विप्लव नेकपासँगको सहमति कार्यान्वयन : फिर्ता गर्न नमिल्ने मुद्दा मात्रै बाँकी

विप्लव नेकपासँगको सहमति कार्यान्वयन : फिर्ता गर्न नमिल्ने मुद्दा मात्रै बाँकी

सहमति कार्यान्वयनका विषयमा गृहमन्त्री खाँणले आज कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग छलफल गरेका हुन्। 

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो। 

सहमतिको बुँदा नम्बर तीनमा रहेको ‘नेपाल सरकार, नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूको रिहाइ र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको छ,’ भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको गृहमन्त्री खाणको निजी सचिवालयले जनाएको छ। 

छलफलमा कानुन सचिव सापकोटाले गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयबाट रिहाइका लागि मन्त्रालयमा आएका सिफारिस मध्ये अधिकांश रिहाइ भइसकेको जानकारी गराए। केही फिर्ता गर्न नमिल्ने प्रकृतिका मुद्दा मात्रै बाँकी रहेको उनले जानकारी गराए। 

सहमति कार्यान्वयनका बाँकी विषयमा एक पटक छलफल गर्ने र तयारी पूरा भएपछि नेकपाका नेताहरूसँग बसेर टुङ्ग्याउने सहमति बनेको सचिवालयले जनाएको छ।

३१ असोज, २०७८, १६:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।