ढुवानीका क्रममा मरेका १५ वटा खसी गाडिए

ढुवानीका क्रममा मरेका १५ वटा खसी गाडिए

काठमाडौँ: दसैँका लागि काठमाडौँ ल्याउँदा ढुवानीका क्रममा मरेका १५ वटा खसी गाडिएका छन्। यसरी गाडिएका खसी ढुवानीको समयमा च्यापिएर मरेका हुन्।

क्लिन नेपालका सञ्चालक पदम थापाका अनुुसार  मङ्गलवार  ७ वटा गाडिएको थियो। बुधवार थप ८ वटा मरेका छन्।

गएको वर्ष कोभिका कारण बजारमा खासै चहलपहल भएन। ०७६ मा भने मरेका भेडा, च्याङ्ग्रा, खसी, बोका गरेर करिब ५० वटा गाडिएको थियो।

'हामीलाई कलङ्कीबाट चाहिँ खबर आउँछ। अरूतिर पनि खसी बजार छन्। ती बजारबाट चाहिँ खबर आएको छैन,' थापा भन्छन् ‘खबर आउनेवित्तिकै हामीले टोली पठाएर मृत चौपाया उठाएर गाड्न ल्याउने गरेका छौँ।’

काठमाडौँ महानगरपालिकाले स्वच्छ मासुका लागि चौपाया बजारमा ल्याइएका खसी बोका, भेडा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरिरहेको छ। काठमाडौँ महानगरपालिकाले सङ्घ सरकारको पशु सेवा विभाग र बागमती प्रदेशको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर परीक्षण तथा अनुगमन गरिरहेको हो।

परीक्षण गरिएकामध्ये निरोगीको सिङ्गा हरियो र रोगीको सिङ्गा रातो रङ्ग लगाउने गरिएको छ। रातो रङ्ग लगाइएका चौपायाहरू उपचारपछि विक्री योग्य हुन्छन्। महानगरका वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाका अनुसार बजारमा भेटिएका मृत चौपायाहरू रोगले मरेका होइनन्। ढुवानीका क्रममा च्यापिएर मरेका हुन्। जुनसुकै कारणले मरे पनि मृत चौपाया खान योग्य हुँदैनन्। त्यसैले यिनीहरूलाई गाड्ने गरिएको छ।

नवमीसम्म चौपायाको विक्री धेरै हुने गरेको छ। कलङ्की खसी बजारभित्रबाट मात्र होइन, बाहिर सडक किनाराबाट पनि व्यापारीहरूले चौपाया बेचिरहेका छन्। काठमाडौँ चौपाया खरिद विक्री प्रा. लिई. का सञ्चालक व्यवस्थापक जीवन खतिवडा सडकमा चौपाया विक्री रोक्नु पर्ने बताउँछन् ।

महानगरभित्रका दसैँ लक्षित चौपाया बजारहरू कलङ्की, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु वाइपास क्षेत्र हुन्। महानगरका पशु विकास अधिकृत डम्मरबहादुर बमका अनुसार यी बजारमा बिहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर २ वटा टोली नियमित परिचालन गरिएका छन्।

काठमाडौँ महानगरसँगै ललितपुरको लगनखेल (मच्छिन्द्र मा. वि. पछाडि), भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरि (थानकोट) दाउरा डिपोका चौपाया बजारमा परीक्षण भइरहेको छ।

२७ असोज, २०७८, ११:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।