दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य

दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य

भक्तपुरः दशैंका लागि मुस्ताङ हुँदै ल्याइएका च्याङ्ग्राको मूल्य यस वर्ष दोब्बरले बढेको छ। सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको एक सय ८ रोपनी चौरमा दुई हजार ५०० च्याङ्ग्रा र करिब दुई हजार खसी बोका बिक्रीका लागि ल्याइएको छ।

सोमबारदेखि नै ग्राहकहरू आए पनि आज बिहानबाट भने ग्राहकहरूको अत्याधिक भीड लागेको छ। काठमाडौंसहित काभ्रेलगायतका जिल्लाबाट यहाँ खसी बोका किन्न ग्राहकहरू आएका छन्। खरिद गर्ने ग्राहक धेरै भएपछि खसी बोका च्याङ्ग्राको मूल्यमा व्यापारीहरूले वृद्धि गरेका छन्।

हाल जिउँदो च्याङ्ग्रा प्रतिकिलो एक हजार २०० मा बिक्री भइरहेको छ। यद्यपि आजबाट एक सय रुपैयाँ थप बढ्न सक्ने व्यापारीहरू बताउँछन्। गत वर्षको तुलनामा यो मूल्य झण्डै दोब्बर हो।

रामेछापका च्याङ्ग्रा व्यापारी हिमलाल श्रेष्ठ गत वर्षभन्दा यस वर्ष मुस्ताङमै महँगो मूल्यमा च्याङ्ग्रा खरिद गर्नुपरेकाले मूल्य वृद्धि भएको बताउँछन्।

च्याङ्ग्रा ल्याउँदा मासु जोखेर नभई सानो ठूलो मिलाएर गोटा गन्तीबाट ल्याउन पर्ने भएकाले सानो ठूलो दुवैलाई एकै मूल्य हालेको र यहाँ किलोमा बेच्न पर्दा महँगो पर्न गएको उनले बताए।

२७ असोज, २०७८, १०:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।