फुटबल प्रशिक्षक अलमुताइरीले भने : नेपालबारे निर्णय गर्न केही हप्ता चाहिन्छ, नेपालको माया भुल्न सक्दिन

फुटबल प्रशिक्षक अलमुताइरीले भने : नेपालबारे निर्णय गर्न केही हप्ता चाहिन्छ, नेपालको माया भुल्न सक्दिन

पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाल शनिवार भारतसँग ३-० को हार बेहोर्दै उपविजेता बनेको थियो।

'हामीले आजको फाइनल हार्यो किनभने हामीसँग फाइनल खेलेको अनुभव थिएन। एक मिनेट भित्रै दुई गोल खानु निकै कठिन हुन्छ,' उनले भने।

उनले फाइनलमा पराजित भए पनि नेपाली खेलाडीहरूले राम्रो खेलेको भन्दै उनीहरू नेपाल फर्कँदा माया दिन नेपाली फुटबल समर्थकहरूलाई आग्रह गरे।

'सबैभन्दा महत्त्वपूर्ण भनेको १८ तारिखमा नेपाली फुटबल टोली बिहान एयरपोर्ट आउनेछ, र मेरो आग्रह नेपाली जनतासँग यो छ कि उनीहरूले सर्पोट गर्नुपर्छ' उनले भने।

यदि नेपालले यही स्तरको खेल खेलेको हेर्न चाहन्छ भने उनीहरूले नेपाली टिमलाई माया देखाउनुपर्ने उनले बताए।

उनले अलमुताइरीले नेपालबाट पाएको साथ छोड्न सहज नभएको प्रतिक्रिया दिँदै केही समय आराम गरेर के गर्ने निर्णय गर्ने बताए। यश अगाडि उनले नेपालको प्रशिक्षकको रूपमा साफ फाइनल आफ्नो अन्तिम खेल हुने बताएका थिए।

‘मैले नेपालबाट धेरै माया पाएको छु। म मेरो टिमका खेलाडी, सबै अफिसियल सहकर्मी, समर्थक, मेरो परिवार सबैलाई धेरै माया गर्छु। मेरो अन्तिम साससम्म पनि म नेपाललाई माया गरिरहनेछु,' उनले भने' मलाई नेपाली समर्थकले सधैँ माया गर्नुभएको छ। नेपालमा मलाई मन नपराउने पनि छन्, तर सबै नराम्रो भने होइन। मुख्य कुरा मैले नेपाली समर्थकबाट पाएको माया हो। यसलाई छोड्न सहज छैन।’

उनले भविष्यबारे निर्णय लिन केही समय चाहिने बताउँदै पछिल्लो ६ महिना लगातार काम गर्दै आएकाले  एक दुई साता विश्राम लिएर मात्र नेपालसँग भविष्यबारे सोच्ने बताए।

३१ असोज, २०७८, १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।