महानवमीको दिनमा मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानी

महानवमीको दिनमा मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानी

सिद्धिदात्रीलाई घ्यू चढाएमा अकाल मृत्युबाट बचिने र कुनै प्रकारका अशुभ समाचार सुन्न नपर्ने शास्त्रमा उल्लेख छ।

नेपाली परम्पराअनुसार आज नवदुर्गाको प्रतीकका रूपमा ९ कन्याको पूजा गरिन्छ। यस्तै आजको दिन नेपाली सेनाले कोतमा रहेका हातहतियारको पूजाआजा गर्ने गरेको छ।

सिद्धदात्रीलाई विजयको प्रतीकका रूपमा पनि लिने गरिन्छ।

नवदुर्गामध्ये नौ वटैको दर्शनसँगै हामी तपाईंहरूलाई शक्तिपीठको दर्शन गराउँछौं। आज तजेजु भवानीको कुरा गरौं। 

तलेजु भवानी मल्ल राजाहरूका इष्ट देवी हुन्। तर यी देवीको पुर्ख्यौली घर काठमाडौं हैन। 

सिम्रौनगढका कर्णाट वंशका राजा हरिहरसिंहदेवले १४औं शताब्दीमा तुलजा (तलेजु) भवानीलाई भक्तपुर ल्याएका थिए। उनी मुगलहरूको आक्रमणबाट बच्न थातथलो छोडेर नेपालमण्डल (काठमाडौं उपत्यका) प्रवेश गरेका थिए। 

उनले थातथलो त छाडे तर इष्ट देवी छाड्न सकेनन्। तुलजा भवानीलाई पनि नेपालमण्डल ल्याए। पछि तुलजाको नाम अपभ्रंस हुँदै तलेजु बन्न पुगेको इतिहास छ। 

अर्को किंवदन्तीमा भनिएको छः कर्णाट राजाका इष्ट देवी तलेजु भवानी थिइन्। ती राजाले उनलाई काठमाडौं ल्याउँदा मकवानपुरको टिष्टुङ गाउँको पलाञ्चोकमा तलेजु भवानी एक रात बास बसेकी रहिछिन्। 

त्यही सम्झनामा तलेजु भवानीको मन्दिर मकवानपुरमा पनि स्थापना गरिएको रहेछ। पाटनमा विष्णु मल्लले राखेको शिलापत्रबाट यो किवंदन्ती खुल्न जान्छ। 

जहाँ जहाँ तलेजु भवानी बास बसेकी छिन्, त्यहाँ त्यहाँ तलेजु भवानीको मन्दिर देख्न सकिन्छ। उपत्यकाभित्र काठमाडौं, भक्तपुर र ललितपुरमा तलेजु भवानीको मन्दिर छ।

नेपाल आइसकेपछि पहिलो रात बास बसेकाले मकवानपुरको तलेजु भवानीको मन्दिर र काठमाडौंमा सधैं बसेको अर्थमा वसन्तपुरमा रहेको तलेजु भवानीको मन्दिरलाई अन्य मन्दिरको तुलनामा विशेष मानिन्छ।

काठमाडौंमा भने तलेजु भवानीको मन्दिर दरबार क्षेत्रमा अवस्थित छ। मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर हो। यो मन्दिर दशैंको महानवमीमा मात्रै एक दिन सर्वसाधारणका लागि खुला गरिन्छ।

तलेजु भवानीको मन्दिर दुई तले छ। पुजारी बाहेक अरूले देवीको दर्शन गर्न नहुने धार्मिक मान्यता रहिआएको छ। अरूले हेर्न नहुने मात्रै हैन, देवीको स्वरूप कस्तो छ भन्ने कुरा अरूसँग वर्णन समेत गर्न नहुने मान्यता छ।

तलेजुको आफ्नै गुठी र नित्यपूजा हुने गरेको छ। दशैंको समयमा कन्याहरूको पूजा गरी दक्षिणा दिई भोजन पनि गराउनुपर्ने चलन छ। 

तलेजुको मन्दिरमा बोका बलि चढाइन्छ।

२८ असोज, २०७८, ०७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।