किसान र राजाको सहयोगबाट स्थापना भएकी भद्रकाली

किसान र राजाको सहयोगबाट स्थापना भएकी भद्रकाली

आज महाअष्टमी अर्थात नवदुर्गामध्ये महागौरी भगवतीको पूजा अराधना गरिने दिन। महागौरीको पूजा अराधनाले सन्तान सुख मिल्ने शास्त्रमा उल्लेख छ।

महागौरीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण सुख शान्ति प्राप्ति हुने पनि बताइन्छ।

महागौरी कालो वर्णकी छिन्। तर एक दिन महादेवले उनलाई ख्यालख्यालैमा 'ए काली' भन्ने शब्द प्रयोग गरेपछि उनलाई असह्य भएर कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेको कुरा विभिन्न पुराणहरूमा उल्लेख छ। 

यो त थियो नवदुर्गामध्ये आठौं देवीको कुरा। अब लागौं शक्तिपीठहरूमा।

आज हामी तपाईंलाई देशकै प्रमुख प्रशासनिक निकाय अघि रहेको भद्रकाली देवीको दर्शन गराउँछौं। 

प्राचीन समयमा काठमाडौंमा खेतैखेत थियो। अहिलेजस्तो घरैघर थिएन। किसानहरू खेतिपातीमा निकै व्यस्त हुन्थे। 

एकपटक किसानहरू खेतिमा व्यस्त भइरहेका बेला खेतको बीचमा एउटी बालिका रोएको आवाज आयो। उनीहरू बालिका रोएको ठाउँमा पुगे। उनीहरू सबै मिलेर बालिकालाई फकाउन खोजे। जति नै फकाए पनि उनी रोइ नै रहिन्।

तीमध्ये एक किसानले खाजाका लागि घरबाट रोटी पकाएर ल्याएका रहेछन्। उनले केही सीप नचलेपछि ती बालिकालाई खुशी बनाउन आफ्ना लागि ल्याएको रोटी दिएछन्। 

रोटी पाएपछि भने ती बालिका हासिन् र तुरुन्तै त्यही ठाउँमा बिलाइन्। लगत्तै खाजाका लागि लगेको रोटी सुनमा परिणत भयो। सुनको रोटी देखेर किसानहरूले बालिकालाई देवी भन्ने ठाने।

किसानहरूले यो कुरा राजालाई सुनाए। किसानले बालिका देखेको समय कलिगत संवत् ३८२५ थियो। विक्रम संवतअनुसार १२औं शताब्दी। त्यो समय काठमाडौंका राजा गुणकामदेव थिए। 

राजा गुणकामदेवलाई किसानहरूले घटनाको बेलिविस्तार लगाए। 
त्यसपछि त गुणकामदेवको सपनामा पनि बालिका प्रकट भइन्। उनी किसानहरूले भनेका कुरामा सत्यता रहेको भन्नेमा पुगे।

त्यसपछि उनैले नीलपीठबाट भगवतीको आह्वान गरी भद्रकाली नामले पीठ स्थापना गरे।

बालिका देखा परेको ठाउँमा किसानले पूजा गर्दै आए पनि यसलाई व्यवस्थित गर्ने काम भने राजा गुणकामदेवले नै गरे।  

सामाजिक दृष्टिले हेर्ने हो भने दशैं कृषिसँग जोडिएको पर्व पनि हो। जमरा राख्न खेतको सानो स्वरूप पूजाकोठामा स्थापित गरेर कृषि कर्मप्रति सम्मान गरिएको देख्न सकिन्छ। 

भद्रकालीमा पनि घटस्थापनाकै दिनदेखि विभिन्न मानिसहरू छातिमा जमारा उमार्न सुतिरहेका हुन्छन्। उनिहरू १० दिनसम्म एकै ठाउँमा सुतेर आफ्नो छातिमा जमारा उर्माछन्। 

अर्को किंवदन्ती यस्तो छः

गुणकामदेवको राज्यकालमा बूढानीलकण्ठमा विभिन्न रोगब्याधी र अनेक उपद्रोका कारण धेरै धनजनको क्षति भएछ। यसबाट बच्न तान्त्रिकलाई देखाउँदा काठमाडौं नगरलाई जोगाउन स्थापित अष्टमातृका पीठमध्ये टुँडिखेलको उत्तर पूर्वी कुनामा रहको भद्रकाली लुंमडी अजिमाकै प्रतिकृति प्रतीक एक कोसमा स्थापना गराउँदै जानुपर्ने सुझाव दिएछन्।  

नेपाल भाषामा लुं भनेको सुन र मडी भनेको रोटी हुन्छ।

त्यहि तान्त्रिकको सुझावअनुसार नै लुंमडी भद्रकालीको स्थापना गरिएको हो। 

त्यसपछि त्यसको प्रत्येक एक एक कोसमा स्थापना गर्ने क्रममा जमल नाचघर, लाजिम्पाट, रानीबारी, बाँसबारीमा पर्ने नलिङ अड्ग भद्रकाली र चपली भद्रकालीको स्थापना गरियो। 

दोस्रो किंवदन्तीलाई सत्य मान्ने आधारहरू छन्। किनभने भद्रकाली काठमाडौंको टुँडिखेलको पूर्वतिर बाटोको बीचमा छ। 

त्यसैगरी शिवपुरी डाँडाको फेदमा चपली नाम गरेको स्थानमा पनि भद्रकाली छ। 

चपली भद्रकाली तथा भद्रकाली उत्पन्न भएको स्थानलाई राजा महाराजाले दर्शन गर्न नहुने चलन छ। भद्रकाली उत्पन्न भएको ठाउँमा जान नपाइने भएकाले यिनै भद्रकालीलाई सिंहदरबारको पश्चिम दिशामा ल्याएर स्थापना गरिएको पनि हुनसक्ने विभिन्न पुस्तकहरूमा आँकलन गरिएको छ।

तान्त्रिक पद्धतिअनुसार नवरात्रमा विशेष पूजा गरिने भद्रकालीको मन्दिर सामान्य स्वरूपको छ। चामुण्डा देवीको रूपमा पुजिने भद्रकाली देवीको मूर्ति सामान्य शिलायुक्त रहेको छ।

दुर्गाकवचमा उल्लेख भएअनुसार भगवतीका अनेक रूपमध्ये भद्रकाली पनि एक हुन्। 

देवीमाहात्म्य र चण्डी दुर्गासप्तशतीमा दुर्गालाई ११ नामले बन्दना गर्ने गरिएको छ। साथै, आफ्नो भक्तको भक्तिमा सधैँ प्रसन्न रहने देवीका रूपमा भद्रकालीलाई पुज्ने गरिन्छ।

दशैंमा भद्रकालीमा गई पूजा तथा अराधना गर्नाले शक्ति तथा समृद्धि पाइने धार्मिक मान्यता छ। 

दशैंका अलावा भद्रकाली मन्दिरमा शनिबार र मंगलबार पनि भक्तजनको भिड लाग्छ।

२७ असोज, २०७८, ०८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।