

पश्चिम नेपालको अर्घाखाँचीस्थित अर्घादेखि सुरु भएको सराय नाच लुम्बिनी प्रदेशका अधिकांश पहाडी जिल्लामा नाचिन्छ। एकादशीदेखि पूर्णिमासम्म विभिन्न कोटघर तथा स्कुलका मैदानमा सराय नाच नाच्ने परम्परा छ।

पहेँलो जमराको माला घाँटीमा सिउरिएर खुँडा, भाला, तरबार, खुकुरी, लौरा र फूल छोपेर युद्धको झल्को दिने गरी सराय नाच नाचिने गरिन्छ। 

तर यस वर्ष सराय भएन। कोरोनाका कारण गत वर्ष पनि सराय नाच भएको थिएन।

लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पालगायका जिल्लामा सराय नाच नाच्ने गरिन्छ। सराय नाचले भगवती देवी प्रशन्न हुने जनविश्वासका कारण दशैंमा सराय नाच नाच्ने गरिन्छ।

अर्घाखाँचीको अर्घा सराय नाचका लागि बढी प्रसिद्ध रहेको छ। त्यस बाहेक गुल्मीको ईस्मा र घमिरमा एकादशीमा सराय नाच नाच्ने गरिन्छ। द्वादशीमा अर्जै, रातीपोखरी, त्रयोदशीमा अमरपुर, चतुर्दशीमा छाप र कोजाग्रत पूर्णिमामा अर्जै पोखराबारी, धुर्कोटमा सराय नाच नाच्ने गरिन्छ।

साथीभाइहरू जम्मा भएर गीत गाउँदै सराय खेल्ने पुरानो संस्कृती अहिले बदलिएको छ। ‘खुडा तरबारहरू नचाएर सराय नाचिन्थ्यो। तर यी सबै अनुसरण अहिलेको पुस्ताले गर्दैन’, अर्जै स्थायी घर भई तिलोत्तमा जानकी नगरमा बस्दै आएका खड्ग बहादुर अर्यालले भने।

त्यसो त दशैंमा सराय नाच भेटघाटका लागि पनि महत्त्वपूर्ण मानिन्छ। सराय नाचकै मेसो पारेर चर्खे पिङ खेल्ने  र जेरी खाने पनि गरिन्छ।

हालसालै पहाडी जिल्लामा नाचिने सराय नाच तराईमा नाच्ने अभ्यास भइरहेको छ। बुटवलको देवीनगर, जीतगढीमा अर्घाखाँचीमा नाचिने सराय नाच देखाउन थालिएको छ। ‘खुडा र भाला तरबार नचाएर नाचिने सरायलाई शहरमा देखाउनु पर्छ भनेर हाम्रो पहलमा सुरु गरिएको छ’, संस्कृतिका जानकार क्रृषि आजाजले भने।

सबै तस्बिर: मालिका गाउँपालिका वडा नं. ६ अर्जै पोखराबारीमा ०७५ सालमा कोर्जागत पूर्णिमा लागेको सराय मेलाको फाइल तस्बिर। विकाश पराजुली

२ कात्तिक, २०७८, १०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।