दसैँमा दोहोरिइरहने नियति : खुसी छर्न फर्किएकाको घरमा शोक

दसैँमा दोहोरिइरहने नियति : खुसी छर्न फर्किएकाको घरमा शोक

काठमाडौँ :  फूलपातीको दिन मुलुकका विभिन्न स्थानमा एकपछि अर्को दुर्घटनाको खबर आयो। विभिन्न स्थानमा भएको दुर्घटनामा ३२ जनाको ज्यान गयो भने ८३ यात्रु घाइते भएका छन्।

मुगुको सात मोडमा भएको दुर्घटनामा मात्र ३२ जनाको ज्यान गयो। उकेराकर्मी जगतदल जनाला विकका अनुसार मुगुको छायानाथ रारा नगरपालिका –७ पिना गाउँ स्थित सात मोडमा  बस दुर्घटना भएको थियो।

नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको गरेको भे १ ख ३१३७ नम्बरको बस मङ्गलवार दिउँसो दुर्घटनामा परेको थियो। दसैँ मनाउन घर फर्किएका यात्रुले भरिएको बस सडकबाट तीन सय मिटर तल झरेको थियो।

दसैँमा घर हिँडेका यात्रु लिएर मुगु गएको यात्रुबाहक बस दुर्घटनामा परेपछि २४ जनाको घटनास्थलमा , ४ जनाको ताल्चा विमानस्थलमा र ४ जनाको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।

घाइतेहरूको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमा ३ जना र  समिट एअर लायन्सको जहाजमा १३ जनालाई नेपालगन्ज लिइएको थियो। जसमध्ये ४ जना नेपालगन्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए।

उनका अनुसार १३ जनाको उपचार मेडिकल कलेजमा भइरहेको छ।  गाडी दुर्घटनाको कारणबारे विस्तृत जानकारी नआए पनि प्रारम्भिक अनुसन्धानबाट गाडीको अगाडी पट्टीको चक्का पन्चर भएर दुर्घटना भएको बुझिएको उनको भनाई छ।


यता काठमाडौँबाट दोलखाको चरिकोटका लागि छुटेको बस सिन्धुपाल्चोकको लामो साँघु जिरी सडक खण्डको ७ किलोमा दुर्घटना हुँदा ३३ जना घाइते भए। घाइतेमध्ये गम्भीर रहेकालाई काठमाडौँ ल्याइएको छ।
            
मंगलबारनै गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा जिप दुर्घटना हुँदा १४ जना घाइते भए।। घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

वेनिघाटबाट माझीटार जाँदै गरेको बा २० च ४४०० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर भीरमा खसेको थियो।

७ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रेफर गरिएको छ।

धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ख १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राई बजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भए। घाइते हुनेमा ६ महिला, २ बालबालिका र ८ पुरुष छन्। कैलालीमा भएको हायस र मोटरसाइकल ठोक्किँदा १२ जना घाइते भएका थिए।

२६ असोज, २०७८, १९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।