के दशैंमा रगतको टीका लगाइन्थ्यो ? 

के दशैंमा रगतको टीका लगाइन्थ्यो ? 

वैदिककालमा गाई र घोडाको बली दिने चलन थियो। केको बली दिने भन्ने तय भने यज्ञअनुसार गरिन्थ्यो।

सबैभन्दा ठूलो यज्ञमा नर (मान्छे) काटेर बली दिने चलन थियो। मान्छेको घाँटी छिनाले त्यो टाउकोलाई हवन गर्ने स्थानमा जलाइन्थ्यो। त्यो जल्थ्यो र केही डल्लो पछिसम्म बाँकी रहन्थ्यो अंगारको रूपमा। 

यसरी हवन गर्दा पूर्णानुभूति हुन्छ भन्ने मान्यता थियो।

यज्ञकुण्डमा हवन गरेर बाँकी रहेको टाउकाको अंगारलाई घ्यूमा मोलेर तिलक बनाएर लगाउने चलन थियो। यो लगाउने क्षेत्री-बाहुनले नै हो। अहिले जुनसुकै हवन गर्दा पनि सबै देवी–देवताको नाम पुकारेर चरु चढाउने चलन छ।

सुपारी पनि यज्ञकुण्डमा हवन गर्ने चलन छ। किनभने सुपारी मान्छेको टाउको जस्तो हुन्छ झट्ट हेर्दा। चाहे त्यो अष्टमीको यज्ञमा होस् या जुनसुकै दिनमा गरेको हवन नै किन नहोस्। तिलक भनेको अंगारको होइन, त्यही सुपारीको टीका लगाएको हो। तिलक लगाउनुको कारण ग्रह–दशालाई शान्ति गर्ने वैदिक विधि हो।

अहिले पनि लगाइन्छ रगतको टीका
इन्द्र जात्रामा हनुमानढोकामा पूजा हुन्छ। कुमारीको रथ यात्राभन्दा अघिल्लो दिन भैरबलाई राँगोको बली दिने चलन छ। मार हान्ने होइन, छाडा छाड्दिने। भदौरे राँगो अलि छुच्चो हुन्छ। त्यसमाथि रक्सी खुवाइदिने।अनि खेलाई–खेलाई खड्गले हानेर मार्ने।

टाउको र शरीरलाई अलग–अलग बनाइदिने त्यसपछि भने दुईजनाले सिङ समाउने। त्यहींको मासलचोकमा भारदारहरू बसेका हुन्छन्। पालैपालो नेवारहरूले त्यो राँगाको रगतको टीका लगाउँछन्। बाहुन–क्षेत्रीले भने लगाउँदैनन्।

गुरुङले स्याङजा र पाल्पाको, मगरले नाग–नागिनीको पूजा गर्छन्। लिम्बू–राईले उधौली–उभौलीको पूजा गर्छन्। त्यो बेला कुखुराको भाले काट्ने चलन छ। कतै बोका काट्छन्। बली दिएपछि टाउकोको रगत थालमा राखेको चामलमा चुहाएर मुछ्ने अनि त्यसैको टीका लगाउने चलन छ।

आदिवासी जनजातिले रातो टीका भनेको बाहुनको हो भन्ने गर्छन्, यसो होइन। रातो टीका भनेको रगतको हो र त्यो जनजातिले लगाउने हुन्। बौद्ध धर्मावलम्बीहरूले सेतो टीका भन्छन् तर त्यसो होइन। रगत मुछेको टीका लगाउनेले रातो टीका हाम्रो होइन भन्न मिल्दैन। पहिले–पहिले नेपालमा अबिर पाइँदैनथ्यो। पछिका दिनमा मात्रै अबिर किनेर रातो टीका लगाउन थालिएको हो।

खस बाहुनको थातथलो दुल्लु, दैलेख हो। त्यहाँ अझै पनि सेतो टीका लगाउने चलन छ। यसैले प्रष्ट हुन्छ, क्षेत्री–बाहुन पनि सेतो टीका लगाउँथे। दुल्लु, दैलेखमा दहीमा बेसार हालेर टीका लगाउने चलन छ। टीका भनेको विजयको प्रतीक हो। नेपालमा पहिले सेतो टीका लगाइन्थ्यो। तनहुँमा अझै पनि सेतो टीका लगाउने चलन छ।

देउता खुसी पार्न मान्छेको बली
देउता खुसी पार्न मान्छेको बली दिने चलन थियो पहिले। ब्राह्मण काटिन्थे वैदिककालमा। त्यो पनि बुढो काटिने होइन, किशोरअवस्थामा प्रवेश नगरेको केटो जसको विर्य उत्पादन नै भएको हुँदैन।

हरिशचन्द्र नाम गरेका राजालाई रोग लागेछ। बरुणको पूजा गर्नुपर्ने भएछ। ठूलो यज्ञ लगाइयो। एक बालक पनि ल्याइयो। बालकको बाबुले एक सय रुपैयाँमा बेचे। बालक यसरी रोए कि सिपाहीले समेत काट्न सकेनन्। तर त्यो बालकको बुबाले एक सय रुपैयाँ थपिदिने भए आफैं काटिदिने बताए। तर बालक रोइरह्यो। बरुणको प्रार्थना गरे। त्यसपछि त्यो बालक काटिनबाट जोगियो भनिन्छ।

दशैंमा महिशाषुरलाई देवीले जितेको हुनाले विजयी भएकाहरूले रगतको टीका लगाउने चलन थियो कि भन्ने पनि सुनिन्छ। तर कहीँकतै रगतको टीका लगाएको उल्लेख छैन। दशैंमा पनि पहिले रगतको नभई सेतै टीका लगाउने चलन थियो। बरू तिलक मान्छेको टाउकोबाट सुपारीको टाउको पोलेर बनेको अंगारलाई घ्यूमा मोलेर लगाउने चलन देखिन्छ।

(प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङसँग उकेराले गरेको कुराकानीमा आधारित।)

२९ असोज, २०७८, ०९:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।