डा. सुनिलले भुल्न नसकेको क्षण : 'जब कोरोना संक्रमित गर्भवतीलाई बचाउन सकिनँ'

डा. सुनिलले भुल्न नसकेको क्षण : 'जब कोरोना संक्रमित गर्भवतीलाई बचाउन सकिनँ'
तस्बिर : कृ्ष्पा श्रेष्ठ

केही महिनाअघि कोरोना भाइरस संक्रमित गर्भवतीलाई बचाउन नसकेको घटना सम्झँदा फिजिसियन डा. सुनिल शर्मा आचार्यको मन अहिले पनि चसक्क हुन्छ।

चिकित्सकको टोलीले अथक उपचार प्रयास गर्दा पनि ती गर्भवती र उनको गर्भमा रहेको बच्चाको मृत्युको घटनाले उनलाई झस्काउँछ।

यस्तो थियो घटना- कोरोना संक्रमित गर्भवती परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)’ मा भर्ना भइन्। उनको उमेर करिब ३२ वर्षको थियो। अस्पताल भर्ना भएकी ती महिलाको करिब ३६ हप्ताको गर्भ थियो। सुत्केरी हुने समय नजिकिँदै थियो। 

तर, बच्चालाई जन्म दिनुपूर्व नै उनलाई कोरोना भाइरस संक्रमणले गाँज्यो। उनमा कोरोना परास्त गरेर आफू बाँच्दै बच्चालाई बचाउनुपर्ने चुनौती आइलाग्यो। 

चिकित्सकहरुले ती गर्भवती र उनको गर्भमा रहेको बच्चा बचाउन उपचारका उपलब्ध सबै विधि अपनाए। हरसम्भव कोशिस गरे। 

तर, महिलाको स्वास्थ्य अवस्था जटिल बन्दै गयो। उनी बेहोस भइन्। मुटुको चाल बन्द हुँदै गयो। मुटुको चाल फर्काउनका लागि चिकित्सकको टिमले सिपिआर गरिरहे। होसमा ल्याउने अथक प्रयास भयो।

बचाउन सकिने आशामा चिकित्सकको टिमले आइसियु बेडमा गर्भवतीको शल्यक्रिया गरेर बच्चा निकाले। उपचारको त्यो टिममा डा. सुनिल पनि थिए। उनले सुनाए, ‘एकातर्फ छाती थिचेर मुटु फिर्ता ल्याउने प्रयास भइरहेको थियो। गाइनेको टिमले शल्यक्रिया गरेर बच्चा निकालिरहेको थियो।’ 

चिकित्सकको टिमले जति प्रयास गर्दा पनि न महिलाको श्वास फेर्न सकिन् न त उनको गर्भमा रहेको बच्चाले नै श्वास फेर्यो। कोरोनासँग गर्भवतीको केही लागेन। उनी हारिन्। आमा र बच्चा दुवैले प्राण त्यागे। 

डा. सुनिल सुनाउँछन्, ‘आमालाई जोगाउन सकिन्छ कि भनेर बच्चा पनि निकालियो। तर न आमाको मुटु फिर्ता ल्याउन सकियो। न बच्चा बचाउ सकियो।’ गर्भवती महिलाको त्यो कारुणिक मृत्यु उनको चिकित्सकीय जीवनकै नबिर्सने घटना हो। 

यो मात्रै हैन, प्रसूति गृहमा कोरोना भाइरस संक्रमणका कारण गर्भवतीको मृत्यु भएका अन्य घटना पनि सम्झन्छन्, सुनिल। संक्रमण उच्च विन्दुमा पुगेको अवस्थामा गर्भवती महिला अक्सिजनको अभावले छटपटाएको अवस्थाको साक्षी थिए उनी।

डा. सुनिल भन्छन्, ‘संक्रमित गर्भवती अक्सिजन नपाएर श्वास फेर्न नसकेर छटपटाइरहेको घटना भन्न पनि गाह्रो हुन्छ।’

१६ वर्षकी संक्रमित गर्भवती बाँच्दा...
डा. सुनिलले गर्भवतीको मृत्यु मात्र होइन, १६ वर्षीय कोरोना भाइरस संक्रमित अर्की गर्भवतीलाई बचाएको प्रसंग पनि भुलेका छैनन्।

करिब १६ वर्षकी कोरोना भाइरस संक्रमित गर्भवती युवती प्रसूति गृहमा भर्ना भएकी थिइन्। जुन समयम्ँ कोरोनाको दोस्रो लहर उच्च विन्दुमा पुगेको थियो। 

ती गर्भवतीलाई अस्पतालमा उपचार थालियो। कोरोनाका कारण उनलाई कडा किसिमको निमोनिया भएको थियो। अक्सिजनको मात्रा कमी भएकाले अक्सिजनको मात्रा दिनदिनै बढाउँदै लानुप¥यो। गर्भवतीलाई करिब एक महिना आइसियु तथा भेन्टिलेटरमा राखेर उपचार गरियो। उनमा मिर्गौला, कलेजो, फोक्सो, मुटु लगायतका शारीरिक अंगमा संक्रमणको असर परिसकेको थियो। शरीर शिथिल हुँदै गएको थियो। 

तर, डा. सुनिल लगायतको चिकित्सकको टिमले ती युवतीको उपचारमा कुनै कमी हुन दिएको थिएन।

नभन्दै युवतीले कोरोना भाइरस संक्रमण जित्न सफल भइन्। आफूले मात्रै कोरोना जितिनन्, बच्चालाई पनि सकुशल जन्म दिइन्। सामान्य (नर्मल डेलिभरी) भयो। आमा र बच्चा दुवैको ज्यान बाँच्यो। युवती कोरोना जितेर बच्चा च्यापेर घर फर्किइन्। 

संक्रमणका कारण छटपटाउँदै अस्पताल पुगेकी ती युवती र गर्भमा रहको बच्चा जन्मिएर डिस्चार्ज भएको क्षण डा. सुनिलका लागि अविस्मरणीय छ।

उपचारका लागि ढिला आउँदा आश नै मारिसकेका महिला पनि ठिक भएर घर फर्कंदाको क्षण निकै आनन्ददायी हुने उनी बताउँछन्। अझै पनि कोरोना संक्रमणको जोखिम भएकाले सचेत हुन डा. सुनिलको सुझाव छ।

प्रसूति गृह पुग्ने गर्भवतीमध्ये करिब ९० प्रतिशतले खोप लगाउन हुँदैन भन्ने भ्रमले खोप नलगाएको पाइएको सुनाउँछन् उनी। तर गर्भवती र सुत्केरी महिलाले पनि खोप लगाउन मिल्ने भएकाले सबैले लगाउन उनको सुझाव छ। डा. सुनिल भन्छन्, ‘कोभिड भयो भने गर्भवतीलाई बढी जोखिम हुन्छ।’

प्रसूतिका एक्ला फिजिसियन
डा. सुनिल गत वर्ष असोजमा प्रसूति गृहमा सरुवा भएर काम गर्न थालेका हुन्। जुन बेला कोरोना भाइरस संक्रमण नेपालमा फैलँदो क्रममा नै थियो। उनी प्रसूति गृहका एक्ला ‘फिजिसियन’ चिकित्सक रहेछन्। त्यहाँ अधिकांश फिजिसियन चिकित्सक काम गर्न हिच्किचाउँदा रहेछन्। उनलाई पनि कतिपय साथीहरुले प्रसूति अस्पतालमा किन जानु? भनेर नाक समेत खुम्च्याएका रहेछन्।

अस्पतालमा उनी एक्लो फिजिसियन भएकाले कोरोना भाइरस संक्रमण उच्च विन्दुमा पुगेको समयमा संक्रमण व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो। कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा फिजिसियन चिकित्सकको महत्वपूर्ण भूमिका हुन्छ। उनले सुनाए, ‘यहाँ आउँदा कोभिडको एकदमै महामारी थियो। फिजिसियनले हेर्नुपर्ने बिरामी हेर्नको लागि फिजिसियन हुनुहुन्थेन। दोस्रो लहरमा यहाँ काम गर्नुपर्यो।’ तर चिकित्सक तथा व्यवस्थापकीय टिमको सहकार्यले कोरोना व्यवस्थापन गर्न सकेको उनको अनुभव छ।

कोरोना भाइरस संक्रमण उच्च बिन्दूमा पुगेको समयमा त रातमा निद्रा न दिनमा खानपान। २४सै घण्टा खटेर काम गरेको उनले सुनाए। डा. सुनिलले भने, ‘दोस्रो लहरमा काहालीलाग्दो नै थियो अवस्था।’ 

कोरोना भाइरस संक्रमण उच्च विन्दुमा पुगेको समयमा उनी एक जना फिजिसियनले धान्नै नसक्ने अवस्था आयो। त्यसैले वीर अस्पतालबाट तीन जना फिजिसियन चिकित्सक प्रसूति गृह आएर करिब दुई महिना काम गरेको सुनिलले सुनाए।

बिरामीको अनुहारमा परिवारको झल्को
उनकै परिवारमा बुबाआमा, दिदी, श्रीमतीलाई कोरोना संक्रमण भयो। अस्पतालमा आइसियुमै भर्ना गर्नुपर्यो। तर त्यो अवस्थामा पनि उनी परिवारको हेरचाहमा समय दिन भ्याउँदैनथे। टिचिङ अस्पतालमा परिवारलाई भर्ना गरेर उनी भने प्रसूति गृह आइपुग्थे। जहाँ डा. सुनिलको उपचारको पर्खाइमा कोरोना संक्रमित गर्भवती तथा सुत्केरी महिला छटपटाइरहेका हुन्थे। 

‘परिवारको जीवन-मरणकै जस्तो अवस्था थियो। आइसियुमा नै राखेर उपचार गर्यौं सबै जनालाई,’ उनले सुनाए, ‘म घरिघरी परिवार हेर्न जान्थें। अनि यतै आउथेँ।’ उता परिवारका लागि कुरुवा राखेर उनी प्रसूति गृह पुग्थे।

डा. सुनिलले आफ्नै परिवार संक्रमित भएर अस्पतालमा बस्नुपरेपछि कोरोना भाइरस संक्रमित बिरामी र उनीहरुका परिवारले कति दुःख पाउनुपर्दोरहेछ भन्ने कुराको अनुभूति गरे। उनले गम्भीर हुँदै भने, ‘आफ्नै परिवार संक्रमित भएपछि कोभिडका बिरामी र परिवारले कत्तिको दुःख पाउनुपर्दोरहेछ भन्ने मैले भोगें।’

आफ्नो परिवार नै संक्रमित भएपछि भने उनले प्रसूति गृहमा संक्रमित बिरामीको उपचार गर्दा आफ्नो परिवारको अनुहार बिरामीमा देख्न थाले। डा. सुनिलले भने, ‘यहाँ बिरामीको उपचार गर्दा उहाँहरुको अनुहारमा अस्पतालमा उपचार गरिरहेका मेरो परिवार देख्थेँ।’ 

बिरामीको उपचार गर्दा उनलाई लाग्न थाल्यो, ओहो! यो बिरामीले मेरो परिवारले जस्तै दुःख पाएको छ। मैले जस्तै यो बिरामीको परिवारले पीडा भोगेको छ।’ जसले गर्दा झन् बढी उनको बिरामीप्रति सहानुभूति पनि प्रकट हुन थाल्यो। जसरी पनि बिरामी बचाउनुपर्छ भन्ने भावना उनमा थप जागृत भयो।

बेडमा अन्य अस्पतालका फाइल
डा. सुनिल प्रसूति गृह जानुअघि उपचारका लागि प्रसूति गृह पुग्ने महिलालाई सुगर, रक्तचाप (प्रेसर) लगायतको स्वास्थ्य जाँचका लागि अन्य अस्पताल पठाउनुपर्ने बाध्यता थियो। तर आफू पुगेपछि भने प्रसूतिमा नै स्वास्थ्य जाँच हुन थालेको उनले सुनाए।

हुन त उनी सरुवा भएर प्रसुती गृह पुग्दा धेरै जना बिरामीको बेडमा नर्भिक लगायत अन्य अस्पतालको फाइल हुन्थे। कारण, प्रसूति गृहमा फिजिसियन थिएनन्। त्यसैले फिजिसियनले गर्नुपर्ने स्वास्थ्य जाँच तथा उपचारका लागि अन्य अस्पतालमा पठाइन्थ्यो। 

‘म यहाँ आउँदा धेरै बिरामीको बेडमा नर्भिकको फाइल हुन्थ्यो,’ उनले सुनाए, ‘बिरामीको सुगर, प्रेसर लगायत अरु मेडिकल समस्या जाँच गर्नुपर्ने अवस्थामा कम पैसा हुने वीर अस्पताल जानुपर्थ्यो, पैसा हुनेले नर्भिकमा जाँच गर्दा रहेछन्।’ 

‘प्रसूति गृह बसेर नेपाल देखें’
गर्भवतीको उपचार गर्दा अन्य व्यक्तिको तुलनामा बढी चुनौती र भावनात्मक रुपमा पनि बढी सहानुभूति हुने गरेको उनको अनुभव छ।

त्यसो त सरकारी अस्पतालमा उपचारका लागि पुग्ने कयौं महिलाको खल्तीमा पैसा नै हुँदैन। जसले गर्दा उपचारमा समस्या परेको देख्दा कयौं बिरामीलाई  आफूले आर्थिक सहयोग समेत गरेको उनले सुनाए। 

अस्पतालमा पैसाको अभावमा रोग पालेर आएका बिरामीहरु प्रशस्तै हुने उनले सुनाए। दूरदराजका व्यक्तिको दैनिकी कतिसम्म दर्दनाक छ भन्ने कुरा उनले प्रसूति गृहमा काम गरिरहँदा महसुस गरेका छन्। डा. सुनिलले भने, ‘यहाँ बसेर नेपाल देखें मैले।’

मिर्गौलाको समस्या भएकी विपन्न महिलालाई आफैंले पैसा सहयोग गरेर प्रयोगशाला जाँच (ल्याब टेष्ट) गराउनेदेखि छोराको उपचार गराइरहेका बाबुलाई अस्पतालमा खानाको व्यवस्था गरिदिएको प्रसंगसमेत सुनाए डा. सुनिलले।

छात्रवृतिमा अध्ययन
सुनिल पर्वतको बाजुङमा २०४४ सालमा जन्मिएका हुन्। म्याग्दीको बेनीस्थित ‘प्रकाश मावि’बाट २०५९ सालमा एसएलसी उत्तीर्ण गरेका सुनिलले ११/१२ पोखराको  ‘एसओएस हर्मन माइनर हाइयर सेकेण्डरी स्कुल’बाट २०६१ सालमा उत्तीर्ण गरे।

त्यसपछि उनले भौरहवास्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ‘युनिभर्सल भेडिकल कलेज (युसिएमएस)’ मा एमबिबिएस अध्ययन गरे।

सन् २००६ मा एमबिबिएस अध्ययन थालेका सुनिलले सन् २०१२ मा उत्तीर्ण गरेका हुन्। उनले एमबिबिएस छात्रवृतित्ता अध्ययन गरेका हुन्।

एमबिबिएसपछि सरकारी चिकित्सक
एमबिबिएस अध्ययनपछि उनले एक वर्ष बागलुङको ‘कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र’मा करार जागिरेका रुपमा काम गरे। त्यहीबीचमा उनले लोकसेवा परीक्षा दिए। लोकसेवा परीक्षाको नतिजा पनि राम्रो भयो। उनी २०७१ सालमा लोकसेवा परीक्षा उत्तीर्ण भएर स्थायी सरकारी चिकित्सककको रुपमा जागिरे भए।

सरकारी चिकित्सक भएपछि उनको पहिलो पोस्टिङ पर्वतको ‘ठूली पोखरी प्राथमिक स्वास्थ्य केन्द्र’मा भयो। उनले त्यहाँ २०७२ सम्म करिब डेढ वर्ष काम गरे। त्यसपछि सुनिलको पर्वतकै ‘पर्वत जिल्ला अस्पताल’मा सरुवा भयो। 

जिल्ला अस्पतालमा काम गरिरहेकै अवस्थामा उनी छात्रवृत्तिमा स्नातकोत्तर तह (एमडी) अध्ययनका लागि छनोट भए। त्यसैले पर्वत जिल्ला अस्पतालमा करिब ६ महिना काम गरेपछि उनी एमडी अध्ययनका लागि काठमाडौं आए।

एमडीमा ‘इन्टरनल मेडिसिन’ 
उनले काठमाडौं आएर त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जमा २०७४ मा एमडी अध्ययन थाले। डा. सुनिलले एमडीमा ‘इन्टरनल मेडिसिन’ विषय छनोट गरे। जुन विषय अध्ययन गरेका चिकित्सक(विद्यार्थी)लाई ‘फिजिसियन’का रुपमा चिनिन्छ। २०७७ मा उनले एमडी अध्ययन पूरा गरे। 

उनले अध्ययन बिदामा नै एमडी अध्ययन गरेका रहेछन्। एमडी अध्ययनपछि उनी पर्वतबाट काठमाडौंको थापाथलीस्थित ‘परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) सरुवा भए।

डा. सुनिल प्रसूति गृहमा सरुवा भएर काम गर्न थालेको एक वर्ष भयो। आठौं तहका चिकित्सक उनी बढुवाका लागि लोकसेवा परीक्षाको पर्खाइमा छन्। उनी भन्छन्, ‘लोकसेवाले मेडिसिनको परीक्षा खुलाएकै छैन।’

३० असोज, २०७८, १८:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।