एंकर न्युज

किल्ला सुरक्षित गर्न गइन्थ्यो, दशैंका बेला फरक-फरक मन्दिर

ओम धौभडेल


उपत्यका भित्रको भक्तपुर जिल्ला। संस्कृतिमा धनी। भक्तपुरको वरपर हेर्ने हो भने मन्दिरै-मन्दिर छन्।

काठमाडौंमा बस्ती बाक्लिँदै जाँदा धेरै मन्दिर जोखिममा छन्। भक्तपुरमा भने जोगिएकै छन् बडो मुस्किलले।

बस्ती वरपर मन्दिर किन बनाइयो होला? बडादशैंको बेला घटस्थापनादेखि दशमीसम्म किन फरक–फरक मन्दिर गइन्छ? पहिले-पहिले दशमीको बेला विवाह गर्दा किन परिवारले स्वीकार्थ्यो नेवार समुदायमा। दशैं संस्कृति र मन्दिर दर्शनका संस्कृतिविद् ओम धौभडेल के भन्छन्? उनकै शब्दमाः

नेपालमा हिन्दु धर्मका धेरै मठ-मन्दिर छन्। नगरबस्तीहरु बसाउँदा  शक्तिपीठहरुले घेरिएर बनाउने चलन भयो। काठमाडौं, भक्तपुर र ललितपुर सहरको संरचना हेर्दा विभिन्न शक्तिपीठहरुले सुसज्जित भएको पाइन्छ। नगरलाई शक्तिपीठहरुबाट सुसज्जित पारेपछि ती शक्तिपीठका देवीहरुले नगरलाई सुरक्षा दिन्छ भन्ने मान्यता रहेको देखिन्छ। 

नगरलाई शक्तिपीठबाट घेर्नु एउटै कारण देखिन्छ, बाहिरबाट हुने आक्रमणबाट बचाउनु, नराम्रो विकृतिबाट जोगाउनु। देवीको मन्दिर बनाउँदा  बाहिरकाले आक्रमण गर्न सक्दैनन् भन्ने देखिन्छ। 

लिच्छवीकालमा नै नगर बसाउँदा नगरहरु मन्दिर र शक्तिपीठबाट सुसज्जित भएको पाइन्छ। जस्तै अशुंवर्माको पालामा शक्तिपीठहरुमा विभिन्न देवी-देवताहरु बनेको देखिन्छ। त्यो बेला सात वटा सप्तमात्रिका भनिने देव-देवी सुसज्जित गरिन्थ्यो। 

त्यतिबेला मातृसत्तात्मक समाज रहेको पाइन्छ। मातृशक्ति भएको कारणले धार्मिक ग्रन्थहरुमा सप्तमात्रिकाको अनुष्ठान बनाएको पाइन्छ। राक्षसहरुलाई मारेर यहाँको समाजलाई सुरक्षा दिएको भन्ने आधारमा अंशुवर्माले स्थापना गरेका सात वटा देवीहरु थिए। जसमा ब्रह्मायणी, महेश्वरी, कौमार्य, वैष्णवी, बाराही, महाकाली र  इन्द्रयाणी थिए।

यी सात देवीको समूह जसलाई सप्तमात्रिका भन्छन्। ती देवीहरुले छुट्टाछुट्टै नभई पूर्व-पश्चिम नगरलाई सुरक्षा गरेको देखिन्छ। 

लिच्छवीकालमा जयदेव द्वितीयको पालामा ठूलो आगलागी भयो। त्यसपछि बनेका नगरहरुमा कान्तिपुरमा राजा गुणकामदेवले चारैतिर अष्टमात्रिका देवीहरु स्थापना गरेर कान्तिपुर नगर खड्गाकारमा बसाएको देखिन्छ। यसै क्रममा लिच्छवीकालमा आनन्ददेव राजाले श्रीयन्त्रकारमा भक्तपुर नगर बसाएको देखिन्छ।

मुख्य विन्दुमा त्रिपुरासुन्दरीदेवी स्थापना गरेर नगरको चारैतिर ब्रहमायनी महेश्वरी, कौमार्य, भद्रकाली, बाराही, इन्द्रयानी,  महाकाली र  महालक्ष्मी देवीहरु श्रीयन्त्रकारमा स्थापना गरेको देखिन्छ। अष्टमात्रिका देवीहरु नै शक्तिपीठहरु हुन्। यहाँ विशेषगरी दशैंमा मेला लाग्छ। 

कुन दिनमा कुन मन्दिर गइन्छ? 
आश्विन शुक्ल प्रतिपदाको दिनमा घटस्थापना पर्छ। सो दिन ब्रह्यायणी देवीको, द्वितीयामा महेश्वरी देवी, तृतीयाको दिन कौमार्य, चौथी बैष्णवी अर्थात् भद्रकालीको दर्शनहुन्छ। पञ्चमीको दिनमा बाराही, षष्ठीको दिनमा इन्द्रायणी, सप्तमीको दिनमा महाकाली, अष्टमी महालक्ष्मीको, नवमीको दिन त्रिपुरासुन्दरीको मन्दिर जाने चलन छ भक्तपुरमा।

आजको पुस्ता त खासै मन्दिर जाँदैन तर मन्दिर जानेहरु बिहान खोलामा गएर नुहाउने, मुख धुने र मन्दिर दर्शन गर्ने र साँझ पुनः बिहान जुन मन्दिर गएको छ, सोही मन्दिरमा बत्ती लिएर जाने चलन छ। अन्तिम दिनमा भने तलेजुमा जात्रा हुन्छ। दशमीको दिनमा सम्पूर्ण देवीलाई मान्नुपर्ने हुन्छ। हरेक दिन नेवार समुदाय फरक–फरक मन्दिरमा जाने चलन थियो।

भक्तपुरमा जात्रा भइरहन्छ। जात्राको अर्को अर्थ युवा-युवतीलाई अलि स्वतन्त्र छाडिदिनु पनि हो। दशमीको दिन तलेजु मन्दिरमा ठूलो पूजा हुन्छ। त्यो दिन यदि कुनै युवा र युवतीले एकअर्कालाई मन पराए भने विवाह गर्न सक्थे। यो विवाहलाई समाजले सहर्ष स्वीकार्थ्यो। यो जात्रामा भैरबको दर्शन गरेपछि विवाह गर्ने चलन छ।

आन्नदेवले श्रीयन्त्राकार रुपमा भक्तपुर बसाएपछि शक्तिपीठहरुमा दशैंको अघि जात्रा गर्ने प्रचलन सुरु भएको देखिन्छ। यसमा नेवार समुदाय मात्र भएको देखिन्छ। 

लिच्छवी राजाहरुको पालामा फरक-फरक मन्दिर जाने चलन सुरु भएको देखिन्छ। शक्तिपिठमा जानुको कारण सिमानाको रेखदेख गर्नु रहेको देखिन्छ। दसैंको मेला भर्नेलाई नवरात्रिको मेला भनिन्छ। 

भोज खानै पर्छ
दसैंको बेला नेवार समुदायमा भोज खानै पर्छ। जसलाई कुल छिः भोज भनिन्छ। परिवारै सबै मिलेर चिउरा सहितको भोज खाने गरिन्छ। पछि कुछिः भोज भयो।

यस्तै नवमीको दिन दुई माना चिउरा खाने चलन छ। दुई माना चिउरा खान नसक्ने हुँदा बीचमा कपडा राखेर चिउरा भर्ने गरिन्छ। नवमीको दिनमा घरमा विशेष पूजा हुन्छ। पेसा अनुसारका साधनहरुलाई पूजा गर्ने चलन छ। 

त्यस्तै सप्तमीको दिन राँगा काटेको मासु भित्र्याउनै पर्ने चलन अझै छ। दशैं भनेको शक्तिका देवीहरुको पूजा गर्नु हो। शाषकहरुले त्यही अनुसार मन्दिर बनाए।

भक्तपुरमा बस्ने अन्य जातका मान्छेले पनि फरक दिनमा फरक मन्दिर गएको पाइन्छ। अन्यत्र यस्तो चलन छैन। नयाँ पुस्तामा मन्दिर जाने चाख लगाएकोले संस्कृति मासिँदै जाने खतरा देखिन्छ। त्यसकारण कम्तीमा दशैंमा बिदा भएको बेला मन्दिर जानु राम्रो हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

बाबुले अमेरिकाको ग्रिन कार्ड त्यागेर गाई पाल्न थाले, बेलायतमा डिग्री पढेको छोरो फर्किएर व्यवसाय सम्हाले

विदुरको बाल्यकाल रुपन्देहीमै बित्यो। नर्सरी देखि १०  कक्षासम्म तिलोत्तमा सिद्धार्थ बोर्डिङमा पढेका उनले प्लस टु न्यु होराईजनबाट गरे। त्यसपछि थप शिक्षाका लागि उनी बेलायत गए।....

गाँजा खेती खुला गर्ने विधेयक: स्वास्थ्यमन्त्री खतिवडा भन्छन्, 'उहिलेका माग खुइलिए'

गैर सरकारी विधेयकको रूपमा दर्ता भएको गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकको समर्थनमै छन् तामाङ। उनले पार्टीको अधिवेशनमा व्यस्त हुनु परेकाले हाल यो....

सदस्यता माग्दै ९५ दिनदेखि काँग्रेस कार्यालयमा अनशनमा छन् पूर्व राज्यमन्त्री, तर भएन सुनुवाई

नेपाली काँग्रेसको टिकटबाट ०४८ मा रौतहट क्षेत्र नम्बर–१ बाट सांसद निर्वाचित भए। ०५१ मा पनि सोही क्षेत्रबाट सांसद बनेका उनी ०५४ मा स्वास्थ्य राज्य मन्त्री....

बेमौसमी बाढीले संक्रामक रोग फैलाउने जोखिम

बाढी-पहिरोजन्य समस्याका कारण सामान्यतः पानीजन्य, कीटजन्य र हावाजन्य गरी तीन प्रकारका संक्रामक रोगको जोखिम हुने चिकित्सक बताउँछन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले....

भाइरल हजुरआमा: जसले ४९ वर्षको उमेरमा पूरा गरिन् गायिका बन्ने सपना

किन लुकीछिपी? उनी भन्छिन्- 'त्यसबेला गीत गाउने नाच्ने काम सानो जातिले मात्रै गर्छन् भन्ने मान्यता थियो।'  चन्द्रा परिन् ब्राह्मणकी छोरी। उनलाई नाच्न गाउन नपाउँदा निकै....