साफ च्याम्पियनसिप: आज नेपाल र बङ्गलादेश भिड्दै, बराबरी मात्र गरे पनि नेपाल फाइनलमा

साफ च्याम्पियनसिप: आज नेपाल र बङ्गलादेश भिड्दै,  बराबरी मात्र गरे पनि नेपाल फाइनलमा

काठमाडौः माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा आज नेपालले बङ्गलादेशको सामना गर्ने भएको छ। माल्दिभ्स नेसनल फुटबल स्टेडियममा नेपाली समयअनुसार अपराह्न ४:४५ बाट खेल सुरु हुनेछ।

नेपालले यसअघि भारत,  श्रीलंका र माल्दिभ्सविरुद्ध खेलिसकेको हुँदा यो नै लिग चरणअन्तर्गतको अन्तिम खेल हुनेछ। यस खेलमा विजय हासिल गरे वा बराबरी गरेमा पनि नेपालले फाइनलको यात्रा तय गर्नेछ। नेपालले हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गरेको छैन। यो नेपालका लागि सुनौलो अवसर बन्न सक्नेछ।

यसअघिका तीनमध्ये दुई खेलमा जीत र एकमा हारसँगै नेपाल अंक तालिकामा दोश्रो स्थानमा छ। बङ्गलादेश भने एकमा जीत, एकमा हार र एकमा बराबरी गर्दै अंक तालिकामा चौथो स्थानमा छ। हाल माल्दिभ्सले पहिलो स्थान ओगटेको छ। 

यता आजै माल्दिभ्स र भारतबीचको पनि खेल हुँदै छ। खेल राति ९:४५ बाट सुरु हुनेछ। माल्दिभ्स यसअघि नै शीर्ष स्थानमा रहेको हुँदा भारतसँग बराबरी गरे मात्र पनि माल्दिभ्स फाइनलमा पुग्नेछ।

२७ असोज, २०७८, ०८:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।