त्रिनगर नाकाका स्वास्थ्यकर्मीको पिडा : दसैँमा न जोखिम भत्ता न तलब

त्रिनगर नाकाका स्वास्थ्यकर्मीको पिडा : दसैँमा न जोखिम भत्ता न तलब

धनगढी : असोज २९ गते, दसैँको मुख्य दिन,सधैँ जसो चहल–पहल भइरहने त्रिनगर नाकामा अरू दिनको तुलनामा बिहानैबाट आवत–जावत कम छ। स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले नाका छाड्न पाएका छैनन्।

नाकामै रहेको हेल्थ डेस्कका अधिकांश कर्मचारीहरूले दसैँ पेस्की मात्रै होइन साउनदेखिको तलब समेत पाएका छैनन्।

नाकामा खटिएका २३ जना कर्मचारीमध्ये अहिले ११ जना बिदामा छन् भने १२ जनाले दुई सिफ्ट गरेर काम गरिरहेका छन्। पुनर्वास नगरपालिकाबाट खटिएका ९ जनाले साउन देखीको तलब पाएका छैनन्।

‘हामीले दसैँमा न बिदा पायौँ न तलब नै,तर पनि आफ्नो जिम्मेवारीबाट पन्छिएका छैनौँ,नाकामै रहेकी सिक्षिता तामाङले भनिन्,‘ चाडपर्वको समयमा पनि पारिश्रमिक नपाउँदा मन खिन्न भएको छ,तर हामीले गुनासो गर्न बाहेक के नै गर्न सक्छौँ र,सरोकारवाले बुझ्दैनन् हाम्रो पिडा।’

शुक्रवार बिहानैबाट नाकामा नाकामा १ सय १८ जनाको कोरोना परीक्षण भइसकेको छ। ‘अरू दिनको तुलनामा चहल–पहल कम छ’,नाकामा खटिएका ल्याब असिस्टेन्ट जय ढुङ्गानाले भने,’आउनेहरू आइनै रहेका छन्,हामी उहाँहरूको परीक्षण गरिरहेका छौँ,केही साथीहरू बिदामा जानुभएको छ,यहाँ भएका हामी १२ जना मध्ये ६ जनाले बिहान ६ देखी दिउँसो १ बजे सम्म र बाँकी ६ जनाले दिउँसो १ देखी बेलुकी ८ बजे सम्म काम गर्ने गरी समय तालिका मिलाएका छौँ।’

पुनर्वास नगरपालिकाबाट खटिएका ९ जनाले साउन देखी अहिले सम्मको र गत वर्ष दिइने भनिएको कोरोना जोखिम भत्ता पनि पाएका छैनन्। धनगढी उपमहानगरपालिकाबाट खटिएकाहरूले कोरोना जोखिम भत्ता,हाल सम्मको तलब र दसैँ पेस्की पनि पाइसकेका छन्।

स्वास्थ्य कार्यालय कैलालीबाट खटिएकामध्ये ल्याब असिस्टेन्ट अमित विकले पनि अहिले सम्म न तलब पाएका छन् न  दसैँ पेश्कीनै, हाल सम्म नियुक्ति पत्र पनि नपाएको उनको गुनासो छ।

कञ्चनपुरको पुनर्वास नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत अहेब गणेश साउद गौरीफन्टा त्रिनगर नाकाको हेल्थ डेस्क इन्चार्ज हुन्।

‘हामीले विना पारिश्रमिक काम गर्नुपर्ने बाध्यता छ,कोष तथा लेखा नियन्त्रकको कार्यालय हुँदै पारिश्रमिक आउनु पर्नेमा केही ढिलाइ भएको भन्दै नगरपालिकाले रेडिमेड जवाफ दिने गरेको छ,’साउदले भने,’ आफ्नो ज्यानको प्रवाह नै नगरी नाकामा खटिदा पनि तलब विना नै दसैँ मनाउनुपर्ने अवस्था छ,हामीले त गत वर्षको जोखिम भत्ता पनि पाएका छैनौँ।’

नाकामा पुनर्वास नगरपालिकाका,सामाजिक विकास मन्त्रालय,धनगढी उप–महानगरपालिका,स्वास्थ्य कार्यालय,स्वास्थ्य निर्देशनालय र नेपाल रेडक्रस सोसाइटीबाट गरी २३ जना स्वास्थ्यकर्मी तथा स्वयम् सेवक खटिएका छन्।

२९ असोज, २०७८, १६:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।