कर्णाली प्रदेश अस्पतालमा बिहान ७ बजेदेखि नै विशषेज्ञ सेवा

कर्णाली प्रदेश अस्पतालमा बिहान ७ बजेदेखि नै विशषेज्ञ सेवा

सुर्खेतः कर्णाली प्रदेश अस्पतालमा अब बिहान ७ बजेदेखि नै विशेषज्ञ सेवा सुरु हुने भएकाे छ। प्रदेश अस्पतालमा आउने बिरामीहरूलाई सहज र सरल सेवा पुर्याउने उद्देश्यले शनिबारबाहेक हप्ताको ६ दिन बिहान ७ बजे देखि ९ बजे सम्म विशेषज्ञ सेवा सुरु गरिएको हो।

बिहानको समयमा विशेषज्ञ सेवा लिन आउने बिरामीहरूको लागि भने विशेषज्ञ सेवा शुल्क बापत प्रत्येक व्यक्तिले चार सय र ओ.पी.डी.कार्ड शुल्क २५ तिर्नु पर्ने प्रदेश अस्पतालका निर्देशक प्रा.डा.डम्वर खड्काले जानकारी दिए।

पछिल्लो समयमा प्रदेश अस्पतालप्रतिको बढ्दो विश्वासका कारण टाढाटाढाबाट उपचारको लागि आएका बिरामीहरूलाई अस्पतालले आफ्नो औपचारिक समयमा दिने सेवाले मात्रै धान्न नसकिने भएपछि बिहानी सेवाको सुरुआत गरेको खड्काले बताए। उनका अनुसार यो सेवा आजदेखि नै सुचारु भएको छ।

‘अस्पताल भित्र दिइने अतिरिक्त विशेषज्ञ सेवा नेपालको अन्य अस्पतालहरूमा सञ्चालन भएको भए पनि कर्णाली प्रदेश अस्पतालमा भने पहिलो पटक हो। योभन्दा अगाडि मेडिकल अधिकृतको नेतृत्त्वमा सञ्चालन गर्न खोजे पनि त्यसलाई प्रभावकारी बनाउन नसकिएकोले यो पटक विशेषज्ञसहितको सेवा अस्पतालबाट नै दिन सुरू गरेका छौं,’ निर्देशक खड्काले भने,’ ‘महंगो शुल्क तिरेर बिरामीहरू अस्पतालबाट बाहिर जानु नपरोस् र छिटो छरितो सेवा पाउन भन्ने हाम्रो उद्देश्य हो।’

अस्पतालले दिने अतिरिक्त सेवामा बालरोग, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाडजाेर्नी तथा नसा रोग, नाक कान घाँटी रोग, छाला सौन्दर्य तथा यौन रोग, मानसिक रोग लगायत छन्। क्याबिनमा बसेर तत्काल सर्जरी अप्रेशन सेवा लिन चाहेमा ५० प्रतिशत अतिरिक्त शुल्क तिरेमा सेवा लिन सकिने छ।

१ कात्तिक, २०७८, २०:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।