सुनसरीको बन्दी गृहमा मृत्यु प्रकरण : न्यायाधीशको नेतृत्वमा छानबिन समिति नबन्ने 

सुनसरीको बन्दी गृहमा मृत्यु प्रकरण : न्यायाधीशको नेतृत्वमा छानबिन समिति नबन्ने 
तस्बिर गृहमन्त्रीको सचिवालय

तथ्य बाहिर ल्याउन र दोषीलाई कारबाही गर्न आफू प्रतिबद्ध रहेको गृहमन्त्री खाणले बताए। 

आइतबार गृह मन्त्रालयमा मुस्लिमसँग सम्बन्धित सङ्घ संस्थाका प्रतिनिधिहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री खाणले सामाजिक सद्भाव कायम राख्दै तथ्य बाहिर ल्याउन सरकार र आफू संवेदनशील रहेको बताए। 

उनले सबै नागरिक आफ्नो धर्म संस्कृति अवलम्बन गर्न स्वतन्त्र रहेको उल्लेख गरे। गृहमन्त्रीको निजी सचिवालयका अनुसार सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा भन्दै त्यसमा आफू प्रतिबद्ध रहेको मन्त्री खाणले बताए।  

ज्ञापनपत्रमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित छानबिन समितिलाई भङ्ग गरी उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा मानव अधिकारकर्मी, सिआइबीका प्रमुख, कानुन विज्ञ, विधि विज्ञान प्रयोगशालाका विज्ञ नागरिक समाजका प्रतिनिधि सम्मिलित गराउन माग गरिएको छ। 

गृहमन्त्री खाणले सरकारले उच्च अदालतका न्यायाधीशको नेतृत्वमा छानबिन समिति सिधै बनाउन नसक्ने र न्यायपालिकाको अनुमति माग्नु पर्ने जवाफ दिएका छन्।

ज्ञापन पत्रमा रानी शर्मासँग लामो समयसम्म प्रेम सम्बन्धमा रहेका साहलाई शर्माका बुबा विष्णु शर्मा खत्वेको मिलेमतोमा हत्या भएको आरोप लगाइएको छ।  उनीहरूले पछिल्लो समय रानीले सामाजिक सञ्जालमा लेखेका धारणाले पनि त्यो देखाउने भन्दै उनलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्न माग गरेका छन्। 

३१ असोज, २०७८, १६:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।