कसैले पूजाआजा नगरेपछि राजा प्रताप मल्ललाई आफैं भन्न पुगिन् दक्षिणकाली

कसैले पूजाआजा नगरेपछि राजा प्रताप मल्ललाई आफैं भन्न पुगिन् दक्षिणकाली

श्री स्वस्थानी ब्रत कथामा धेरै पटक आउने नाम हो दक्षप्रजापति। उनले ज्वाइँ महादेव र छोरी सतिदेवीको अपमान गरेका थिए। आफू र आफ्ना पतिको अपमान सहन नसकेर सतिदेवीले यज्ञमै हाम फालेर प्राण त्यागेकी थिइन्।  

उनै दक्षप्रजापतिका सतिदेवी बाहेक अन्य ३३ कोटी कन्या थिए। तिनै ३३ कोटी कन्यामध्येकी एक दक्षिणकाली।

आसन लिने क्रममा उनी शिखरापुर नगरको शिरो भाग अर्थात नगरचो डाँडा (शेषनारायणाको शिरमा रहेको गोरखनाथमाथिको डाँडा)मा विराजमान भएकी थिइन्। 

जंगलकोबीच भागको ढुङ्गामा विराजमान भएकी दक्षिणकालीका बारेमा सुरु सुरुमा त कसैले थाहा पाएनन्। जसले गर्दा उनको पूजाआजा नै हुँदैनथ्यो।

यो वि.सं. १७२५ तिरको कुरा हो। कसैले पूजाआजा नगरेपछि तत्कालीन राजा प्रताप मल्लको सपनामा दक्षिणकाली स्वयं उपस्थित भएर आफू हाल दक्षिणकाली भएको ठाउँ अर्थात फर्पिङदेखिमाथि नगरचो डाँडाको शिलामा विराजमान भएको जानकारी गराइन्। 
सपनामा देखिए पनि राजा प्रताप मल्लले दक्षिणकालीलाई खासै वास्ता गरेनन्। 

सपनामा जानकारी गराउँदा पनि दक्षिणकालीको पूजाआजा नभएपछि दरबारकै पञ्चकन्यामध्ये एउटी कन्यामा दक्षिणकाली प्रकट भइन् र आफू बसेको स्थान र पूजाआजाबारे जानकारी गराइन्।

यो कुराको जानकारीपछि भने राजा प्रताप मल्लले तान्त्रिक गुरु लम्बकर्ण भट्टको सहयोगमा प्राचीन दक्षिणकालीको शिलामा विधिपूर्वक पूजा गराए। 

तान्त्रिक विधिबाट पूजा गर्दा भुगाकर्ण नामका दुई राक्षस उत्पन्न भए। र राजाको सपनाअनुसार पूजाआजा गर्न आदेश दिए। 
किंवदन्तीअनुसार दक्षिणकली माता चढेको कन्यालाई हालको कुमारी मन्दिरमा स्थापना गरियो। 

पछि प्रताप मल्लले नै गुरु लम्बकर्ण भट्टलाई दक्षिणकालीलाई तान्त्रिक विधिद्वारा निष्तेज गर्न लगाई हालको दक्षिणकाली माताको शिलामुनि घोप्टो पारी माथिपट्टी ठूलो शिलाले छोपी कालीको मुखाकृति बनाई अगाडि भैरव समेत स्थापना गराईयो। 

प्रताप मल्लले नै सोहि समयमा चामुण्डाको (दक्षिणकालीको) सेतो सङ्गमरमरको मूर्ति बनाउन लगाए। उक्त मूर्तिमा प्राण प्रतिष्ठापछि निकै नै शक्तिशाली हुने मन्दिरका हालका पुजारी रमेशमान कर्माचार्यले बताए।

साक्षात दक्षिणकाली शक्तिकी देवी भएकाले नेपाल, भारत लगायत विभिन्न देशहरूबाट हिन्दू धर्मावलम्बीहरू यस मन्दिरमा पूजाआजा गर्न आउने कर्माचार्यको भनाइ छ। 

अर्को किंवदन्ती यस प्रकारको छः

त्यो समयमा तान्त्रिकहरूको सम्पर्क सिधै भगवानसँग हुन्थ्यो। एकै तान्त्रिक सबै भगवानसँग सम्पर्कमा जान नसके पनि उनीहरूको खास खास भगवान हुन्थ्यो। 

त्यो बेलामा तान्त्रिकहरू आम मान्छेलाई सजिलो होस् भनेर विभिन्न कुरा उत्पन गराइरहन्थे। त्यही क्रममा तान्त्रिकको एक समूहले भने आफ्नो तन्त्रमन्त्रबाट भारतीय देवीलाई नेपाल झिकाएछन्। देवीलाई नेपालमा ल्याएर मूर्तिको रूपमा दक्षिणकाली मन्दिरमा स्थापना गरेछन्। 

भारतको देवी भएकाले भक्तजनले देवीकै मुखमा नरिवल फूटाउने गरेको बताइन्छ। पछि भने देवीको मुखाकृति नै बिग्रियो। 

अचेल भने मुखमा नरिवल फुटाउन पाइँदैन। त्यसका लागि छुट्टै ठाउँको व्यवस्था गरिएको छ। बिग्रिएको मुखाकृति पनि मर्मत गरिएको मन्दिरका पुजारी रमेशमान कर्माचार्यले जानकारी दिए। 

मन्दिरबारे जानकारी 
काठमाडौंबाट १७ किलोमिटरको दूरीमा रहेको मन्दिरमा छानो छैन। आकास नै देवीको छानो हो।

मन्दिर हरेक दिन १२ बजेपछि झण्डै एक घण्टा सर्वसाधरणका लागि बन्द हुन्छ। यसबीचमा मन्दिरका पुजारीहरूले तान्त्रिक विधिबाट निम पूजा गर्छन्। निम पूजा गरेपछि मात्रै पुजारीहरूले खाना खान पाउँछन्।

यो कालीदेवीको अर्थात चामुण्डादेवीको प्रतिमा स्थापना भएको मन्दिर हो। चारैतिर हरियालीले सजिएको मन्दिर दुई नदीको दोभानमा छ। 

मन्दिरमा कालीको मूर्तिबाहेक अन्य देवी देवताको मूर्ति पनि छन्। चामुण्डाको पश्चिममा चारहाते नरसिंही भगवतीको मूर्ति छ। शङ्ख, चक्र, गदा, कण्डी र अभय धारण गरेकी यी देवीको मुख सिंहीनी जस्तै छ। 

त्यस्तै मन्दिरको आँगनको पश्चिमी चार किनारमा ७ रक्षिकाहरू र ६ मातृका इन्द्रायणी, वाराही, वैष्णवी, कुमारी, माहेश्वरी र ब्राह्मी छन्। गणेशको मुर्ति पनि त्यहिँ छ।

दशैंको नवरात्रिमा भक्तजनहरू हाँस, कुखुरा, राँगो,  बोकाको बलि दिन्छन्। त्यो बाहेक हरेक साता मंगलबार र शनिबार पनि यो मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ।

सन्तान प्राप्ति, धन प्राप्ति, मुद्दामामिलामा जीत, नोकरीमा पदोन्नती लगायतका कामना पूरा हुने विश्वासका साथ भक्तजन मन्दिर जान्छन्। मन्दिर राजाहरूको देवाली मनाउन ठाउँको रूपमा पनि कुनै बेला प्रख्यात थियो।

२९ असोज, २०७८, ०८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।